arrow

नेविसंघ महामन्त्रीमा बाजी मार्ने दाउमा छन् यि १३ उम्मेद्वार

को को छन् उम्मेदवार ?

logo
सुदर्शन अर्याल।
प्रकाशित २०७३ साउन १९ बुधबार
nsu-mahamantri-candidate.jpg.jpeg
काठमाडौं। महाधिवेशन हुने या नहुने अन्यौलकैबीच नेविसंघ महाधिवेशन हुने सम्भावना बढेसँगै विभिन्न पदमा उम्मेदवारीको घोषणा गर्नेक्रम पनि बढ्दै गएको छ। पटकपटक स्थगन भएर पछिल्लो पटक साउन २३, ३४ र २५ गतेको लागि महाधिवेशनको मिति तोकिएको छ। 
 
एकतन्त्रीय शासनको घुँडा टेकाउन होस् या त प्रजातन्त्रको घाँटी निमोठ्ने शाही शासन विरूद्ध लड्न नै किन नहोस्, क्रान्तिको अग्रमोर्चामा मसाल र कलम अंकित झण्डा फहराउँदै अघि बढ्ने नेविसंघको यो पटकको लागि तोकिएको महाधिवेशन पनि अन्धकारको कालो भूमरीमा रूमलिँदै छ। जसको कारणले यो पटकको लागि समेत तोकिएको मिति फगतमा वित्ने आशंका पनि उव्जिन थालिसकेको छ। 
 
यो पटक पछिल्लो पिढींको नेतृत्वगर्ने युवा पुस्ताले विशेषगरी महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। उनीहरू विधिसम्मत निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने माग गर्दै आ–आफू नै महामन्त्रीको सच्चा उम्मेदवार रहेको दाबी पनि गर्दै आएका छन्। महामन्त्रीका केही उम्मेदवारहरू यस्ता छन्।  
 
युवराज पाण्डे
नेविसंघको महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरिरहेका अर्का उम्मेदवार हुन् युवराज पाण्डे। स्याङजामा जन्मिएका शान्त र शालीन स्वभाव प्रस्तुत गर्ने बैचारिक कुशलताका धनीका रुपमा आफ्नो पहिचान बनाएका पाण्डे यसपटक महामन्त्रीमा आफूलाई बलिया उम्मेद्वार मान्छन्। एकतन्त्रीय पञ्चायती शासनको अन्त्य भएसँगै वि.स. २०४८ सालबाटै विद्यार्थी राजनीतिमा सक्रिय भएका पाण्डे २०६४ सालमा चितवनमा सम्पन्न संघको १० औं महाधिवेशनसम्म आईपुग्दा केन्द्रीय सदस्यमा विजयी भएका थिए। केन्द्रीय राजनीतिमा सक्रियताको कुरा गर्दैगर्दा केन्द्रीय क्याम्पस कीर्तिपुरमा विश्वविद्यालय समितिको सदस्य हुँदै सह–सचिब समेत भएका उनी विद्यार्थीहरु अब पार्टीको रक्षक रहनु पर्ने भएपनि यो पार्टीको पिछलग्गु हुन नहुने तर्क गर्छन्। राजनीतिमा विधीको आवश्यकता रहने भन्दै अहिंसात्मक र प्रतिकात्मक आन्दोलनबाट नेपाली राजनीतिलाई आममानिसको रुचीको विषय बनाउने पर्नेमा उनको धारणा छ। अबको नेविसंघको नेतृत्व पार्टी नेतृत्वसँग बफादार मात्र रहने तर विद्यार्थी हित काम गर्न नसक्ने भएमा संघको गरिमा सकिएर जानेमा उनी चिन्तित छन्। रचनात्मक र सिर्जनात्मक कामहरु गर्दै युग सुहाँउदो शैक्षिक परिपाटी बसाउन संघको नेतृत्व आउनु पर्नेमा उनको माग छ। आफू महामन्त्रीमा विजयी भए समयमै महाधिवेशन गरी संगठनमार्फत शैक्षिक र सामाजिक आन्दोलन चर्काउने अभियान सुरु गर्ने संकल्प गरेका छन्।
 
डिल्लीराम सुवेदी
वि. सं. २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर राजनीतिमा प्रवेश गरका डिल्लीराम सुवेदी नेपाल विद्यार्थी संघको कर्मठ र जागरूक विद्यार्थी नेता हुन्। २०५३ सालमा वाग्लुङ जिल्लाको जनता माविमा नेपाल बिद्यार्थी संघको अध्यक्ष भइसकेका थिए। विद्यालय तहमा नै राजनीतिको स्वाद चाखिसकेका उनले क्याम्पस पढ्ने क्रममा पृथ्वी नारायण क्याम्पस पोखरामा लामो समयसम्म इकाइमा बसेर काम गरेका थिए। त्यस लगत्तै वाग्लुङ पोखरा सम्पर्क समितिमा रहँदै काठमाडौं आउँदा उनी फेरि काठमाडौं शिक्षा क्याम्पसमा पनि राजनीतिक रुपमा सकृय रहे। राजनीति मात्रै भन्दा पनि विद्यार्थी राजनीतिलाई प्राज्ञिक पनि बनाउनु पर्दछ भन्ने सोचाईका साथ अघि बढ्ने सुवेदी यावत शैक्षिक सवालहरूमा खह्रो बहसमा उत्रिदै आएका छन्। अध्ययनशिल भनेर चिनिएका सुवेदीका बिद्यार्थी सम्बन्धी लेख, रचना समेत छापिदै आएका छन्। सुवेदीको सम्पादनमा विचार विशेष त्रैमासिक पत्रिका निस्किरहेको छ जसले कांग्रेसको सैदान्तिक धरातलमा देखिएको अभावलाई केही भए पनि पुरा गरेको छ। नेपाली काँग्रेस र संविधानसभा नामक अर्का बुकलेट लगायत १० वटा भन्दा बढी पुस्तकहरूको लेखन र सम्पादनमा समेत संलग्न रहदै आएका सुवेदी काठमाडौ शिक्षा क्यापसको स्ववियू सभापति तथा इकाई अध्यक्ष समेत भैसकेका छन्। सुवेदीले २०६५ सालमा आफ्नो क्याम्पसमा नेविसंघलाई प्यानल नै जिताएर क्याम्पस राजनीतिबाट केन्द्रीय राजनीतिमा सुरू गरेका थिए। उनी पछिल्लो समय नेपाली काँग्रेसमा पनि सकृय रहेका छन्। पछिल्लो महाधिवेशनमा वाग्लुङ जिल्ला क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिको रूपमा विजयी बनेका सुवेदी २०६२र६३ को आन्दोलनमा बिद्याथीहरुलाई आन्दोलित बनाउदै अघि बढ्दा काठमाडौंमा पटक पटक पक्राउ परी थुनिएका थिए ।
 
विनयराम भट्ट
नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशनमा महामन्त्रीका अर्का आकांक्षी हुन् विनयराम भट्ट। सानै उमेरदेखि प्रजातान्त्रिक राजनीतिमा लागेका भट्ट अहिलेको महाधिवेशनमा उम्मेदवारी दिने युवा पुस्ताका एक प्रतिनिधि हुन्। जे कुराको पनि उमेरको हद आवश्यक पर्ने पक्षमा वकालत गर्ने भट्ट २०६२/६३ को आन्दोलनमा झण्डै आधा महिना भन्दा बढी आफू जेल समेत परेको भट्ट बताउछन्। नेविसंघ एउटा फोहोरको थुप्रो रहेको भन्दै फोहोरको थुप्रोलाई हटाउनको लागि नेपाली काँग्रेस र नेपाल विद्यार्थी संघले संयुक्त रूपमा पहल गर्नुपर्ने अवस्था रहेको बताउँछन्। लामो समयसम्म महाधिवेशन हुन नसक्दा अहिले धेरै अग्रजहरूले समेत नेविसंघको महाधिवेशनमा उम्मेदवारी दिएको भन्दै उनले लामो समयसम्म नेविसंघको राजनीतिमा लागेका अग्रजहरूले अब नेविसंघको पदमा धेरै लोभ गर्न नहुने धारणा व्यक्त गर्छन्। आफू त्रिचन्द्र क्याम्पसमा नेविसंघको लागि र समग्र प्रजातान्त्रिक आन्दोलनको पक्षमा धेरै लडेको भन्दै बताउने उनले नियमित महाधिवेशन नहुँदा आफू अहिले महामन्त्रीमा आकांक्षा देखाएर बसिरहनुपरेको बताउँछन्। आफूले नेविसंघको महामन्त्रीमा विजय हाँसिल गर्न सकेको खण्डमा आफूले गरेको कामले समाजमा केही न केही प्रभाव पार्ने ठोकुवा गर्दै यस अघि आफूले त्रिचन्द्रमा रहँदा गरेका कामहरूले पनि आफ्नो क्षमता देखाएको बताउँछन्। नेविसंघलाई आफूले धेरै दिन बाँकी रहेकोले पनि नेतृत्व गरेर नेविसंघको पैंचो तिर्नको लागि आफूले महामन्त्रीमा विजयी हुनु आवश्यक रहेको बताए। प्राप्ति भन्दा पनि त्यागको राजनीतिलाई महत्व दिने उनी आफूभन्दा अग्रजहरूलाई केही भन्ने ठाउँ नरहेको भन्दै लामो समय निर्वाचन हुन नसकेकोले पनि यसरी धेरै आकांक्षीहरू देखिनु स्वभाविक रहेको बताउँछन। 
 
पुष्पकुमार शाही
सुदुरपश्चिमको विद्यार्थी आन्दोलनबाट उदाएका पुष्पकुमार शाही यतिबेला नेविसंघको महामन्त्री बन्न जिल्ला दौडाहामा छन्। डोटी जिल्लामा जन्मिएर धनगढीमा स्थायी बसोबास गर्दै आएका शाही सोझो र इमान्दारिपनताका कारण विद्यार्थीमाझ लोकप्रिय छन्। कैलालीको विन्ध्यावासिनी माविमा २०५१ सालमा इकाइ अध्यक्ष हुँदै कैलाली बहुमुखी क्याम्पसबाट सक्रिय राजनीतिमा लागेका उनी नेपालगन्ज महाधिवेशनमार्फत केन्द्रीय सदस्यमा निर्बाचित भएपछि केन्द्रीय राजनीतिमा छन्। नेविसंघको कैलाली अध्यक्ष समेत भइसकेको शाही संगठनलाई गतिशिल बनाउन र चुस्त र दुरुस्त राख्न आफ्नो उम्मेद्वारी रहेको दावी गर्छन्। शिक्षालाई व्यवहारिक, सर्वसुलभ र बैज्ञानिक बनाउनका लागि उनले अभियान चलाउने सोच बनाएका छन्। शैक्षिक पाठ्यक्रमलाई परिवर्तन गरी युग सुहाउँदो शिक्षा प्रदान गर्न राज्यलाई दबाब दिदैं समान शिक्षाको अवसर हरेक नागरिकसम्म पुर्याउने संकल्प उनले लिएका छन्।
 
प्रचण्डविक्रम न्यौपाने
महामन्त्रीकै अर्का प्रत्यासी प्रचण्डविक्रम न्यौपानेले नेविसंघलाई अबको नेतृत्वले सही बाटोमा डोहोर्‍याउनु पर्नेमा जोड दिदै आएका छन्। दाङका न्यौपानेको पारिवारिक पृष्ठभुमीका कारण विद्यार्थी राजनीति देखिनै काँग्रेसमा लागेका उनी त्रिचन्द्र क्याम्पस उनले विद्यार्थी राजनीतिको नेतृत्व गरे। विद्यार्थी आन्दोलनको गिरेको शाखलाई पूनः जगाउनुपर्ने उनको मत छ। न्यौपानेले आफू महामन्त्रीमा निर्वाचित भए संगठनलाई मुलुककै अग्रणी एवम् गतिशील संगठनको रुपमा नेविसंघलाई पहिचान दिने दावी गरे।
 
हिमालदत्त श्रेष्ठ
पाल्पाका स्थायि वासिन्दा हिमालदत्त श्रेष्ठ महामन्त्रीका उम्मेद्धवार हुन। पाल्पामा विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय रहेका उनी नेबिसंघको राजनीतिलाई नयाँ उचाइमा पुर्‍याउन पनि आफूहरुको पुस्ता केन्द्रीय नेतृत्वमा पुग्नुपर्ने बताउँछन्। नेविसंघलाई समय सापेक्ष र विद्यार्थीको मनमा बस्ने खालको बनाउन पनि आफ्नो उम्मेद्धवारी रहेको उल्लेख गर्दै भने,‘म निर्वाचित भए संगठनलाई यही अनुसार संगठनलाई लाखौं विद्यार्थीको भावना अनुसार नेतृत्व प्रदान गर्छु ।’
 
उर्मिला थपलिया 
उर्मिला थपलिया अहिले नेपाल विद्यार्थी संघको महामन्त्री पदमा आकांक्षी छिन्। वि सं २०५३ सालमा तात्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला धादिङ गएको समयमा उनलाई भेटेपछि प्रत्यक्ष राजनीतिमा लाग्न रहर जागेको बताउने थपलियाले नीलकण्ड मावि धादिङको काई उपाध्यक्ष, नेविसंघ धादिङको कोषाध्यक्ष, नेविसंघ धादिङको तदर्थ समिति सदस्य हुँदै २०५८ सालसम्म आईपुग्दा जिल्ला कार्य समिति धादिङको सचिवसम्म बनेकी थिईन्। त्यसपछिका वर्षहरूमा विश्वभाषा क्याम्पसमा स्ववियू सचिव समेत बनेकी थपलिया २०६३ सालमा नेविसंघ केन्द्रमा केन्द्रीय सदस्यको रूपमा मनोनित भएकी हुन्। महिलालाई ३ सत्तासँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यतालाई पुरूषको भन्दा भिन्न कठिनाई भन्दै यतिका संघर्ष गरेर आएका महिलाहरूलाई नेतृत्व तहमा भने स्थान नदिनु, आरक्षणका आँखाले हेरेर विभेदको सिर्जना गर्ने परिपाटीलाई चिर्नको लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको भन्दै उनी पुरूष सत्ताबादी सोचलाई बदल्नको लागि आफूले पुरूषबादी सोचको घेरा नाघेको बताउँछिन। नेविसंघको लागि आफूले दूधे बालक छाडेर समेत जिल्ला दौडाहमा हिँडेको स्परण गर्दै थपलियो भन्छिन् सानो बच्चा बोकेर पछि नेविसंघमा सक्रिय राजनीति गर्नेको संघर्षको कदर सबै मतदाताले गर्नुहुन्छ भन्ने लागेको छ। विभिन्न आन्दोलनमा जाँदा घाईते भएकी थपलिया आफूले संगठनलाई केही दिन नसकेको बरू आफैंलाई संगठनले धेरै कुरा दिएको भन्दै संगठनलाई केही दिनकै लागि आफूले महामन्त्रीको पदमा आकांक्षा देखाएका बताउँछिन्।
 
महेश्वरी कुँवर  
महामन्त्रीमा महेश्वरी कुँवरले आकांक्षा देखाएकी छिन्। पाल्पा जिल्लामा जन्मिएर नेविसंघको राजनीतिमा प्रवेश गरेकी कुँवर नेविसंघको राजनीतिमा एक अब्बल नारी नेतृको रूपमा चिनिन्छिन्। आफूलाई कसैको गुटगत राजनीति भन्दा माथी राख्ने प्रयास गरेको दावी गर्ने कुँवरले नेविसंघलाई सही बाटोमा लैजानको लागि महिलाको सवल भूमिका आवश्यक रहेको र महिलाको भूमिकाको लागि आफू निर्विकल्प उम्मेदवार रहेको दाबी गर्छिन्। महिला नेतृत्वको उर्भर भूमि मानिने काठमाडौंको पद्मकन्या क्याम्पसबाट राजनीति गरेकी कुँवर न्यायसङ्गत ढङ्गले कुनैपनि भेदभाव रहित र गुटगत राजनीतिको विकास गर्नको लागि आफू एक अब्बल र इमान्दार उम्मेदवार रहेको बताउँछिन्। देशभरका विद्यार्थीहरूको आग्रह र नेविसंघको राजनीतिमा आफूले दिएको योगदानको आधारमा आफू उम्मेदवार बनेको बताउने कुँवर एउटा प्राज्ञिक नेतृको रूपमा पनि चिनिन्छिन्। अग्रेजी विषयकी स्नातकोत्तर कुँवर महामन्त्रीका लागि बलियो उमेद्वार भएको दावी गर्छिन। 
 
कमला न्यौपाने
महामन्त्रीमा कमला न्यौपानेले पनि आकांक्षा देखाएकी छिन्। स्याङजाकी कमला न्यौपाने विद्यार्थी राजनीतिमा निरन्तरताको कदर हुनुपर्ने बताउँछिन। उनी महामन्त्रीमा आफू बलियो उमेद्वार भएको बताउँछिन। 
 
मनोज बैद्य
नेविसंघ काठमाडौंका अध्यक्ष समेत रहेका मनोज बैद्य पशुपति वहुमुखी क्याम्पसका पूर्व सभापति पनि हुन्। अबको नेविसंघको नेतृत्वले विद्यार्थी आन्दोलनलाई परिमार्जन गर्दै गुणस्तरीय र व्यवहारिक शिक्षाको लागि पहल गर्ने उल्लेख गर्दै आफू यही अभियानका साथ चुनावी मैदानमा उत्रिएको दाबी वैद्यको छ। उनले भने,‘महाधिवेशन समयमै गर्नुपर्छ, जसले गर्दा संगठन गतिशिल हुन्छ ।’वैद्यले समग्र शैक्षिक क्षेत्रमा देखिएको विकृति बिसङ्गतीको अन्त्य गर्दै विगत लामो समयदेखि नेविसङ्घमा देखिएको विवाद अन्त्य गर्न आफूले उम्मेदवार दिन लागेको बताए ।
 
रमेश रिजाल
महामन्त्रीका प्रत्यासी रमेश रिजालले पनि आफू उक्त पदका लागि सक्षम र योग्य उम्मेद्धवार भएकाले विद्यार्थी आन्दोलनलाई सही दिशा दिने र संगठनलाई भरपर्दो र विश्वासिलो विद्यार्थी संगठन बनाउने संकल्प गरे। 
 
प्रकाश केसी
नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पसका पुर्व सभापति प्रकाश केसीले नेविसंघको ११औ महाधिवेशनमा महामन्त्री पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि विद्यार्थी राजनितीमा रहेका उनी अस्कल क्याम्पसमा नेबिसंघ उपाध्यक्ष, डब्लुआरसिको सभापति हुँदै हाल महामन्त्रीमा आफ्नो दाबी गरेका हुन्।  जुझारु नेताका रुपमा विद्यार्थीहरुमाझ परिचीत केसी ६२/६३ सालको जन आन्दोलन देखि विभिन्न विदयार्थी आन्दोलनमा गरि पटक पटक जेल जिबन बिताएका उनले माओवादी ज्यादती विरुद्ध पोखराबाट सुरु भएको प्रतिकारको नेतृत्व गरेका थिए। महामन्त्रीको उम्मेदवारीको विषयमा उनिसंग कुरा गर्दा आफ्नो तिनओटा एजेन्डा रहेको र त्यसलाई पूरा गर्न उम्मेदवारी दिएको बताए । 
 
 
मित्र भट्टराई
महामन्त्रीका अर्का प्रत्यासी मित्र भट्टराईले नेविसंघलाई गुटवन्दीबाट टाढा राख्दै सबै विद्यार्थीहरुको साझा थलोको रुपमा संगठनलाई स्थापित गर्ने दाबी गरे । उनले भने,‘पछिल्लो सयम नेविसंघमा देखिएको अन्यौलतालाई चिर्दै हामी सबैले यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन लागिपर्नुपर्छ, यसकै लागि मेरो महामन्त्रीमा उम्मेद्धवारी हो, सबै साथीहरुको चाहना पनि यही छ ।’
 
विधिवत् महाधिवेशनको माग गर्दै नेविसङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र नेविसङ्घ रामेछापका पूर्व उपाध्यक्ष रत्नहरि ढुङ्गेले यही साउन १५ गतेदेखि काँग्रेस पार्टी कार्यालय सानेपामा आमरण अनशन बस्दै आएका छन् । त्यस्तै, विसं २०६४ मा दुई काँग्रेसबीच एकीकरण भएपछि सङ्घको महाधिवेशन हुनसकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ