काठमाडौं । धार्मिक रुपमा साउन महिना रित्तो मानिन्छ । साउन महिनामा घर तथा शिवालयहरुमा रुद्री लगाउने बाहेक शुभ कार्यहरु नगर्ने हिन्दु परम्परा छ। तर, वुधबार देशको कार्यकारी प्रमुख चयनको महाकुम्भ हुँदैछ। यसअघि गणतन्त्र नेपालको प्रधानमन्त्री भएका उनै पुष्पकमल दाहाल नयाँ संविधान जारी भएपछिको दोस्रो कम्युनिष्ट प्रधानमन्त्री बन्दै छन्।
हुन त आफ्नो कम्युनिष्ट धर्ममा चल्ने दाहालले साउन होस् या अरु महिना केही प्रवाह गर्दैनन् । र मुलुक संवैधानिक रुपमै धार्मिक स्वतन्त्रता सहितको धर्म निरपेक्ष भइसकेको छ। यद्यपि, पहिलो प्रधानमन्त्री हुँदा पनि दाहाल साउनमै प्रधानमन्त्री निर्वाचित भएका थिए ।
जहाँ उनले ९ महिनाको छोटो समयमै राजीनामा दिनु परेको थियो। दाहाल अघिल्लो पटक २०६५ साउन ३१ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। मतदानमा त्यसताका संसदमा सहभागि ५५१ सांसद मध्ये ४६४ जनाले उनलाई मतदान गरेका थिए । त्यस बखत सबै भन्दा ठूलो पार्टी नै उनको थियो।
अन्तरिम संविधानको धारा ३८ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा निर्वाचित भएका दाहालको प्रतिद्वन्द्वी तत्कालिन कांग्रेस संसदीय दलका नेता (अहिलेका कांग्रेस सभापति) शेर बहादुर देउवा नै थिए । उनले जम्मा ११३ मत पाए । अहिले देउवा दाहालको प्रस्तावक बनेका छन् ।
त्यो बेला राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनशक्ति पार्टी तठस्थ बस्दा कांग्रेस विपक्षमा उभिएको थियो । नेपाल मजदुर किसान पार्टीका सांसद मतदानमा सहभागि नै भएनन् ।
यसपटक पनि दाहाल थुप्रै चुनौतीको भारी बोकेर प्रधानमन्त्री बन्न खोज्दै छन् । राप्रपा नेपालको निर्णय आउन बाँकी रहँदा मधेस केन्द्रीत दलले साथ दिएसंगै ३६६ मत उनको पक्षमा छ ।संसदमा अहिले कायम ५ सय ९५ सांसदमा प्रधानमन्त्री निर्वाचित हुन २९८ मत आवश्यक छ ।
कांग्रेस २ सय ७, माओवादी ८० (सभामुखले मतदान नगर्ने र एक निलम्बित बाहेक), संघीय गठबन्धन ४२ (मधेसी मोर्चा भित्रका ७ दलका ३९ र अन्यको ३) फोरम लोकतान्त्रिक १४, राप्रपा १२ र नेकपा संयुक्त सहित केही अन्य साना दल र २ जना स्वतन्त्र सांसद समेत दाहालको पक्षमा छन् ।
अहिले काम चलाउ सरकारमा रहेको एमालेले दाहालको विपक्षमा मतदान गर्ने निर्णय लिएको छ। हाल सत्तापक्षमा रहेका एमालेको १ सय ८२, राप्रपा (नेपाल) को २५, नेकपा(माले)को ५, नेमकिपाको ४, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलको २, बहुजन शक्ति पार्टीको १ र मधेस समता पार्टीको १ गरी कुल २ सय २३ पक्ष छ। सबै दलले स्पष्ट निर्णय लिइसकेका छैनन् । राप्रपा नेपालले आफ्नो संसदीय दलको बैठक बोलाएको छ ।
दाहाल नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतीय प्रक्रियाका आधारमा मुलुकको ३९ औ प्रधानमन्त्री बन्न लागेका छन् । यसअघि साउन ३१ गते विर्चाचित भएका दाहालले २०६५ भाद्र २ गते सोमबार कार्यारम्भ गरेका थिए । पछि अहिले विपक्षमा बस्न लागेको एमालेले साथ छोड्दा दाहाल २०६६ वैशाख २१ गते पद मुक्त भएका थिए ।
दाहाललाई फेरि सिंह दरबार छिर्न साउनकै साइँत आइपरेको छ । दाहालले आफुलाई परिपक्व भएको भनेका छन् । पार्टीको नाम फेरेका छन् । विपक्षी फेरेका छन् । तर, यसपटक आफुलाई फेरेका रहेछन् वा रहेनछन् भन्ने अबका चुनौतीको सामनाबाट थाहा हुने छ । ता कि उनी प्रतिकुल मौसममा खेती गर्दै छन् । प्राकृतिक भयको पूर्व सावधानी कसरी अपनाउलान् । त्यो हेर्न बाँकी नै छ ।