arrow

नरभक्षी बाघ भेटाउनै सकस

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ माघ १० सोमबार
tiger2019-05-29.jpeg
फाईल तस्बिर

नवलपुर । नवलपुरको विनयी त्रिवेणी र मध्यविन्दु नगरपालिकामा विगत २ महिना अघि देखि २ जनाको ज्यान लिएको र एक जनालाई घाइते बनाएको नरभक्षी बाघको खोजी सुरु गरेको दुई हप्ता पुग्न लाग्दा पनि बाघको अवस्था पत्ता लाग्न सकेको छैन ।

गत पौष २८ गते देखि चितवन राष्ट्रिय निकुञ्जको ३ वटा हात्ती र प्राविधिकहरूको टोलीले खोजी गरिरहे पनि बाघ समात्न नसकेको हो  ।

निकुञ्जले डिभिजन वनको अनुरोधमा घडियाल प्रजनन तथा वन्यजन्तु उद्धार शाखाका प्रमुख सरोजमणि पौडेलको नेतृत्वमा विज्ञ सहितको टोली पठाएर बाघको खोजी गरिएको भए पनि बाघ पत्ता लाग्न नसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बताउँछन् । टोलीले बाघ निस्किन सक्ने सम्भावित स्थान सबै तिर क्यामरा राखेको भए पनि क्यामरा बाघ नपरेको आचार्य बताउँछन् ।

नरभक्षी बाघ खोजेर नियन्त्रणमा लिन खटिएका टोली प्रमुख घडियाल प्रजनन तथा वन्यजन्तु उद्धार शाखाका प्रमुख सरोजमणि पौडेलले वन क्षेत्र ठुलो भएको र बाघका पाइलाहरू धेरै फेला परेकाले नरभक्षी बाघको यकिन गर्न समस्या परेको बताए । "पाइला भेटिएकै आधारमा मान्छे खाने हो भनेर यकिन गर्न सकिँदैन, १५ दिन देखि बाघ क्यामरा परेको छैन," पौडेलले भने । केही दिन अगाडि बाघले गोरु खाएको स्थान विनयी त्रिवेणी-५ मा बाघको मुमेन्ट हेर्न क्यामेरा राखिएको पौडेलले बताए । "१५ दिन अगाडी क्यामरामा एक पटक रेकर्ड भएको बाघ त्यसपछि गत शुक्रवार सम्म क्यामरा रेकर्ड भएको छैन, क्यामरामा रेकर्ड नहुँदा सम्म नरभक्षी बाघ यही भनेर यकिन गर्न गाह्रो हुन्छ," पौडेलले बताए ।

दुई महिना अगाडि मान्छे खाएको दम्किबास  र अरुण खोला बिचको वन क्षेत्रमा बाघको खोजी बढाइएको छ । मान्छेलाई आक्रमण गरेको स्थान आसपास बाघको पाइलाहरू देखिएकाले क्यामरामा पर्ने र त्यसपछि बाघलाई नियन्त्रणमा लिने कुरामा पौडेल आशावादी देखिए ।

बाघ दिनकै १२ देखि १५/१६ किलोमिटर सम्म हिँडडुल गर्ने भएकाले पनि एकै ठाउँमा नभेटिएको पौडेलले बताए । ३ वटा हात्ती र प्राविधिकको समूह वन क्षेत्रमा रहेकाले पनि बाघले स्थान परिवर्तन गरिरहेको उनी बताउँछन् । बाघ पत्ता नलाग्दा सम्म वन क्षेत्र प्रवेश नगर्न स्थानीयलाई आग्रह गरेको भए पनि स्थानीयहरू वन प्रवेश गर्दा थप समस्या भएको पौडेलले गुनासो गरे ।

मान्छेलाई आक्रमण गरेको बाघ यकिन हुन साथ थप प्राविधिक र हात्ती प्रयोग गरेर नियन्त्रणमा लिन तयारीमा निकुञ्ज रहेको छ । ठुलो जङ्गलमा बाघको खोजी कार्य जटिल र खर्चिलो भएको निकुञ्जको तर्क छ । तीन वटा हात्ती र १५, १६ जना प्राविधिकको खर्च दैनिक रूपमा ६५ हजार आसपास खर्च भएको निकुञ्ज स्रोतले बतायो  ।

विगत दुई महिना देखि २ जनाको ज्यान लिएको र २ जनालाई घाइते बनाएको बाघ नियन्त्रणमा न आउँदा स्थानीयमा त्रास कायम नै रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ