काठमाडौं । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले मधेस केन्द्रीत दलहरुसंग भएको सहमतिले संविधानको सर्वस्वीकार्यताको बाटो खुलेको बताएका छन् ।
व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका उम्मेद्वार पुष्पकमल दाहालको प्रतावक बनेका देउवाले मधेस केन्द्रीत दलको समर्थनले अब संविधान कार्यान्वयनको बाटो सहज भएको बताएका हुन् । उनले भने, ‘मैले पहिले पनि भनेको थिए । संविधानको सर्वस्वीकार्यता नभई संविधान कार्यान्वयन हुन सक्दैन ।’ अब मेरा मित्र प्रचण्डले सबैलाई मिलाउनु हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ ।
देउवाले शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन हुनु प्रजातन्त्रको सुन्दरता भएको बताए । सुरुवातमा हाँस्दै उनले भने, ‘अस्ति प्रधानमन्त्री केपी ओलीको त्यस्तै भाषण सुने, आज मेरा मित्र प्रचण्डको त्यस्तै भाषण । अब मलाई कहाँबाट सुरु गरौं भनेर बडो अप्ठयारो लागेको छ । के बोल्ने भनेको सबै बिर्सिएँ ।’
विश्वास र अविस्वास ठूलो कुरा होइन । प्रजातान्त्रिक अभ्यासमा मैले धेरे पटक अविश्वास खाइसकेको हो । यसलाई अन्यथा लिनु हुँदैन । सरकार बने पनि राष्ट्रिय हित र नीतिमा सबै एक भएर हिड्न सक्छौ । शान्तिपूर्ण सत्ता परिवर्तन भनेको प्रजातन्त्रको सुन्दरता हो, देउवाले भने, ‘हाम्रो पार्टी यही शान्तिपूर्ण बाटोका लागि संघर्ष गर्दै आएको थियो ।’ मेरो पार्टी प्रजातन्त्रका लागि लड्दै आएको पार्टी हो ।
देउवाले संविधानको कार्यान्वयन, भूकम्पपीडितलाई द्रूतरुपमा राहत प्रदान गर्ने, शान्ति स्थिरताको मार्गमा अगाडि बढाउन आफूहरु प्रयत्नशील रहने उल्लेख गरे । ‘‘साथी बदल्न सकिन्छ, छिमेकी बदल्न सकिदैन । चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ भन्नेमा नेपाली काँग्रेस दृढ रहेको देउवाको भनाई छ ।