तीन पतिहरू (पशुपति, सेनापति र राष्ट्रपति) माथि आफ्नो प्रभुत्व जमाउन खोज्दा ८ महिना १९ दिन प्रधानमन्त्री बनेर सत्ता छाड्नु परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गणतान्त्रिक नेपालको कार्यकारी पदमा दोस्रो पटक निर्वाचित भएका छन् ।
दोस्रो संविधानसभाबाट तेस्रो दल बन्न पुगेको तात्कालीन एकीकृत नेकपा माओवादीको तर्फबाट सिराहा जिल्ला क्षेत्र नं ५ बाट प्रत्यक्ष रूपमा व्यवस्थापिका संसद् सदस्यको रूपमा निर्वाचित भएका प्रचण्ड नेपालमा नयाँ संविधान बनेपछिको दोस्रो र संविधानसभा भाग २ को गठनपछिको तेस्रो प्रधानमन्त्रीको रूपमा बुधबार व्यवस्थापिका संसद्बाट निर्वाचित भएका हुन् ।
गणतान्त्रिक नेपालको पहिलो निर्वाचित प्रधानमन्त्रीको रूपमा वि सं २०६५ साल साउन ३१ गते व्यवस्थापिका संसद्बाट नै निर्वाचित भएका दाहालले तात्कालीन समयमा भदौं २ गतेमात्रै सत्ता आरोहण गरेका थिए । संयोग नै मान्नुपर्ला कि दोस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा पनि दाहाल साउन महिनामा नै निर्वाचित भएका छन् ।
को हुन् दाहाल ?
सानै देखि पढाईमा अब्बल दर्जा भएका दाहाल वि सं २०११ साल मंसिर २६ गते कास्कीको लेवाडेमा २ ढिकुरपोखरीमा जन्मिएका हुन् । दुई भाइ र ६ बहिनी मध्ये सबैभन्दा जेठो सन्तानको रूपमा जन्मिएका दाहाल सशस्त्र द्वन्द्वमा जानुपूर्व विएस्सीएजी गरेर युएसएआईडीमा समेत काम गरिसकेका व्यक्ति हुन् ।
विद्यार्थी जीवनको समयमा नै आफूमा राजनीतिक विउ उमारेका दाहालले राजनीतिक युद्ध सुरू गर्नु पूर्व नै छविलालको पहिचान त्यागे । तब उनी बने पुष्पकमल ।
उनलाई चिने जानेकाहरू उनी सानैदेखि पुष्पकमलकै स्वभाव मिल्ने खालका थिए भन्छन् । उनी सानैदेखि मिलनसार र केही परिवर्तनको खोजी गर्ने र इच्छा राख्ने व्यक्ति रहेको बताउँछन् । शान्ति प्रक्रियामा आएपछि सार्वजनिक रूपमा उनले भनेका थिए “पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो । त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो ।
मेरै घरनजीक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन् । उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए । उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन् ।“ यसरी उनले आफू भित्र कम्युनिष्टबादी विउ रोपे । यसरी राजनीतिमा आस्था र सक्रियताको माटो खोतल्दा विक्रमको २०२८ साल भएको थियो ।
त्यतिबेलाको पुष्पकमल तात्कालीन कम्पुनिष्ट पार्टीमा क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए । ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे । उनको विश्लेषणमा, “लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो। मोहनविक्रम नै मेरा विरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुर्पयो ।’
राजनीतिको पाईला
सुरूवातका छविलाललाई २०५२ सालपछि कसैले कल्याण कसैले विश्वास कसैले प्रचण्ड त त कसैले निर्माण नामले पनि चिनाउने गर्दथे । उनी पूरा भूमिगत थिए । त्यसैले कसैले उनलाई प्रचण्ड भन्ने व्यत्तिः नै छैनन् भनेर भन्न पनि पछि पर्दैन थिए ।
यसरी २०२८ सालमा पुष्पलाल समूहमा पार्टी सदस्यता लिएर सक्रिय राजनीतिमा प्रवेश गरेका प्रचण्ड २०३१ सालमा माक्र्सवादी अध्ययन समूहको गठन गरी राजनीतिक नेतृत्वगर्न सुरू गरे । २०३८ सालमा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको महासचिव समेत बने । २०३८ सालदेखि २०६३ सालसम्म
लामो समय भूमिगत जीवन विताएका दाहाल २०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय समितिको अध्यक्ष बने । ने.क.पा. (मशाल) को पाँचौ महाधिवेशनबाट २०४१ सालमा केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका उनी २०४२ सालमा ‘मशाल’को केन्द्रीय समितिको पोलिटव्युरो सदस्य हुँदै २०४६ सालमा मशालकै महामन्त्री बने । सशूत्र द्वन्द्वमा जानु अघि २०४८ सालमा ने.क.पा.(एकता केन्द्र) को महामन्त्री पदमा निर्वाचित भए ।
२०५२ सालमा भूमिगत हुनुभन्दा केही समयअघि उनकी आमा क्यान्सरको बिरामीले थला परिन् । उनलाई वीर अस्पताल पुर्याइयो । प्रचण्ड त्यसबेला आफैँ वीर अस्पतालमा कुरूवा बसेका थिए । दुर्भाग्यवश, त्यहीँ उनकी आमाको निधन भयो । अनि दाहसंस्कारको व्यवस्था मिलाएर प्रचण्ड त्यहाँबाट हिँडे । किरिया गरेनन्, भाइले गरे ।
२०५२ सालपछि २०६३ सालमा प्रचण्डको बाबुसँग भेट भयो । न्वारानको नाम छविलाल भएकाले उनलाई छवि नै भन्थे परिवारमा । घरको प्यारो नाम ’बाबु’ थियो । तर, स्कूल पढ्दापढ्दै छविले आफ्नो नाम आफैँ पुष्पकमल राखेछन् । बाबुआमाले प्रचण्ड भन्ने नाम आफ्नो छोराको हो भनेर धेरै ढिलो मात्रै थाहा पाएका हुन्।
सशस्त्र युद्ध पछि
वि सं २०५१ सालमा ने.क.पा.(माओवादी) को महामन्त्री बनेर सशस्त्र युद्ध सुरू गरेका प्रचण्डलेको युद्धकाल पुरापुर भूमिगत अवस्थामा नै वित्यो । राजनीतिक रूपमा २०५७ सालमा दोश्रो राष्ट्रिय सम्मेलनबाट ने.क.पा.(माओवादी)को अध्यक्ष बनेका उनले २०५८ सालसम्म आईपुग्दा युद्धलाई राज्य विरूद्धको आन्दोलनमा निर्णयक भन्दै उत्कर्षमा पुर्याए ।
जुन समयमा उनी जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर बने २०६३ साल असार २ गते काठमाडौंमा भूमिगत जीवनबाट सार्वजनिक भएपछि उनको बनबासको जीवनबाट घरफिर्ती भयो ।
शान्ति प्रक्रिया पछि
मुलुकमा दुई पक्ष तात्कालीन विद्रोही नेकपा माओबादी र सरकारबीच १२ बाँदे विस्तृत शान्ति सम्झौता भएपछि सार्वजनिक भएका दाहाल त्यसपछि जंगलको युद्ध छाडेर संसदीय प्रक्रियामा सामेल भएर संसदीय युद्ध सुरू गरे ।
नयाँ संविधान निर्माणको लागि भनेर गरिएको संविधानसभाको पहिलो निर्वाचन २०६४ चैत्र २८ मा काठमाडौं १० र रोल्पा २ वाट विजयी बनेका उनी त्यही संविधानसभाको निर्वाचनबाट बनेको व्यवस्थापिका संसद्बाटै सरकार प्रमुखको रूपमा निर्वाचित भए । त्यसपछि प्रधानसेनापति हटाउन लागेको आरोप लाग्दै गएपछि २०६६ बैशाख २० मा नैतिकताको आधारमा प्रधानमन्त्रीवाट राजीनामा दिए ।
त्यसपछिको यात्रामा उनी २०६९ मा हेटौडा महाविधेशनबाट पार्टीको अध्यक्ष, २०७० मा भएको दोस्रो संविधानसभा चुनावमा सिराह–५ बाट विजयी बन्न सफल भए । त्यसपछि २०७१ विराटनगर सम्मेलनबाट पार्टी अध्यक्ष, २०७३ जेठमा पार्टी एकताबाट बनेको माओबादी केन्द्रको पुनः अध्यक्ष पदमा चयन भए ।
तिनै अध्यक्ष प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्रीको रूपमा व्यवस्थापिका संसद्बाट बुधबार भारी मतले विजयी बनेका छन् । यसरी ढिकुर पोखरीमा स्नेहको भावमा ‘बाबु’ नामले चिनिने दाहालको सिंहदरबारको सत्ता आरोहणमा दोस्रो यात्राको सुरूवात भएको छ । यिनै दाहाललाई सफल कार्यकालको लागि हाम्रो पनि बधाई ।