उपरीक्षकमा सिनियर पूजा सिंह डीआईजीपी भएपछि मधेस खुशी, गृहमन्त्रीको प्रशंसा
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
497
Shares
काठमाडौं । पूजा सिंहलाई मधेसको महिलाबाट पहिलो पटक प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) मा बढुवा गरेर प्रशंसनीय काम गरेको डाक्टरहरूले बताएका छन् । बुधबार गृहमन्त्री बालकृष्ण खाँणलाई मन्त्रालयमा भेटेर डाक्टरहरूको प्रतिनिधिमण्डलले मधेसको महिलाबाट सिंहलाई डीआईजीपी बनाउनु गृहमन्त्रीको प्रशंसनीय काम भएको भन्दै धन्यवाद दिएका हुन् ।
पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. भरत यादव, डा.अरुणकुमार सिंह, डा.अनुज सिंह, डा. शिव बस्नेत, सुधिरकुमार सिंह, दिपककुमार साह, निरजदेव जोशी, संञ्जिवकुमार मिश्रसहितको टोलीले गृहमन्त्री खाँणलाई भेटेर सिंहलाई डीआईजीपीमा बढुवा गरेर सरकारले मधेसी महिलाको सम्मान गरेको र क्षमताको कदर गरेको बताएको हो ।
‘सरकारले सिंहलाई डीआईजीपीमा बढुवा गरेर मधेसी महिलाको सम्मान गरेको छ । सिंहको क्षमताको कदर गरेको छ,’ गृहमन्त्रीसँगको भेटमा डा. यादवले भने । यसअघि मंगलबार सप्तरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादवको नेतृत्वमा आएको टोलीले पनि सिंहलाई बढुवा गरेर गृहमन्त्रीले प्रशंसनीय काम गरेको भन्दै धन्यवाद दिएको थियो ।
बुधबारै डाक्टरहरूको टोलीले भेट्नु अगाडि नेपाली कांग्रेस सिराहाका सभापति रामचन्द्र यादव नेतृतवको टोलीले पनि गृहमन्त्री खाँणलाई भेटेर सिंहलाई डीआईजीपीमा बढुवा गरी मधेसको सम्मान गरेको बताएको थियो ।
प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरीमा अब्बल मानिन्छिन् । उनी प्रजातन्त्र सेनानी केदारप्रसाद सिंहकी आफन्तसमेत हुन् । सिंह उपरीक्षक (एसएसपी) मा पनि सिनियर थिइन् ।