काठमाडौँ। नेपाल विद्यार्थी सङ्घलाई सही बाटोमा लैजाने प्रतिवद्धतासहित विद्यार्थी नेताले महामन्त्री पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।
रिपोटर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा सहभागी विद्यार्थी नेताले विगत १० वर्षदेखि अन्योलमा रुमलिएको नेविसङ्घलाई निश्चित दिशा दिने प्रतिवद्धता जनाएका हुन् ।
सङ्घको ११ औँ महाधिवेशन यही साउन २३ देखि २५ गते काठमाडौँमा हुने भएको छ । महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री पदमा आज मात्रै नौजनाले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
मनोज वैद्य, उर्मिला थपलिया, डिल्लीराज सुवेदी, विनय भट्ट, रमेश रिजाल, प्रचण्ड विक्रम न्यौपाने, हिमाल दत्त श्रेष्ठ, युवराज पाण्डे र मित्र भट्टराईले महामन्त्री पदमा दावी गरेका हुन् ।
प्रत्यासी वैद्यले समग्र शैक्षिक क्षेत्रमा देखिएको विकृति बिसङ्गतीको अन्त्य गर्दै विगत लामो समयदेखि नेविसङ्घमा देखिएको विवाद अन्त्य गर्न आफूले उम्मेदवार दिन लागेको बताए ।
विधिवत् महाधिवेशनको माग गर्दै नेविसङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र नेविसङ्घ रामेछापका पूर्व उपाध्यक्ष रत्नहरि ढुङ्गेले यही साउन १५ गतेदेखि काँग्रेस पार्टी कार्यालय सानेपामा आमरण अनशन बस्दै आएका छन् ।
अर्का महामन्त्रीका प्रत्यासी डिल्लीराज सुवेदीले नेविसङ्घ भित्रको गुट–उपगुटको अन्त्य गर्दै सङ्घलाई रूपान्तरण गर्न आफूले उम्मेदवारी दिएको प्रस्ट पारे ।
प्रत्यासी युवराज पाण्डेले नेविसङ्घमा सक्षम नेता र नेतृत्वको निम्ति आफूलाई मतदान गर्न आग्रह गरे । महामन्त्रीका प्रत्यासी उर्मिला थपलियाले नेविसङ्घको साङ्गाठानिक सुधारका लागि आफूले उम्मेदावरी दिने बताइन् । महामन्त्रीका उम्मेदवार भट्ट, रिजाल, श्रेष्ठ र भट्टराईलगायतले सङ्घभित्र देखिएका विवादलाई समाधान गर्दै २३ गते नै महाधिवेशन सम्पन्न गर्नुपर्ने माग गरे ।
त्यस्तै नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पसका पुर्व सभापति प्रकाश केसीले नेविसंघको ११औ महाधिवेशनमा महामन्त्री पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि विद्यार्थी राजनितीमा रहेका उनी अस्कल क्याम्पसमा नेबिसंघ उपाध्यक्ष, डब्लु आर सिको सभापति हुँदै हाल महामन्त्रीमा आफ्नो दाबी गरेका हुन्। विसं २०६४ मा दुई काँग्रेसबीच एकीकरण भएपछि सङ्घको महाधिवेशन हुनसकेको छैन ।