काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको छ । गत शुक्रबार बेलुकी पीसीआर परीक्षणबाट उनलाई कोरोना पुष्टि भएको थियो । उनको निजी सचिवालय सदस्य एवं प्रचण्ड पुत्री गंगा दाहालले फेसबुकमार्फत प्रचण्डको स्वास्थ्यमा सुधार आएको जनाएकी छिन् ।
उनले लेखेकी छिन्, ‘बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिडको कुनै लक्षण नभएकाले डाक्टरको सल्लाहअनुसार अबको २ दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्नुहनेछ ।’
माओवादी केन्द्रको आठौं महाधिवेशनपछि माओवादीका धेरैजसो नेताहरु संक्रमित भएका छन् । पार्टी मुख्यालय पेरिस डाँडामा कार्यरत दुई जनाबाहेक सबै संक्रमित भएका थिए ।
माओवादीको आठौं महाधिवेशन कोरोनाको हटस्पट भएको भनी विश्लेषण गरिएको थियो । प्रचण्ड सत्तारुढ गठबन्धनको छलफल गरेपछि संक्रमित भएका थिए ।
उक्त बैठकमा सहभागी भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित भएका छन् । उनको स्वास्थ्य पनि सुधारोन्मुख भएको बताइएको छ ।