arrow

नवलपुरमा बाघ आतंक : के गर्दैछ स्थानीय प्रशासन ?

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष २६ सोमबार
tiger2019-05-29.jpeg
फाईल तस्बिर

नवलपुर  घटना १ – २०७८ मंसिर १२ गते विनयी त्रिवेणी गाउँपालिका वडा नं १ का ६२ वर्षीय वन हेरालु जितबहादुर विकको बिहान ८ बजे बाघले आक्रमण गर्दा मृत्यु । घटना २ – २०७८ पुस १६ गते सालको पात टिप्न गएकी मध्यविन्दु १२ की बारिसा सारुको  बाघले आक्रमण गर्दा मृत्यु । घटना ३ – २०७८ पुस २४ गते गाईबस्तु चराउन गएका ६० वर्षीय टेकबहादुर कुमाल बाघको आक्रमणमा परेर गम्भीर घाइते ।  

गत मंसिर १२ गते यता नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका आसपास बाघको आक्रमणमा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सामुदायिक वनका हेरालु, सालको पात टिप्न जाने महिला, गाईबस्तु चराउन गएका वृद्ध बाघको आक्रमणमा परेका समाचार आइरहँदा स्थानीय प्रशासनले चासो दिएको भने खासै देखिएको छैन र 

नरभक्षी बाघ नियन्त्रण गर्न जनप्रतिनिधिहरु प्रशासनको मुख ताकेर बसेको अवस्थामा पूर्व पश्चिम राजमार्ग भएर दुई पांग्रे साधनमा यात्रा गर्ने यात्रु, सामुदायिक वनका वन हेरालु, सालको पात टिपेर गुजारा गर्ने तथा नजिकैको वनमा गाईबस्तु चराउन जाने आमसर्वसाधारणमा भने त्रासको अवस्था सृजना भएको छ ।

लगातार रुपमा बाघको आक्रमण बढिरहँदा तीन पटक नै आक्रमण गर्ने बाघ एउटै हो या फरक फरक हो भन्ने निष्कर्षमा पुग्न नसकिएको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख  मोहनराज काफ्लेले बताए । 

पहिलो पटक मंसिर १२ गते आक्रमण स्थानमा राखिएको क्यामेरामा बाघको गतिविधि नदेखिएको र दोस्रो पटक पुस १६ गते आक्रमण गरेको स्थानमा राखिएको क्यामेरामा एउटा बाघ रेकर्ड भएको  काफ्लेले बताए ।  

चितवन राष्ट्रिय निकुन्जको प्राविधिक टोलीको सहयोगमा आक्रमण गर्ने बाघको बारेमा अध्ययन शुरु गरिएको भए पनि बाघ एउटै हो या फरक फरक हो भन्ने निष्कर्षमा भने पुग्न बाँकी रहेको काफ्लेको भनाइ छ । 

आइतबार डिभिजन वन कार्यालयमा बसेको जिल्ला वन्यजन्तु अपराध नियन्त्रण ईकाईको बैठक बसेर बाघ एउटै हो या फरक फरक हो निर्क्योल नभएकाले तत्काल बाघ एउटै हो या फरक फरक हो पत्ता लगाएर नियन्त्रणका लागि आवश्यक कदम चाल्ने निर्णय गरिएको नवलपुरका सहायक जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए । 

बाघको विषयमा तत्काल अध्ययन गरेर जनताको जीउधन सुरक्षा गर्न आवश्यक कदम चाल्ने विषयमा जिल्ला प्रशासनको तर्फबाट निर्देशन गरिएको थापा बताउँछन् । बाघ नरभक्षी हो या होइन त्यसको अध्ययन भइरहेको र नरभक्षी साबित भए त्यो अझै खतरा हुने चितवन राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले बताए । 

घिमिरेका अनुसार यतिबेला बाघ गणनाको काम चलेकाले पनि आवश्यक संख्यामा प्राविधिक र स्रोत साधनको बाघ गणनामा प्रयोग उतै भएकाले बाघको अवस्था पत्ता लगाउन र नियन्त्रणको काममा ढिलाई भएको हो । ‘बाँके राष्ट्रिय निकुन्जमा पनि बाघले मान्छे मारेको छ, बाघ नियन्त्रण गर्ने टोली राष्ट्रिय प्रकृति संरक्षण कोषसँग एउटा मात्रै छ, टोली कता पठाउने यकिन भएको छैन’, घिमिरेले भने ।

बाघको आतंक बढेपछि पटक पटक आफूहरुले जिल्ला वन र निकुञ्जको ध्यानाकर्षण गराएको भए पनि वास्ता नगरेको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले बताए । 

‘हामीले पटक पटक ताकेता गरेका छौं, हाम्रो कुरा जिल्ला वन र निकुञ्जले सुन्दैन’, रानाले भने । बाघ नियन्त्रण गर्ने टोली तत्काल ल्याउन आफूले वन विभाग र निकुञ्जसँग समन्वय गरिरहेको रानाले बताए ।

बाघले निकुञ्जभन्दा बाहिरको मध्यवर्ती क्षेत्रको जंगलमा आक्रमण गरेको हो । बाघको आक्रमणबाट दुई जनाको ज्यान गइसकेको र अर्का एक जना गम्भीर घाइते भएपछि स्थानीय बासिन्दा जंगल जान छोडेका छन् । 

चौपाया चराउन जंगल जानेहरूले ठाउँठाउँमा बाघ देखेको खबर गरेपछि स्थानीय त्रसित छन् । विनयी त्रिवेणी गाउँपालिकाले पनि चितवन राष्ट्रिय निकुञ्ज र जिल्ला वन कार्यालयलाई पत्र पठाएर बाघ नियन्त्रणमा लिन आग्रह गरेको तीन साता बितिसक्दा पनि निकुञ्जले बाघ नियन्त्रणमा लिने प्राविधिक टोली पठाउन सकेको छैन । 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ