काठमाडौं । गत शनिबारदेखि नेविसंघको विधिवत महाधिवेशनको माग गर्दै आमरण अनुसनमा बसेका दुई विद्यार्थी नेताहरुको स्वास्थ्य गम्भीर भएसंगै उनीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ ।
आन्दोलनको नेतृत्व गर्दै आएका पूर्व कोषाध्यक्ष कुन्दन काफ्लेले मंगलबार दिउँसो चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि भेन्टिलेटरमा राखेर उपचार हुन सक्ने बताएका छन् । गणेश सापकोटा सोमबार नै बेहोस भएर ढलेका छन् ।
त्यस्तै रामेछापमा रत्न ढुङ्गेलको अवस्था पनि गम्भीर बन्दै गएको छ । दुवैमा सुगर र रक्तचापमा समस्या देखिएको छ ।
उनीहरुलाई उपचार गर्नुपर्ने भएपछि काफ्लेले आफै आमरण अनसन बस्ने जनाएका छन् । उनले हाम्राकुरासंग भने –‘आन्दोलन कुनै हालतमा रोकिदैन, अब साथीहरु ढले भने म नै आमरण अनसन बस्छु ।’
त्यस्तै अर्का नेता दिल्लीराम सुवेदीले बुधबार झण्डै छ सय जति कार्यकर्ता लगेर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको घर घेराउ गर्न जाने बताएका छन् ।
उनले भने ‘हामी जसरी पनि विधिवत् निर्वाचन होस् भन्ने पक्षमा छौं, त्यसका लागि जे पनि गर्न तयार छौं ।’
‘११ जिल्लामा अधिवेशन नै हुन नसकेको र अहिलेसम्म भएका अधिवेशनमा ७ सय बढी फर्जी प्रतिनिधि आएकाले यसलाई खारेज गर्नुपर्छ, हामी टिकेप्रथाको विरोधमा छौं’ सुवेदीले भने ।
अनसनको तेस्रो दिन अनसनकारीलाई भेट्न काँग्रेस केन्द्रीय सदस्य एवं नेविसंघ महाधिवेशनको लागि गठन गरिएको निर्देशन समितिका संयोजक प्रकाशशरण महत पुगे पनि कुनै निर्णय नगरी फर्किएका थिए ।
नेविसंघको महाधिवेशन साउन २३ देखि काठमाडौंमा गर्ने तय भए पनि त्यसको छनक भने केही देखिएको छैन ।