काठमाडौ । सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय सकिए पछि आजबाट बहुमतीय सरकारका लागि पुनः आह्वान गरिएको छ । यस आह्वान सँगै आजबाट सरकार गठनका लागि मुख्य दलहरु आफ्नो पक्षमा कति मत पुग्ने हो भन्ने जोड घटाउमा लागिरहेका छन ।
राजधानीमा यस्तो जोड घटाउ चलिरहँदा नयाँ बन्ने सरकारमा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा नेपाली कांग्रेस प्रमुख सहयोगी दलको भुमिकामा सरकारमा जादै छ । कांग्रेस र एमाओवादी दुबै पाटीमा मन्त्रीका आंकाक्षीहरु पुराना अनुहार र नयाँ अनुहार यति धेरै देखिएका छन् कि दुबै पार्टीलाई मन्त्री छान्न सकस हुने देखिन्छ ।
तर कुन र कस्ता अनुहार सरकारमा जाने भन्ने नेपाली कांग्रेसले अझै टुङ्गो भने लगाइसकेको छैन । यस्तो अवस्थामा गएको कांग्रेसको महाँधिवेशनमा काठमाण्डौ आएर नेता छान्न भोट हाल्ने महाँधिवेशन प्रतिनिधिहरु मन्त्री छान्दा शीर्षस्थ नेताहरुले ध्यान पुर्याउनु पर्ने बताउँछन ।
गएको महाँधिवेशनमा रुकुमबाट नेता छान्न काठमाण्डौ आएका महाँधिवेशन प्रतिनिधि कृष्ण रोकायाले अब बन्ने नयाँ सरकारमा नयाँ अनुहारलाई प्राथमिकतामा राखिनु पर्ने बताए । समयको माग अनुसार नयाँ क्षमता,योग्यता र अनुभवलाई नेतृत्व तहले उजागर गर्न स्थान दिनै पर्छ यो महाधिवेशनकै म्यान्डेड पनि हो उनले भने ।
यस्तै इलामका प्रतिनिधि विष्णु कार्कीले सरकारमा मन्त्री छानेर पठाउदा भिजन सहितका कार्यक्रमलाई अगाडि बढाउन सक्ने व्यक्तिलाई अबको सरकारमा छानेर पठाउँदा जिल्लामा समेत काम गर्ने माहोल बनाउन सकिने बताए । सरकारमा को को जाने भन्दा पनि विपक्षमा रहने ठुला तथा साना दलहरुलाई संविधान कार्यान्वयन गर्न कांग्रसले हिजोका दिनमा जस्तै साथमा लिन तर्फ पनि सोच्न जरुरी छ,त्यस्ता मान्छे सरकारमा होस जसले सरकार भन्दा संविधानमा ख्याल राखोस उनले भने ।
यस्तै नयाँ बन्ने सरकारबारे चासो र चिन्ता बोक्ने अर्का महाधिवेशन प्रतिनिधि हुन बृहस्पति कृष्ण श्रेष्ठ । गएको महाधिवेशनमा पर्सा बाट प्रतिनिधि भएर आएका उनी सरकार बन्नु वा कुनै नेता मन्त्री बन्नुमा भन्दा सबैको भावनालाई संवोधन गर्न सक्ने व्यक्तिलाई पाटीले जिम्मेवारी दिनु पर्ने बताउछन । उनी भन्छन अब बन्ने सरकारमा स्वच्छ छवि भएका तथा जनता बाट प्रत्यक्ष निर्वाचित भएर आएका नेतालाई नै पाटीले जिम्मेवारी दिनु पर्छ ।
यस्तै नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाबाट आएका प्रतिनिधि नवराज शिवाकोटी पनि सबैको प्रतिनिधित्व हुने गरि मन्त्री छानिनु पर्ने बताउँछन । उनी भन्छन प्रादेशिक हिसाबबाट महिला,जनजाती,दलित सबैको प्रतिनिधित्व हुने गरि बनाउँदा सबैमा अपनत्व महसुस हुन्छ । हेटौडाका प्रतिनिधि रघुरमण न्यौपाने दलीय दृष्टि भन्दा पनि माथी उठेर काम गर्ने अनुहार आजको अवश्यकता रहेको बताउँछन ।
उनी भन्छन जनताले आशा बोकेका नयाँ अनुहारलाई छानेर नयाँ सरकारमा पठाइनु पर्छ । चितवनका गंगाहरी काफ्ले संवन्धित विषयमा दक्षता नभएकालाई भन्दा दक्षता भएकालाई मन्त्री बनाइनु पर्ने बताउछन । उनी भन्छन हाम्रो संस्कार नै चाकडीवादमा आधारित छ । यो संस्कारलाई परिवर्तन गर्दै जनताको नेता बन्न सक्ने मान्छेलाई मन्त्री बनाइनु पर्छ । यसले कुनै दाइलाई होइनकी दललाई फाइदा पुग्छ ।