काठमाडौं । राष्ट्रपतिको आह्वानमा व्यवस्थापिका संसदले बहुमतीय प्रक्रियामा प्रधानमन्त्री चयन अघि बढाएपछि सरकार बनाउने पक्षको उम्मेद्वारी प्रस्ट भइसकेको छ । प्रधानमन्त्रीका उम्मेद्वार पुष्पकमल दाहाल ।
यद्यपि, विपक्षमा बस्ने अर्थात् वर्तमान सरकारको नेतृत्वकर्ता दोस्रो ठूलो दल एमालेले पार्टी भित्रैबाट उम्मेद्वारी दिने तयारी गरेपनि उम्मेद्वारको विषयमा औपचारिक निर्णय गरेको छैन ।
संसदले जारी गरेको निर्वाचन कार्यक्रम अनुसार मंगलबार बिहान ११ बजेबाट उम्मेद्वारी दर्ताको समिति तोकिएको छ । एमालेले त्यो भन्दा अघि उम्मेद्वारको नाम सार्वजनिक गर्ने र पार्टी भित्रैबाट उम्मेद्वारी दर्ता गराउने तयारी गरेरको छ ।
को होला एमाले बाट माओवादी अध्यक्ष दाहालको प्रतिस्पर्धी ? एमाले प्रमुख सचेतक भानु भक्त ढकालले हाम्राकुरासंग भने, ‘मंगलबार विहान ९ बजे पार्टीको स्थायी कमिटी बैठक बस्दै छ । बैठकले व्यक्ति तय गर्ने छ । अहिले केही टुंगो लागेको छैन ।’ अनि संसदीय दलका उपनेता सुवास नेम्वाङको चर्चा चाँही ? जवाफमा उनले भने, ‘हाम्रो त हेर्नुस् योग्य–योग्य मान्छेहरुको पार्टी । उम्मेद्वार पनि योग्य नै हुन्छ । कस्लाई पालो दिने भन्ने कुरा स्थायी कमिटीले निर्णय गर्छ । हामी बाहिर आएको चर्चा भन्दा पनि संस्थागत निर्णय गर्छौं ।’ यद्यपि, सोमबार मात्रै एमालेका एक नेताले संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङ प्रधानमन्त्रीको उम्मेद्वार हुने बताएका थिए ।
एमाले स्थायी समितिको बैठक बालुवाटारमा बस्नेछ, एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘उम्मेद्वारी पार्टी भित्रबाट दिने भन्ने कुरा छ । व्यक्ति तय भएको छैन ।’ अनि पार्टीबाहिरको चर्चा पनि छ नी ? जवाफमा उनले भने, ‘पार्टी बाहिरको सम्भावना न्यून छ । किन भने हामी ठूलो दल प्रमुख प्रतिपक्षि बन्ने भएकैले सबैलाई स्पष्ट होस् भन्नका लागि पनि पार्टी भित्रैबाट उम्मेद्वारी दिने भन्ने हाम्रो सुझबुझको निर्णय हो ।’
राष्ट्रवादी पोजिसनको कुरा गरिरहनु भएको छ, उम्मेद्वारी दिनै पर्ने कारण ? ज्ञवालीले भने, ‘पोजिसनमा हामी एक दमै संवेदनशील छौं । हुन त हामीले उम्मेद्वार नउठाए विपक्षमा मात्रै भोट हालेर प्रतिपक्षमा बस्न सक्थ्यौं । तर, यहाँ सवाल रहयो सरकार बहिर्गमनको । सरकार स्वभाविक ढंगबाट नभई अस्वभाविक ढंगले ढालियो । त्यसै कारण पनि हाम्रो पार्टी उम्मेद्वारी दिने निर्णयमा पुगेको हो ।’ ज्ञवालीले आफुहरुले उम्मेद्वारी दिँदा अन्य दलहरुलाई पनि प्रतिपक्षि स्पष्ट हुन्छ र झुक्किने अवस्था रहँदैन–भने । काम गर्न पनि सहज हुन्छ ।
यद्यपि, आफुहरुले उम्मेद्वारी दिएको भन्दैमा असहयोग गर्ने र कामै गर्न नदिने भन्ने बुझ्न नहुने ज्ञवालीको भनाई छ । उनले भने, ‘हामी संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणमा रचनात्मक र सिर्जनात्मक भूमिका निर्वाह गर्ने छौं ।’ सरकार चलाउनेलाई अफ्ठेरो पर्ने छैन ।