स्याङ्जा । स्याङ्जालाई खेलकुदको विकासमा अघि बढाउन खेलकुद एकेडेमी आवश्यक रहेको एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । खेल मैदानको अभावमा खेलाडी उत्पादनमा कठिनाई आएको भन्दै जिल्लामा दुई ओटा खेल मैदानको आवश्यकता रहेको एन्फा स्याङ्जाका सदस्यहरुले जोडदिएका हुन् ।
अखिल नेपाल फुटबल संघ केन्द्रीय सदस्य पंकज नेम्बाङ स्याङ्जा अनुगमनमा पुग्दा स्याङ्जा एन्फाले राखेको स्वागत तथा भेटघाटमा सो विषयमा जोड दिइएको हो । स्याङ्जाबाट उत्पादन भएका खेलाडीहरुले महत्व नपाउनुले स्याङ्जाको खेलकुद विकास नभएको स्याङ्जाका एन्फा सदस्यहरुको दुःखेसो छ । खेलाडी उत्पादनको सम्भावना रहेको स्याङ्जामा खेलकुद एकेडेमीको खाँचो रहेको उनीहरुको भनाई थियो ।
स्याङ्जाको खेलकुद विकासका लागि एन्फाबाट आएको रकम नपाउनु दुःखद् रहेको कार्यक्रमकास हभागीहरुले बताए । एन्फाका केन्द्रीय सदस्य पंकज नेम्बाङ्ले संस्था विधि र विधानतः नचल्दा यस्तो समस्या आएको बताए । नयाँ नेतृत्वको चयनको तयारीमा लागेको अखिल नेपाल फुटबल संघमा अब आउने नेतृत्व विधि र विधान सम्वत चल्न सक्ने आउनुपर्ने नेम्बाङको धारणा छ ।
एन्फामा भएको आर्थिक हिनामिना देखि विधान विपरीत चलेकामा आफुले संस्थालाई विधिसम्वत चलाउन माग गर्दै आएको नेम्बाङ्को जोड थियो । स्याङ्जाको खेलकुद विकासका लागि आएको ५० हजार डलर रकम अहिले सम्म नआउनु दुःखद भएको बताएका छन् ।
यस बारेमा आफुले बुझने प्रयास गर्ने छु,–नेम्वाङ्ले भने । संस्थालाई बचाई राख्न स्याङ्जा एन्फाले खेलेको भूमिकाको नेम्बाङ्ले प्रशंसा गरेका थिए । स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदी, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रकाश डोटेल, एन्फा स्याङ्जाका महासचिव मेघनाथ भण्डारी लगायतका बक्ताहरुले स्याङ्जामा खेलाडी उत्पादनको सम्भावना रहेर पनि खेलमैदानको अभावमा पछाडी परेको बताए ।
उत्पादन भएका खेलाडीले राष्ट्रिय स्तरमा महत्व नपाउनुले पनि स्याङ्जाका खेलाडीहरुमा नैराश्यता आएको कार्यक्रमका सहभागिहरुको भनाई छ । स्याङ्जामा दुई खेलमैदान रहेपनि संरक्षणको अभावमा रहेका छन् ।