arrow

नेविसंघमा छात्रा नेतृहरु को–को हुँदैछन् प्रत्यासी ?

नेविसंघमा आधा आकाश र धर्ती ओगट्नेहरुको अवस्था

logo
सुदर्शन अर्याल।
प्रकाशित २०७३ साउन १८ मंगलबार
nsu-women-leader.jpg.jpeg
लामो समयको स्थगन पछि फेरि पनि नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ महाधिवेशनको उषामा उदाउनको लागि बिहानीको अन्तिम कोल्टे फेर्दैछ। घर बलियो हुनको लागि जग बलियो हुनुपर्छ यो प्राचिन मान्यतालाई नेपाली काँग्रेसले भुल्दै आयो। कैयन पटक महाधिवेशन गर्न नसकेर पछिल्लो पटक साउन २३, २४ र २५ गतेको लागि महाधिवेशनको मिति तोकिएको छ। 
 
नेपाल विद्यार्थी संघ नेपाली काँग्रेसको मूल जरो हो। यो भनाईमा प्रतिवाद र खण्डन गर्ने न त कोही काँग्रेसी होलान् न त गैर काँग्रेसी नै। एकतन्त्रीय शासनको घुँडा टेकाउन होस् या त प्रजातन्त्रको घाँटी निमोठ्ने शाही शासन विरूद्ध लड्न नै किन नहोस्, क्रान्तिको अग्र मोर्चामा मसाल र कलम अंकित झण्डा फाहराउँदै अघिबढ्ने नेविसंघको यो पटकको लागि तोकिएको महाधिवेशन पनि अन्धकारको कालो भूमरीमा रूमलिँदै छ। जसको कारणले यो पटकको लागि समेत तोकिएको मिति फगतमा वित्ने आशंका पनि उव्जिएको छ। 
 
यो महाधिवेशनको पूर्वसन्ध्यामा देखिएको आशंकाले महाधिवेशनलाई कुन कुनामा पुर्‍याउला त्यो भने अझै केही दिन हेर्न बाँकी नै छ। तर, तोकिएकै मितिमा यो महाधिवेशन सम्पन्न हुने हो र निस्पक्ष र स्वतन्त्र ढङ्गले महाधिवेशन सुरू गर्ने हो भने यो पटकको महाधिवेशनबाट नेविसंघले नयाँ परिवर्तनको आभास पाउने विश्वास सबैले व्यक्त गरेका छन्। 
 
यो पटक घरमा चुलो चौंकामा मात्र सिमित रहेको भनिएकाहरु त्यो सोचाईबाट माथि उठ्दै यो महाधिवेशनमा धेरै महिला नेतृहरू अगाडी आएका छन्। पारिवारिक बन्धन तोडेर माथि उठ्दैछन्। जसको प्रभावस्वरूप महिला कोटाको सिँढी चढेर पदमा पुग्ने होइन कि मतदाताको मन जितेर खुड्किलो उक्लिने अठोट अहिलेको महाधिवेशनमा महिला नेतृहरूमा देखिएको छ। अहिलेसम्मको स्थिती विश्व्लेषण गर्दा महिला नेतृहरू यो महाधिवेशनमा अध्यक्षदेखि केन्द्रीय सदस्य पदसम्ममा आकांक्षी छन्। कतिपय नेतृहरु वर्तमान कार्यसमितिमा भएका कारण आगामी महाधिवेशनमा उठ्न पाउने नपाउनेमा अन्यौल छ। उमा शिवाकोटी तुलसा पन्त लगायतका महिला नेतृहरु महाधिवेशनमा उठ्न् पाउने अवस्था आए उनीहरु पनि आकाँक्षी हुन्। तर यो कार्यसमितिका कुनै पनि पदाधिकारी र सदस्य उमेद्वार हुन नपाउने भए उनीहरु रोकिने छन्। नेविसंघमा छात्राहरूको नेतृत्व आकांक्षाको बारेमा हाम्राकुराले तयार गरेको संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएको छ । 
 
अध्यक्षका आकांक्षी विनिता अधिकारी 
लमजुङ जिल्लामा जन्मिएर स्थानीय विद्यालयमा एसएलसी उत्तीर्ण गरी काठमाडौं आएकी विनिता अधिकारी नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्ष पदको आकांक्षा रहेको बताउँछिन्। सानै उमेरदेखि राजनीतिमा चासो राख्दै आएको बताउने उनले कक्षा पाँचदेखि नै नेपाली काँग्रेस र प्रजातान्त्रिक परिपाटीको घुलमिलका कारण नेपाली काँग्रेसको राजनीतिमा आस्था बढेको बताउछिन्। आफ्नै हजुरबुवाबाट हलोक्रान्तिको सुरूवात भएको भन्ने थाहा पाएपछि बाल मनोविज्ञानमा राजनीति गरेर नै केही फरक अनुभव गर्न सकिन्छ भन्ने सोचाई राख्दै आएकी अधिकारी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र पद्मकन्या क्याम्पसको स्ववियू सभापति समेत बनिसकेकी छिन्। परिवर्तित नेपालमा नेपाली काँग्रेसजस्तो पार्टी महिलाप्रति उदार बन्न नसकेको भन्ने आरोप लागिरहेको बेला नेपाल विद्यार्थी संघ चलाउने हैसियत भएका महिला छन भन्ने देखाउनको लागि आफूले उम्मेदवारी दिन लागेको अधिकारीको दावी छ। कक्षा पाँचमा पढ्दै गर्दा तीनधारा संस्कृत छात्राबासमा भएको वक्तृत्वकला प्रतियोगितामा प्रजातन्त्रमा मेरो भूमिका शीर्षकमा भएको प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरेपछि अझ बढी राजनीतिमा केन्द्रीत भएर अघि बढ्ने प्रेरणा मिलेको उनी बताउँछिन्। अधिकारीले नेविसंघको महाधिबेशनमा अध्यक्ष पदको लागि दाबी गरिरहँदा कुनै पनि महिलाले अहिलेसम्म नेतृत्वको दावी गर्दै उम्मेदवारी समेत नदिएको अवस्थामा इतिहास रच्दै बिजयी हुने दावी समेत गर्छिन् । 
 
उपाध्यक्षमा काठमाडौंकी कृष्ण कुमारी बस्नेतको दाबी 
काठमाडौंमा जन्मिएर नेपाली काँग्रेसको पृष्ठभूमिमा रहेको परिवारमा हुर्किएकी कृष्णकुमारी बस्नेत नेविसंघको राजनीतिमा लागेर अहिले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिरहेकी छिन्। पशुपति बहुमुखी क्याम्पसबाट राजनीति सुरू गरेकी बस्नेत स्पष्ट वक्ताको रूपमा चिनिने उनी २०५६ सालमा स्ववियूसभापति हुँदै २०६२ सालसम्म आईपुग्दा नेविसंघ इकाई सभापतिको रूपमा पनि संगठनको नेतृत्व गरिन। मिजासिलो शैली र आफ्ना कुराहरू स्पष्ट रूपमा राख्ने स्वभाव भएकी बस्नेत नेताको नजिक भएर नेताको आशीर्वादबाट होइन कि आफ्नो क्षमता आफैंले तय गर्नुपर्ने तर्क गर्छिन्। अरूको भर पर्दा आरक्षणको कोटामा पुग्ने र उसको भक्ति गरून्ज्याल मात्रै काम बन्ने भन्दै आफ्नो क्षमताको आधारमा अगाडि बढ्नेहरू कहिलै पनि कसैको भर पर्नु नपर्ने धारणा राख्छिन्। जनआन्दोलनको क्रममा चावहिलबाट नेतृत्व गरेकी उनी आफू तात्कालीन समयमा संयोजक तोकिएकोले पनि आफू आन्दोलनको अग्र पङ्क्तीमा हिँडेको पनि बताइन्। आफूले नेविसंघले के दियो त भन्ने प्रश्नमा आफू नेविसंघलाई केही नदिई नेविसंघबाट आफूले केही अपेक्षा गर्नु राजनीतिक इमान्दारिताको विपरित हुने बताउने बस्नेत आरक्षणको नाममा सक्षम व्यक्तिले पनि स्थान नपाएकोले आरक्षणको काम नरहेको बताउँछिन्। व्यक्तिगत स्वार्थको लागि संगठनमा नलागेको बताउने बस्नेत आफू अहिलेको उपाध्यक्ष पदमा उम्मेदवारी दिने बौंद्धिक पृष्ठभूमिका साथ वास्तविक विद्यार्थीहरुको योग्य उम्मेदवार रहेको बताउँछिन्। महिला सशक्तिकरणको लागि मुलुकमा महिला नेतृत्वको लहर छाएको भन्दै योग्य नेतृत्वको लागि महिला र पुरूष भनेर विभेद गर्ने हो भने मुलुकले बहिलैपनि उन्नतीको पथमा लाग्न नसक्ने बताँउछिन्।
 
प्रदेशको उपाध्यक्षमा निमा र रेणुका आकाँक्षी
महिला उम्मेदवारहरूमा ७ प्रदेशको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारीको आकांक्षा देखाएकी छिन्। महिलाहरूमा नीमा गिरी प्रदेश नं ५ बाट उपाध्यक्षको रूपमा उम्मेदवारी दिने तयारीमा छिन्। कम्युनिष्टहरूको बाहुल्यता रहेको जिल्लामा रहेर पनि नेपाली काँग्रेसको भातृ संस्थामा राजनीति गर्दै आएको बताउने गिरी महेन्द्र बहुमुखी क्याम्पसमा इकाई अध्यक्षबाट संविधानसभा २ मा टिकटसम्म पाएपनि आफूले आफू भन्दा अग्रजहरूलाई सम्मान गर्नुपर्छ भनेर टिकट फिर्ता गरेको बताउँछिन्। उनी दाङको नेविसंघ जिल्ला सदस्य, प्यूठान नेविसंघको जिल्ला उपाध्यक्ष, त्रिवि नेविसंघ कार्य समितिको उपाध्यक्ष र पार्टीको महासमिति सदस्य समेत बनिसकेकी छिन्। उनी अहिले पनि महिलालाई स्थापित गराउन सकिएन भने नेविसंघ महिलाप्रति कहिलै पनि उदार बन्न नसक्ने भन्दै महिला भनेर होइन कि क्षमता हेरेर भोट हाल्न आग्रह गर्दछिन्। 
 
रेणुका काउचा जनजाती उपाध्यक्षको रूपमा उम्मेदवारी दिने तयारीमा छिन् । सरस्वती क्याम्पसमा स्ववियू कोषध्यक्ष बनेकी काउचा पार्टीको महाधिवेशन प्रतिनिधि समेत बनिसकेकी छिन्। आफूलाई ३० वर्ष भन्दा मुनीको पुस्ताको नेतृ सम्झने काउचा नेपाल मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष समेत रहेकोले पनि आफूले जनजातीको मुद्दा नेविसंघमा स्थापित गराउनको लागि आफूले उम्मेदवारी दिएको बताउँछिन्। 
 
चन्दा अधिकारी प्रदेश उपाध्यक्षमा दावेदार
नेपाल विद्यार्थी संघको पद्यकन्या क्याम्पसको सक्रिय राजनीतिमा रहेकी  चन्दा अधिकारी प्रदेशबाट उपाध्यक्षमा दावी पेश गरिरहेकी छन्। उनी आफू प्रदेशबाट शसक्त उमेद्वार भएको दावी गर्छिन। 
 
खुल्लाबाट उर्मिलाको दाबी महामन्त्रीमा 
साहित्यमा समेल आफूलाई अब्बल राख्दै नेपाली काँग्रेसको महासमिति सदस्य समेत बनिसकेकी उर्मिला थपलिया अहिले नेपाल विद्यार्थी संघको महामन्त्री पदमा आकांक्षी छिन्। कहिले कविता मार्फत् अनुभूतिका तरंग पोख्ने त चन्द्रमल्लिक गजल संग्रहमा आफ्ना भाव बगाउने थपलियाको डालो मनको उर्घार्दा कविता संग्रह पनि बजारमा आएको छ। यससँगै नेविसंघ के हो ? नेविसंघ गीतसँगै अन्य ४ गीतहरू समेत गाईसकेकी थपलियाले मरेर पनि अमर गिरिजाबाबु र सम्झनामा सुशील’दा नामक दुई कितावको सम्पादन समेत गरेकी छिन्। वि सं २०५३ सालमा तात्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला धादिङ गएको समयमा उनलाई भेटेपछि प्रत्यक्ष राजनीतिमा लाग्न रहर जागेको बताउने थपलियाले नीलकण्ड मावि धादिङको काई उपाध्यक्ष, नेविसंघ धादिङको कोषध्यक्ष, नेविसंघ धादिङको तदर्थ समिति सदस्य हुँदै २०५८ सालसम्म आईपुग्दा जिल्ला कार्य समिति धादिङको सचिवसम्म बनेकी थिईन् । त्यसपछिका वर्षहरूमा विश्वभाषा क्याम्पसमा स्ववियू सचिव समेत बनेकी थपलिया २०६३ सालमा नेविसंघ केन्द्रमा केन्द्रीय सदस्यको रूपमा मनोनित भएकी हुन् । महिलालाई ३ सत्तासँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यतालाई पुरूषको भन्दा भिन्न कठिनाई भन्दै यतिका संघर्ष गरेर आएका महिलाहरूलाई नेतृत्व तहमा भने स्थान नदिनु, आरक्षणका आँखाले हेरेर विभेदको सिर्जना गर्ने परिपाटीलाई चिर्नको लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको भन्दै उनी पुरूष सत्ताबादी सोचलाई बदल्नको लागि आफूले पुरूषबादी सोचको घेरा नाघेको बताउँछिन र यसमा आफूलाई सहयोग गरेर आधा आकाश ढाकेका महिलाले नेविसंघ हाँक्न सक्छन् भनेर प्रमाणित गर्ने अवसर दिनको लागि पनि सबैसँग आग्रह गर्दछिन् । नेविसंघको लागि आफूले दूधे बालक छाडेर समेत जिल्ला दौडाहमा हिँडेको स्परण गर्दै थपलियो भन्छिन् सानो बच्चा बोकेर पछि नेविसंघमा सक्रिय राजनीति गर्नेको संघर्षको कदर सबै मतदाताले गर्नुहुन्छ भन्ने लागेको छ। विभिन्न आन्दोलनमा जाँदा घाईते भएकी थपलिया आफूले संगठनलाई केही दिन नसकेको बरू आफैंलाई संगठनले धेरै कुरा दिएको भन्दै संगठनलाई केही दिनकै लागि आफूले महामन्त्रीको पदमा आकांक्षा देखाएका बताउँछिन्।
 
महामन्त्रीमा कुँवरको काविल दावी 
महामन्त्रीमा महेश्वरी कुँवरले आकांक्षा देखाएकी छिन्। पाल्पा जिल्लामा जन्मिएर नविसंघको राजनीतिमा प्रवेश गरेकी कुँवर नेविसंघको राजनीतिमा एक अब्बल नारी नेतृको रूपमा चिनिन्छिन्। आफूलाई कसैको गुटगत राजनीति भन्दा माथी राख्ने प्रयास गरेको दावी गर्ने कुँवरले नेविसंघलाई सही बाटोमा लैजानको लागि महिलाको सवल भूमिका आवश्यक रहेको र महिलाको भूमिकाको लागि आफू निर्विकल्प उम्मेदवार रहेको दाबी गर्छिन्। महिला नेतृत्वको उर्भर भूमि मानिने काठमाडौंको पद्मकन्या क्याम्पसबाट राजनीति गरेकी कुँवर न्यायसङ्गत ढङ्गले कुनैपनि भेदभाव रहित र गुटगत राजनीतिको विकास गर्नको लागि आफू एक अब्बल र इमान्दार उम्मेदवार रहेको बताउँछिन्। देशभरका विद्यार्थीहरूको आग्रह र नेविसंघको राजनीतिमा आफूले दिएको योगदानको आधारमा आफू उम्मेदवार बनेको बताउने कुँवर एउटा प्राज्ञिक नेतृको रूपमा पनि चिनिन्छिन्। अग्रेजी विषयकी स्नातकोत्तर कुँवर महामन्त्रीका लागि बलियो उमेद्वार भएको दावी गर्छिन। 
 
महामन्त्रीमा कमला न्यौपानेले पनि आकांक्षा देखाएकी छिन्। त्यस्तै, सहमहामन्त्रीहरूमा अम्बिका चलाउने ६ नं प्रदेशबाट, कौशी भट्ट ७ नं प्रदेशबाट, शोभा भण्डारी, सञ्चिता कुईँकेल उपत्यकाबाट उम्मेदवारी दिने तयारीमा छन् । उनीसँगै साधना घिमिरे पनि आकाँक्षी छिन। विद्यार्थी नेतृहरु रूपा पोखरेल, रञ्जिता कार्की, सम्झना खत्री, ललिता सुनार, सीता गौतम, लक्ष्मी पौडेल, झल विक, ज्ञानु तिमिल्सिना, सीता मिजार, ऋषा श्रेष्ठ, उर्मिला कँडेलले पनि सहमहामन्त्री सहित पदाधिकारीमा आकांक्षा देखाएका छन्। उनीहरू भिन्न भिन्न समूहबाट उम्मेदवारी दिने तयारीमा छन्। 
 
कोषाध्यक्ष अञ्जनाको दावी
कोषाध्यक्ष पदको लागि अञ्जना अर्यालले आकांक्षा देखाएकी छिन्। त्रिभुवन त्रिसुली उच्च माविमा सचिव भएर नेविसंघको राजनीतिमा लागेकी अर्याल वाणिज्यशास्त्र अध्ययन हुने शंकरदेवबाट स्नातकोत्तर हुन। संगठनमा पारदर्शिताको अभाव रहेकोले आफू आफ्नो अध्ययनसँग मिल्ने कोषाध्यक्षमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएको अर्याल बताउँछिन्। २०५२ सालदेखि नेविसंघ राजनीतिमा लागेकी अर्यालले सदस्यता संख्याको अनुपातमा प्रतिनिधित्वको आवश्यकता रहेको तर्क गर्छिन्। अर्यालसँग अरु छात्र तथा छात्राहरुले पनि प्रतिष्पर्धा दिन सक्छन्। 
 
त्यस्तैगरी, केन्द्रीय सदस्यहरुमा सुर्खेतकी यमुना सापकोटा, कपिलबस्तुकी सरस्वती बेलवासे, नवलपरासीकी अप्सरा अधिकारी, दैलेखकी ज्योति कटुवाल, इलामकी प्रेमिका रानामगर, सिन्धुलीकी लक्ष्मी दाहालले अहिलेसम्म केन्द्रीय सदस्यमा उम्मेदवारीको आकांक्षा देखाएका छन्। त्यस्तैगरी, एलिजा ढकाल तनहुँ, सुनिता अधिकारी, पाल्पा, निर्मला पन्थी गुल्मीले पनि केन्द्रीय सदस्यको लागि आकांक्षा देखाएको नेविसंघमा चर्चा छ। अहिले प्रत्येक प्रदेशबाट एक उपाध्यक्ष र एक सहमहामन्त्री प्रस्ताव गरिएपनि विधान पारित हुन बाँकी नै रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ