arrow

स्याङ्जा प्रहरीबाट १६ जना पक्राउ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ पुष ३० शुक्रबार
Police Office syangja.jpg

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न घट्नामा संलग्न रहेका १६ जनालाई पक्राउ गरेको जनाएको छ । एक साता भित्र पक्राउ परेका १६ जना मध्ये ३ जना वडा प्रहरी कार्यालय र १३ जना जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ज्यान मार्ने देखि चोरी डकैती र लागुऔषध ओसारपसारमा संलग्न रहेका छन् । 

प्रहरीले अहिले सम्म विभिन्न घट्नामा संलग्न अभियुक्त १० जनाको नाम सार्वजनिक गरेको छ भने ६ जनाको अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले ज्यान कसुरमा ७, लागुऔषधमा १, आत्महत्या दुरुत्साहन कसुरमा १ र सवारी दुर्घटना कसुरमा १ जना पक्राउ गरी सार्वजनिक गरेको छ । 

ज्यानसम्बन्धी कसुरमा छ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए । स्याङ्जाको आँधीखोला गाउँपालिका १ कालीखर्क जङ्गलमा भरुवा बन्दुक लिएर बन कुखुरा मार्न गएका सात जनामध्ये एक जनाको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएपछि छ जना पक्राउ परेका हुन् ।

आँधीखोला गाउँपालिका १ का २७ वर्षीय मनोज विकको भरुवा बन्दुकको छर्रा लागेर घटनास्थलमै मृत्यु भएपछि फरार भएका थिए । प्रवक्ता अधिकारीका अनुसार पक्राउ पर्नेहरूमा आँधीखोला गाउँपालिका १ का २७ वर्षीय सूर्य भन्ने भीमबहादुर सुनार, सोही ठाउँका १८ वर्षीय सुनिल बिक, २४ वर्षीय दिनेश भन्ने रेवत पौडेल, ३७ वर्षीय धनबहादुर बिकलाई तत्कालै पक्राउ गरिएको थियो ।  त्यस्तै सोही ठाउँका २४ वर्षीय गोविन्द भन्ने फुननारायण अधिकारी, २८ वर्षीय साजन कामीलाई रुपन्देहीको बुटवलबाट पक्राउ गरी ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको बताए । 

त्यस्तै आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक पुरुषलाई पक्राउ गरी अनुसन्धान थालेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १४ लामागे बस्ने ४५ वर्षीय धनकुमारी गिरीलाई आफ्नै श्रीमान् टेकनाथ गिरीले शारीरिक तथा मानसिक रूपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको भन्ने जाहेरी परेपछि निजलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । 

धनकुमारी गिरी पुस १७ गते ४ बजे आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । यसै साता लागुऔषध ओसारपसार गरेको अभियोगमा प्रहरीले फेदिखोलामा एक जनालाई पक्राउ गरेको छ । फेदिखोला गाउँपालिका ४ आरु खर्कका ४३ वर्षीय लक्ष्मी गुरुङ पहारीलाई सर्केटारीबाट गाँजा सहित पक्राउ गरेको जनाएको छ । प्रहरीले शङ्कास्पद अवस्थामा उनलाई चेकजाँच गर्दा २ केजी ९ सय ग्राम गाँजा फेला पारेको थियो । गुरुङलाई लागुऔषध(गाँजा) सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

१६ महिनाको बालकको चक्कु प्रहार गरी हत्या गरेको र ५ वर्षीय बालिकालाई घाइते बनाएको अभियोगमा वालिङमा एक जनालाई प्रहरी नियन्त्रणमा लिएर ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता गरेको छ । पर्वतको पैंयू गाउँपालिका ५ घर भई हाल वालिङ १० भकुन्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले सोही घरमा डेरा गरी बस्ने १६ महिने बालक र ५ वर्षीय बालिकालाई चक्कु प्रहार गरेका थिए ।  

वालिङ १२ सिर्सेकोट घर भई हाल भकुन्डे डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिने छोरालाई घाँटीमा चक्कु प्रहार पश्चात् तत्काल उपचारको लागी वालिङ प्राथमिक अस्पतालमा ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । मृतक साईमनकी दिदी ५ वर्षीय साईना गुरुङ समेत घाइते भएकी छिन् । साईनाको घाँटी अगाडि, बायाँ हातको बुढी औँलामा समेत चोट लागेको छ । घटनामा संलग्न जितेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य जारी राखेको प्रनाउ अधिकारीले जानकारी दिए ।

भीरकोट २ सपौदे सिद्धार्थ राजमार्गमा बुटवलबाट आउँदै गरेको ना ५ ख ३८१४ नम्बरको बसले सोही दिशाबाट आइरहेको ग १ ख ९३७४ नम्बरको बसलाई ठक्कर दिँदा ५ जना घाइते भएका थिए । घाइते मध्ये ३ जनालाई पोखरा थप उपचारका लागि पठाइएको छ भने २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ । ना ५ ख ३८१४ नम्बरको बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ