- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेकपा एकीकृत समाजवादीकी नेतृ तथा माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्री प्रहरीबाट पिर्के सलामी खाएका कारण यतिबेला सामाजिक संजालमा भाइरल भएकी छिन् । यो भाइरल हुनुको कारण कुनै बेला उनी आफैंले यस्तो शैलीलाई सामन्ती शैलीको संज्ञा दिँदै प्रखर आलोचना र व्यङ्ग्य गरेकी थिइन् । आफूले नै त्यही कार्य गरिन् र आलोचना खाएर भाइरल बनिन् । जिम्मेवार नेताले विगतमा अरुलाई आलोचना गर्दा होश नपुर्याउनुको कारण यति धेरै आलोचना खेप्नु परेको हो।
यस्तै केही दिन पहिले इन्जिनियरबाट आलोचना खाएकी मन्त्री झाँक्रीले आफूले आफैंलाई खै के कालगतिले मन्त्री भइयो भन्ने आफैंलाई प्रश्न गर्दै नेपालका इन्जिनियरहरूको क्षमता र दक्षताप्रति प्रश्न उठाई आफ्नो गाउँको सुब्बा दाइको इन्जिनियरिङ नै तुलनात्मक रुपमा कतै राम्रो त होइन ? भन्दै उनीहरूको पेशाप्रति थुप्रै शंका गर्दै उनीहरूलाई हाँसीहाँसी चुनौती नै दिएकी थिइन् । ढलको बिर्को मिलाउन नजान्ने इन्जिनियर, सिँचाइको प्रबन्ध मिलाउन नसक्ने इन्जिनियर र विद्युतको तार, लाइन मिलाउन नसक्ने इन्जिनियरहरूलाई आफ्नो पेशाप्रति जिम्मेवार र कुशलता प्रकट गर्नुपर्ने आशय उनको सम्बोधनमा थियो । तापनि शैलीमा अत्यन्तै क्षुद्रताका कारण आलोचित हुनुपरेको थियो ।
सस्तो लोकप्रियताका लागि राजनीतिक संस्कार नै बिर्सेर तल्लो स्तरमा पुगी अर्कोलाई तथानाम गाली गरेर आफ्नो अस्तित्व उच्च बनाउनको लागि भ्रमको खेती गरिनु राजनीतिक भ्रष्टीकरणको बाटो अवलम्बन गरिनु हो । सरकारमा रहेको एउटा जिम्मेवार मन्त्रीले जिम्मेवारीपूर्वक र स्तरीय भाषाको प्रयोग गरिनुपर्छ । गठबन्धन कुनै हालतमा नटुट्ने भजन गाउँदै हिँड्ने मन्त्री झाँक्रीलाई पनि कतिबेला मन्त्री पद फुत्त फुस्किहाल्ने हो कि भन्ने चिन्ता हुनाले पनि उनमा सलामीको आसक्ति हुन सक्छ ।
एउटा असल, जिम्मेवार, विचार र निष्ठाको राजनीति गरी देश, विकास र जनताको माया पाएको नेपाल सरकारको विभागीय मन्त्रीलाई आफ्ना जनताले वा कार्यकर्ताले घर आँगनमा आउँदा फूलमाला र खादा लगाइदिनु, अभिनन्दित गर्नु, सलामी दिनु जयजयकार गरिनु आदि उसको कार्यप्रतिको सम्मान गर्नु स्वाभाविक हुनसक्छ । तर सम्मानका नाममा अस्वाभाविक तरिकाले स्तुति नै गरिनु, कुनै बेला राजा र पञ्चहरूलाई गरिएको जस्तो अभिनन्दन गरिनुको लोकतान्त्रिक व्यवस्थामा कुनै अर्थ र औचित्य छैन । राजनीतिमा देखिएको विकृति र विसङ्तिलाई आफूले नै चिर्नु पर्ने ठाउँमा झाँक्री स्वयं चलन र परम्पराको साक्षी बस्नु पक्कै पनि गलत हो । खासगरी शहरी विकास मन्त्री झाँक्रीले आफ्नै गाउँपालिकामा उनले पिर्के सलामी खाएकोप्रति यति धेरै आलोचना हुनुको मुख्य कारण यस्ता प्रवृत्तिप्रति उनी क्रान्तिकारी देखिएर बारम्बार आफैंले गाली र आलोचना गरेको कारण उनको यो कार्यको आलोचना स्वाभाविकै हो ।
वर्तमान गठबन्धनको देउवा मन्त्रीमण्डलमा नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री शहरी विकास मन्त्री हुँदा उनीबाट धेरै आशा नगरिए पनि उनमा नयाँ चिन्तन छ कि भन्ने झिनो आशा थियो । यो गल्तीले मात्र जोशकी धनी झाँक्रीको बारेमा जनमानसले लिएको आशामा तुशारापात नहोस् भन्ने हो । किनभने नेपाल र नेपाली जनताको आमूल परिवर्तनका लागि भनेर गरिएका सङ्घर्षमा झाँक्रीको योगदान प्रशंसायोग्य छ । नेपालमा संघीय गणतन्त्र प्राप्तिको आन्दोलनमा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालासित टाउको फुटाएर रगतको खोलो बगाएको इतिहास छ । पछिल्लो पटक राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका अध्यक्ष खड्कप्रसाद ओलीको प्रवृत्तिप्रति कटु आलोचक मन्त्री झाँक्रीले सस्तो लोकप्रियताका लागि साना मसिना कुरातिर नलागी परिवर्तनको लागि नयाँ नयाँ काम गर्नुपर्नेमा उनको प्रवृत्ति ‘जो आए पनि उस्तै’ मानसिकताको बन्न खोज्दै त छैन ?
लामो राजनीतिक इतिहास बोकेकी झाँक्री १० जेठ २०३५ मा गुल्मीको साविक म्यालपोखरी र हालको मदाने गाउँपालिकामा भएको हो । गाउँले परिवेशमा जन्मेकी झाँक्रीको राजनैतिक इतिहास स्कुले शिक्षासँगै भएको देखिन्छ । गुल्मीको पुर्कोट दहमा रहेको पृथ्वी माविमा कक्षा सातमा पढ्दै गर्दा उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीमा सहसचिव भएर राजनैतिक यात्रा शुरु गरेकी थिइन् । २०५० मा त्यसै विद्यालयबाट एसएलसी गरेकी झाँक्रीले नेपाली राजनैतिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएकी छिन् ।
मन्त्री बन्ने आंकाक्षाले पार्टी विभाजन गरिएको, अलि बढी महत्त्वाकांक्षी , दम्भी, बोल्ने शैली नभएकी, स्वार्थी भनेर उनीमाथि थुप्रै आरोप लागिसकेको अवस्थामा पुनः सामन्ती र शासक बन्न खोजेको देखिन्छ । हाल मन्त्रीको पगरी गुथेर जिल्ला भ्रमणमा निस्किएकी मन्त्रीको शैली पनि पुरानै पञ्चायती अवस्थाको जस्तो देखिँदा उनीबाट नेपाली जनताले के पाउलान् ? नेपालीमा रहेको उनीप्रतिको आशाको त्यान्द्रो टुट्न खोज्दै छ।
नेकपाको आफ्नै करिब दुईतिहाइको सरकार ढालेर अहिले कांग्रेस नेतृत्वको वर्तमान सरकारमा सहभागीता जनाउँदा कताकता उनको राजनैतिक यात्रा धुमिल हुने त होइन ? भन्ने जस्तो देखिन्छ । आफ्नै गृह जिल्ला गुल्मीमा उनलाई चुनाव लड्नका लागि प्रतिस्पर्धामा उत्रिन नै सकस छ । गुल्मीको उक्त क्षेत्रमा एमाले सचिव गोकर्ण विष्टको पकड र सुरक्षित मानिन्छ । त्यसकारण पनि केही अस्तित्व जोगाउन पनि कांग्रेस, माओवादी केन्द्र र समाजवादी लगायतले गठबन्धनको रटान गरिरहेका छन् । आफूलाई जतिसुकै लोकप्रिय भने तापनि रामकुमारीलाई गठबन्धन बिना निर्वाचनमा जान सक्ने आँट छैन । गुल्मीको क्षेत्र नं २ मा एमाले एकातिर र गठबन्धन अर्कोतिर हुँदा बल्ल झाँक्रीले जित्ने सम्भावना देखिन्छ । तर समाजवादीको तुलनामा कांग्रेस र माओवादीको राम्रो संगठन भएको हुँदा झाँक्रीलाई सजिलै भोट हाल्ने सम्भावना पनि छैन ।
एमाले पार्टीमा ओलीको एकाधिकार र स्वेच्छाचारीविरुद्ध पार्टीमा विद्रोह गरी माधव नेपालको हात समात्दै हिँड्ने झाँक्रीको शैलीमा परिपक्वता र जवाफदेहीताजस्ता परिवर्तन देखिनु पर्ने हो तर त्यस्तो संकेत पाइएको छैन । ओलीको स्वेच्छाचारीता र अहंकारको विरोध गरेर नयाँ पार्टी नै बनाएपछि उस्तै प्रवृत्ति देखाउँदा उनको कार्यशैलीप्रति शंका गर्नु अन्यथा होइन । नेपाली समाजको आमूल रुपान्तरणका लागि आजीवन लडेको व्यक्ति नै मन्त्रीजस्तो जिम्मेवार पदमा रहँदा उही पुरानै पञ्चायती कार्यशैली अपनाएर कसरी समाजवादमा पुग्न सकिन्छ ? जनताको गाँस, बास कपास, शान्ति, सुरक्षाको कुरा गर्नेले जनताजस्तै बनी आफूमा रहेको सामन्ती, शासकीय र शोषकीय प्रवृत्तिलाई त्याग्नुपर्छ ।
मन्त्री हुँदा पनि जनता बन्न सक्नुपर्छ । रामकुमारीको राजनैतिक भविष्यको बाटो दीगो बनाउन बोक्रे गफ गर्न र अरुलाई बडामहारानी र बादशाह हुन् भन्ने भाषाशैली त्याग्नुपर्छ । आफू छोटी बडामहारानी बन्नु पनि हुँदैन । राजनीतिक संस्कार नीति र विचार बिनाका सरकार, दल र मन्त्रीको पसल थापेर कुनै एक व्यक्ति वा विपक्षलाई सत्तोसराप गाली गरेर पार्टी र आफ्नो पनि अस्तित्व रहन सक्दैन । उनको आजकलको क्रियाकलाप हेर्दा उनमा अझै ओलीको स्वेच्छाचारीप्रतिको आक्रोशको ज्वाला निभेको छैन । यसले गर्दा मन्त्री बनेर सलामी खानका लागि नै पार्टी फुटालेको हो कि जस्तो देखिँदैछ ।
यस्तै क्रियाकलापले रामकुमारीको अहिलेसम्मको योगदान कतै यही मन्त्रीसँगै सकिने त होइन भन्ने शंका पैदा भएको छ । यो आशंका मेटाउन उनी पिर्के सलामीको मोहजस्ता विकृत सोच त्यागेर जनतालाई सरकारका आगामी विकासका योजनाहरू सुनाउँदै हिँड्ने र चामत्कारिक जनचासोका विकासका काम गर्नुपर्छ । तर जे हुँदा कटाक्ष गरेकी थिइन् त्यही उनीबाट दोहोरिएको छ । रामकुमारी शहरी विकास मन्त्रीमा मात्र सीमित नभएर देशको राजनैतिक इतिहास रच्ने सम्भावना बोकेकी नेतृ हुनाले यस्तो मौका आउँदा कुशलतापूर्वक काम गर्नुपर्छ । उनको अबको राजनैतिक उचाइ हासिल गर्न उनले धेरै मिहिनेत गर्नुपर्छ । निरन्तरताका लागि मात्र निरन्तरता नहोस् । जनताका सपनाहरु पूरा गरी मन जित्नुपर्छ । नेपाल देशको इतिहास रच्न सक्ने क्षमता भएकी एउटा सम्भावित नेतृ मरिच सरी खुम्चिएर यत्ति मन्त्रीमा सीमित भएर राजनैतिक यात्रा नटुङ्गियोस् भन्ने जनचाहना हो ।
वर्तमान सरकारको मन्त्रीमण्डलको विस्तार गर्दा आशालाग्दो अनुहारमध्ये रामकुमारी अग्रपङ्तिमा देखिएकी हुन् । तर उनको राम्रो कामको सुरुवातको औंला भाँच्ने अवसर अझैसम्म पाइएको छैन । यस्तो सरकारबाट अब चामत्कारिक काम गर्लिन् भन्ने खासै आशावादी हुने ठाउँ देखिएको भने छैन । बहुदलीय प्रजातन्त्रको स्थापनादेखि गणतन्त्रको आन्दोलनसम्म रामकुमारीको योगदान प्रशंसायोग्य भने छ ।
गुल्मीको दुर्गम गाउँ म्यालपोखरीमा जन्मेकी एउटी महिला विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अनेरास्ववियुको अध्यक्ष भएर गणतान्त्रिक आन्दोलनमा टाउको फुटाएर रगतको खोलो बगाएको इतिहास लेखिएको कसैले मेट्न सक्दैन । यति लामो सङ्घर्ष गरेर आएकी रामकुमारी झाँक्री मन्त्री हुँदा कुनै प्रश्न उठाउने ठाउँ चाहीँ थिएन । तर पदमा बहाली भएको केही महिना नहुँदै धेरै प्रश्न उठ्नु स्वाभाविक होइन । उनको अग्निपरीक्षा भनेको कार्यकाल हेर्ने नै हो । तर कमीकमजोरीलाई उनले स्वीकार्दै हटाउनै पर्छ ।
रामकुमारी नेपाली कम्युनिष्ट आन्दोलनको बारम्बार दोहोरिने नाम हो । उनले मौकामा चौका हानी युवा पुस्ताको प्रतिनिधित्व गर्ने सशक्त र प्रष्ट वक्ता रुपमा आफ्नो अस्तित्व जोगाउनु पर्छ । उनी आन्दोलन र विचारमा प्रष्ट हुँदाहुँदै पनि एमालेको गुट र उपगुटको राजनीतिबाट अलग रहन नसकेकी पात्र हुन् । राजनीतिको उचाइको यात्रामा २०५४ सालमा एक ठक्कर खाएकी झाँक्री फेरि अर्को राम्रो ठक्कर खाएर नयाँ घर निर्माणमा लागेकी छिन् । अबको राजनीतिक यात्राको लागि विपक्षीलाई तथानाम गाली गरेर होइन विचार र व्यवहारमा कटिबद्धता, प्रतिबद्धता र परिवर्तन हुनुपर्छ । लामो सङ्घर्ष गरेर निर्माण र बलियो बनाएको पार्टी फुटालेर पुनः अर्को पार्टी निर्माणमा लाग्न पर्नु एउटा इतिहास नै बनाएकी राजनीतिकर्मीको लागि पार्टी विद्रोह गर्दै हिँड्नु राम्रो होइन । तापनि रामकुमारीले आफू एमालेबाट विद्रोह गर्नु भनेको पार्टीमा देखिएको बडामहारानी र महाराजा प्रवृत्तिको विरोध भएकोले मन्त्री हुँदैहुँदा कतै फेरि उनलाई पनि पिर्के सलामीले राजकुमारी त बनाउने होइन भन्ने ठूलो शंका देखिएको छ ।
जब सिद्धान्त र नीति बिना नै एमाले र माओवादीबीच एकता भयो त्यतिबेला देखिनै झाँक्रीलाई पार्टीमा काम गर्न नदिएको भन्ने उनका थुप्रै आक्रोश सुनिएका थिए । राजनीति गर्ने मान्छेलाई निष्क्रिय बनाइएकोमा पार्टीभित्र विद्रोह गर्दागर्दै यतिसम्म पुग्यो कि एक अर्कालाई निषेध गर्ने अवस्थामा पुग्यो । अन्ततः पार्टी फुटेको थियो । हिजोकी रामकुमारीको राजनैतिक आन्दोलनप्रति प्रश्न उठाउने ठाउँ छैन । तर आजकी रामकुमारी सरकारको एउटा जिम्मेवार मन्त्री भएकी हुँदा कतै बाटो त बिराउने होइनन् ? भन्ने आशंका भने उठेको देखिन्छ ।
अहिलेको उनको कार्यशैली देख्दा उनले बोलेको र गरेको कार्यप्रति तादात्म्यता कत्ति पनि देखिएन । पार्टीको किचलोप्रति उनको विद्रोहको स्वरको शैलीमा कत्ति पनि राजनैतिक चेत र संस्कार पाइएन । आजीवन राजनीति गर्ने भनेर होमिएको नेतामा राजनैतिक चेत र संस्कार पनि अनिवार्य चाहिन्छ । देशको एउटा जिम्मेवार मन्त्रीले केही टेलिभिजन कार्यक्रम र जनसभामा बोलिएका भाषणमा अति नै तुच्छता प्रकट गरिनु उपयुक्त पनि होइन । नेपाली राजनीतिमा तालीका लागि विपक्षीलाई जतिसक्दो गाली गर्नै पर्ने नेतामा उनले पनि नाम लेखाएकी छिन् । मूलतः झाँक्रीबाट एमाले अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई सत्तोसराप हुने गरी गरिएका गालीको शब्दकोश नै निर्माण नभएको होइन ।
युवा शक्तिको ढुकढुकी मानिएकी, अनेरास्ववियुकी पूर्व अध्यक्ष, पार्टीको जिम्मेवार तहमा बसेकी र मन्त्री भएकी व्यक्तिले बोल्ने भाषा, शैली र गर्ने कार्य कस्तो हुनुपर्छ भन्ने कुराले धेरै महत्त्वपूर्ण प्रभाव पार्छ । मन्त्री भनेको सार्वजनिक पद हो । कुनै पार्टी विशेषको मात्र होइन । उसका धेरै कुराहरूले समाजलाई प्रभाव पारेको हुन्छ । सामाजिक भएको हुनाले समाजको चासो हुन्छ । मन्त्री सार्वजनिक पद हो । मन्त्रीले पनि सामाजिक मर्यादा कायम गर्नुपर्छ । आशय यो हो कि झाँक्रीका धेरै कुराहरू अनुकरणीय हुनुपर्छ । उनी मन्त्री बन्नका लागि पार्टी फुटाएकी होइनन् भन्ने विश्वास नेपाली जनतालाई चाहिएको छ ।
नेपाली जनताले रामकुमारीबाट ठूलो आशा गरेका छन् । यस्तै झिनामसिना क्रियाकलाप र उही पुरानो रोगले समातेर यही मन्त्रीबाट नै राजनीति खुम्चने अवस्थामा रामकुमारी पुग्नु हुँदैन । रामकुमारीले नेपालको शासन पद्धतिमा रहेका कतिपय प्रचलन र प्रथालाई त्याग्नु पर्छ । नेताले पिर्के सलामी खाने लालसा त्यागी जनताको मनमुटुमा बसी माया र खुशीको सलामी खाने अभियानमा लाग्नुपर्छ तबमात्र नेपाली जनताको समाजवादमा पुग्ने सपना पूरा हुनसक्छ । (गुल्मीको मदाने गाउँपालिकाका पन्थी हाल अमेरिकाको भर्जिनियामा बस्छन्)