काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई काठमाडौं दू्रत मार्ग (फाष्ट ट्र्याक)नेपाल सरकार आफैंले बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
व्यवस्थापिका संसद्मा प्रधानमन्त्रीको मतदान हुनुपूर्व आफ्नो धारणा राख्दै अध्यक्ष दाहालले राष्ट्रको हितमा रहेका बजेटले सम्बोधन गरेका कार्यक्रम र सरकारले सुरू गरेका महत्वाकांक्षी योजनालाई सँगै लिएर जाने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले मुलुकको हितमा रहेका यस्ता महत्वाकांक्षी योजनाहरू आफू सम्मिलित सरकारले नै ल्याएको भन्दै आफूले समर्थन फिर्ता लिँदैमा आफूले सहयोग गरेको सरकारले गरेको काम अघि नबढाउने हो भने त्यो जस्तो ठूलो बेइमानी अरू केही नहुने तर्क समेत गरे ।
फाष्ट ट्र्याक र हुलाकी राजमार्गतर्फ संकेत गर्दै गर्दै प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका अध्यक्ष दाहालले भने ‘राष्ट्रिय गौरबका आयोजनाहरू आफू समेत सम्मिलित भएको अघिल्लो सरकारले ल्याएका राम्रा परियोजनाहरू अघि नबढाउने हो भने यो ठूलो बेइमानी हुने छ ।’
प्रधानमन्त्री ओलीको पटकपटक नाम लिएका दाहालले ओली सरकारले बजेट विनियोजन गरेका आयोजनाहरूलाई हु–बहु कार्यान्वयनमा लगिने तर बजेट विनियोजन नगरेका आयोजनामा भने अहिले नै कार्यान्वयनकोलागि जिम्मा लिन नसक्ने जानकारी पनि दिए ।
साधारण खर्चलाई समेत पुर्याउन नसक्ने राजश्वको हिस्सा रहेको यो अवस्थामा यस्ता महत्वाकांक्षी योजनाहरू कुन् स्रोतबाट बनाउने हो ? भन्दै प्रधानमन्त्री ओलीसँग सुझाव मागे । उनले भने ‘भनिदिनुहोस् प्रधानमन्त्री जी, यी आयोजनाहरू कुन् स्रोतबाट बनाउने हो ? म त्यही स्रोतबाट यो आयोजना बनाउने छु । सछमेकीले सहयोग दिन्छन् भने त्यही गर्छु । अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग आउँछ भने म त्यो पनि गर्नसक्छु ।’