काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालको सरकारमा जाने कि नजाने भन्नेमा विवाद भएपछि राप्रपा नेपाको संसदीय दलको बैठक निर्णय विहिन भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन तथा संसदीय दलको बैठकमा नेताहरु विभाजित भएपछि निर्णय हुन नसकेको सांसद एवं प्रशिक्षण विभाग प्रमुख सुशील कुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘नयाँ सरकारमा सहभागि हुने नहुने विषयमा छलफल भएको थियो । निर्णय हुन सकेन ।’ बैठक वुधबार विहान ९ बजे फेरि बस्ने छ ।
बैठकमा ओली सरकारमा सहभागि भएकाहरुले सरकारमा जानु पर्ने धारणा राखेपनि प्रमुख सचेतक दिलनाथ गिरीसहितका केही नेताले जान नहुने बताएपछि विवाद भएको हो । पार्टी अध्यक्ष कमल थापा भने हाल सम्म खुला छलफलबाट टुंगो लगाउनु पर्ने भन्दै तठस्थ छन् । सम्भवतः राप्रपा नेपाल सरकारमा सहभगि हुने सम्भावन बढेको स्रोतले बताएको छ ।
निरञ्जन थापा, रामकुमार सुब्बा, दिनेश श्रेष्ठ, गिताभक्त जोशी, कुन्तीकुमारी शाही, प्रल्हाद साह, टंक ढकाललगायतका नेताहरुले दाहाल सरकारमा जानुपर्ने पक्षमा छन् । प्रमुख सचेतक गिरीसहित नेताहरु सुशील श्रेष्ठ, मुकुन्दसेन गिरी, विष्णु भण्डारी, रेशम लामा, बाबुकाजी प्रधानलगायतका नेताहरु भने ओली सरकारले बनाएको राष्ट्रवादी छवि धूमिल हुने भन्दै सहभागी हुन नहुने पक्षमा रहेका छन् ।