- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निजामती कर्मचारीहरुमा कोरना संक्रमण ह्वात्तै बढेपछि सरकारी कार्यालयहरु सुनसान हुन थालेका छन् । यसबाट सरकारी कार्यालयहरुले प्रदान गर्दै आएका सेवा ठप्प झैं भएका छन् ।
अधिकांश सरकारी कार्यालयहरुका अत्यावश्यकीय सेवा बाहेक अन्य सेवा बन्द गरेका छन् । खासगरी भीडभाड हुने सेवा सबै कार्यालयहरुले बन्द गरेका छन् । नागरिकता, पासपोर्ट, सवारी चालक अनुमति पत्र, जग्गा खरिद बिक्री, नामसारी, राष्ट्रिय परिचय पत्र नम्बर जस्ता सेवा प्रायः देशभर बन्द नै भएका छन् । अत्यावश्यकीय सेवा भने बन्द नगरिएको सरकारी कार्यालयहरुले जनाएका छन् ।
प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार अहिले सुनसान भएको छ । सिंहदरवारमा कार्यरत करिब पाँच हजार कर्मचारीमध्ये झण्डै ४० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण देखिएको संघीय मामिला मन्त्रालयको बुझाइ छ । पीसीआर परीक्षण नगरेका कर्मचारीहरुसमेत जोड्दा झण्डै आधा भन्दा बढी कर्मचारीहरुमा कोराना संक्रमण भएको अनुमान गरिएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताए ।
केही कर्मचारीहरु भने कोरोनाको लक्षण देखियो भन्दै कार्यालय जान डराउने गरेका छन् । सरकारले सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली लागु गरेपछि सार्वजनिक यातायात प्रयोग गरेर कार्यालय जानु पर्ने कर्मचारीहरु पनि प्रभावित भएका छन् ।
कोरोना संक्रमित कर्मचारीहरुले सात दिनको बिदा पाउँछन् । यसबाहेक अस्पताल बस्नु पर्ने बिरामी कर्मचारीको हकमा संक्रमण भएदेखि अस्पतालमा डिस्चार्ज भएको ३ दिनसम्म बिरामी बिदा पाउने व्यवस्था सरकारले गरेको छ ।
यसैगरी कन्टयाक्ट टे«सिङमा परेका कर्मचारीहरुले तीन दिनसम्म बिदा पाउने व्यवस्था गरिएको छ । प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र लगायतका विभिन्न मन्त्रालयमा ४० प्रतिशतभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
एक दर्जनभन्दा बढी सचिव सरहका कर्मचारीहरु संक्रमित भएका छन् । कोरोना संक्रमणको जोखिमबाट सबैभन्दा बढी मारमा तल्लो तहका कर्मचारीहरु परेका छन् ।
सिंहदरबार कोरोना संक्रमणको हट स्पट बनेदेखि गृहमन्त्रालयले अघिल्लो सातादेखि नै सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।
सिंहदरबारमा प्रवेश कडाइ गर्न मन्त्रालयले सबै किसिमका पास रद्द गरेको छ । मन्त्रीक्वार्टर पुल्चोकमा पनि कोरोना छिरेको छ । मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमणबाट जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु नै प्रभावित भएका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयका ६७ जना कर्मचारीमध्ये झण्डै ५० जना कर्मचारीमा कोरोना संक्रमणबाट प्रभावित भएका छन्। यस्तै अवस्था भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयमा पनि छ ।
ललितपुर महानगरपालिकामा कार्यरत अधिकांश कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि महानगरपालिकाबाट प्रदान हुँदै आएका सबै सेवा बन्द गरिएको छ ।
यसैगरी भूमि व्यवस्थापन विभाग र नापी विभागले पनि जग्गा खरिद बिक्री तथा जग्गा प्रशासनसम्बन्धी सेवा बन्द गरेका छन् । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएमा सम्बन्धित कार्यालयका कार्यालय प्रमुखले स्थानीय प्रशासनसँग समन्वय गरेर सेवा बन्द गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको भूमि व्यवस्थापन र नापी विभागले जनाएका छन् ।