काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अन्ततः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेको छ । सोमबार राति अबेर सम्म भएको तीन दलका कार्यदल सदस्यहरुको बैठकले सहमति जुटाएपनि द्विपक्षीय सम्झौतालाई अन्तिम रुप दिन सकेन ।
मंगलबार विहान बसेको बैठकले ३ बुँदै सहमतिलाई अन्तिम रुप दिएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा नेता सर्वेन्द्रनाथ शुक्ल र सदभावना नेता लक्ष्मणलाल कर्ण दाहालको उम्मेदवारीको समर्थक समेत बने ।
सोमबार मात्रै तमलोपा नेता शुक्लले हाम्राकुरासंग आफुहरु तत्काल सरकारमा नजाने तर आफुहरुको मागबारेको खाका बने सरकारलाई सघाउने बताएका थिए । जसका लागि समय तालिका सहितको मार्गचित्र बन्नु पर्ने उनको भनाई थियो । मंगलबार ३ बुँदे सहमति भएपछि मोर्चा सरकारलाई सघाउन तयार भयो ।
मोर्चा नेताहरुले कांग्रेस र माओवादीसँग आफूहरुको मागका विषयमा तीन बुँदे सहमति भएकै आधारमा दाहालको उम्मेदवारीलाई समर्थन गरेको तर सरकारमा भने नजाने बताए । उनीहरुले दाहाललाई मतदान गर्ने तत्परता देखाएका छन् ।
सहमतिका तीन बुँदा
१. अब बन्ने सरकारले मधेसी मोर्चाको आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने, घाइतेलाई क्षतिपूर्ति लगायतका संघीय गठबन्धनका पूर्व शर्तलाई कार्यान्वयन गर्ने ।
२. सरकारले मोर्चाको ११ बुँदे र संघीय गठबन्धनको २६ बुँदेको आधारमा राजनीतिक सहमति खोज्दै संविधान संशोधन प्रस्ताव सदनमा लैजाने ।
३ं) मधेसी मोर्चा र गठबन्धनले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गर्ने ।