arrow

एसको कसैसँग एकता नहुने, प्रचण्डको आश्वासनले गरेन काम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
prachanda-madhav-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । तीन वर्षअघि एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी (एस) तत्कालै कुनै दलसँग एकता नगर्ने अवस्थामा पुगेको छ । हालै सम्पन्न महाधिवेशनपछि बनेको पदाधिकारी टिम नै एकता विरोधी बनेपछि एमाले र माओवादी केन्द्र दुवैतिर एकता नगर्ने अवस्थामा पुगेको हो । ‘एमालेसँग आफ्नो अनुकुलतामा एकता गर्ने गरी तयार भएको भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता भन्दा पनि व्यक्तिलाई पार्टीमा लैजाने प्रवृत्ति शुरु गर्दा एमालेसँगको एकता नहुने र माओवादीमा पनि तत्कालै एकता नहुने भएको छ’, एक पदाधिकारीले भने ।
 
एस पार्टीमा आएको पछिल्लो पदाधिकारी फेरबदलले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग एकता गरेर बलियो बन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सपना भने तत्कालका लागि तुहिएको छ । 

प्रचण्डसँग पार्टी एकता नगर्न अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाललाई अन्य पदाधिकारीहरुले चर्को दबाब दिएका थिए । ‘अहिले पार्टी एकताको कुरा छैन बलियो पार्टी निर्माण गर्ने अभियानमा छौँ’, पार्टीका उपाध्यक्ष एवं पूर्वप्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने ।

प्रचण्डले पटक पटक नेकपा एससँग पार्टी एकताको कुरा धेरै अगाडि बढिसकेको बताउँदै आएका थिए । पार्टीका विभिन्न बैठकमा उनले यस्तो धारणा राखेको भए पनि एसका नेताहरुले कुराकानी चल्नु राम्रो भएको तर पार्टी एकता गर्नेभन्दा पनि सहकार्य गर्ने विषयमा मात्रै कुराकानी भएको बताउँदै आएका छन् ।

‘माओवादी अध्यक्षबाट आएको प्रस्तावमा हाम्रो छलफल भएको छैन हामी आफ्नै पार्टी बनाएर जानुपर्छ’, पार्टीको बैठकमा माधवकुमार नेपालले नेताहरुलाई भनेका थिए । 

पदाधिकारीहरुको अनौपचारिक बैठकमा नेपालले यसो भनेपछि अन्य नेताहरुले पनि यसलाई बढी उचाल्नु जरुरी नभएको बताउँदै आएका छन् । गत असारमा सम्पन्न महाधिवेशनमा कार्यकर्ताले दिएको सुझावका आधारमा अन्य दलसँग एकता नगर्ने तर सहकार्य गरेर जान सकिने निर्णय गरेको थियो ।
 
प्रचण्डले एस पार्टी नेकपा माओवादी केन्द्रसँग एकता हुने हल्ला चलाएको र त्यसले पार्टीका कार्यकर्ताहरुलाई अलमलमा पारेका पनि नेताहरुको गुनासो रहेको छ ।

‘नेकपा एस अब बलियो शक्तिको रुपमा अघि बढ्नेछ, कुनै दलसँग एजेण्डाका आधारमा सहकार्य हुन सक्छ तर एकता तत्कालै सम्भव छैन’, उपाध्यक्ष खतिवडाले भने । 

पार्टी पदाधिकारीहरुसँगको बैठकमा अध्यक्ष नेपालले एकीकृत समाजवादी आफैँमा बलियो पार्टी भएर जाने, देशभर संगठन विस्तार गरेर अगाडि बढ्ने बताउँदै आएका छन् । चुनावको बेला एस पार्टी आफैँले पार्टी एकताको प्रस्ताव गरेको तर माओवादीले त्यतिबेला ध्यान नदिएकाले अहिले एसका अधिकांश नेता कार्यकर्ताहरुले पार्टी बनाउन दबाब दिइरहेको पनि खतिवडाको भनाइ रहेको छ ।

नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रबीच एकता हुँदा प्रतिनिधि सभामा ४२ सिट हुन जान्छ । यसैकारण पनि प्रचण्डले आफू बलियो हुनका लागि एकीकृत समाजवादीसँग एकता गर्न चाहेको नेताहरूको तर्क छ । 

यति मात्र होइन ०८४ को निर्वाचनमा एउटै चुनाव चिन्ह बनाएर अगाडि बढ्नका लागि प्रचण्डले एसका नेताहरुलाई प्रस्ताव गरेका छन् । साथै पार्टी बलियो भएमा माधव नेपाललाई प्रधानमन्त्री बनाइदिने पनि प्रचण्डको आश्वासन रहेको छ । 

तर त्यही आश्वासनमा पर्दा कांग्रेससँग मिलेर सरकार बनाएसँगै आगामी पुसमा प्रधानमन्त्री हुने माधवको साइत थियो । तर प्रचण्डले कांग्रेस र एमालेसँग चटक देखाउन थालेपछि उनी स्वयं नै सरकारबाट गलहत्याइएका थिए । त्योसँगै माधवको दोस्रो पटक प्रधानमन्त्री हुने सपना तुहिएको थियो ।

प्रचण्डसँग पार्टी एकता हुँदा माओवादीलाई नरुचाउने नेताहरू फटाफट एमालेतिर फर्कने डरका कारणले पनि तत्काल पार्टी एकता गर्न माधव र झलनाथ तयार नदेखिएको स्रोतको दाबी छ ।

महाधिवेशनपछि माधव नेपाल र झलनाथ खनाल लगायतका शीर्ष नेताहरुले पार्टी बलियो बनाइने दाबी गरिरहँदा केही नेताहरु पदाधिकारी र जिम्मेवारीविहीन रहेका छन् । 

तत्काल उनीहरुको व्यवस्थापन गर्नुपर्ने भएकाले पनि अहिले नेताहरुको ध्यान पार्टी एकता भन्दा  नेताहरुको व्यवस्थापनतिर रहेको पनि एस पार्टीका एक पदाधिकारीले भने । 

उपाध्यक्षमा विरोध खतिवडा र रामकुमारी झाँक्री जस्ता चर्चित नेता हारेपछि उनीहरुको व्यवस्थापनमा पार्टी लाग्नुपर्ने दबाब रहेको छ ।  

पार्टीका निवर्तमान उपाध्यक्ष प्रमेश हमाल, डा बेदुराम भुसालले पनि जिम्मेवारी पाएका छैनन  । सांसदद्वय प्रेम आले र कृष्णकुमार श्रेष्ठ पार्टीको जिम्मेवारीमा छैनन् । 

उनीहरू सांसद पद जोगाउन मात्रै चुप लागेको एमाले नेताहरूको दाबी छ । उनीहरु ढिलो चाँडो एमालेमा फर्किने एमालेका नेताहरुले बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ