काठमाडौं । नेपाली काँग्रेसका नेताहरु भ्रातृ संगठन नेपाल विद्यार्थी संघको आइतबारदेखि हुँदै गरेको महाधिवेशनका लागि गम्भीर नभएपछि पीडित नेताहरु अन्ततः नेताहरु भेट्न उनीहरुकै निवासमा पुगेका छन् ।
पार्टी मुख्यालय सानेपामा पहिले रिले अनसन अनि पछि आमरण अनसन नै बसे पनि अहिलेसम्म पार्टीले माग सम्वोधन गर्ने कुनै लक्षण नदेखाएपछि विद्यार्थी नेताहरु पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमै पुगेका हुन् ।
नयाँ सरकारमा कसलाई पठाउने भन्ने रस्साकस्सी चलिरहेका बेलामा नेविसंघका मागबारे उनीहरुलाई सोच्ने फुर्सद नभइरहँदा पीडित नेताहरु भने मुख्य नेताका ढोका ढक्ढक्याउन पुगेका हुन् ।
तर सरकारमै जानका लागि पदाधिकारी बैठक बसेका बेलामा नेविसंघका नेताहरु पुगेपछि उनीहरुका मागले मूर्तरुप लिने छाँट देखिदैन । गत शनिबारदेखि दुई विद्यार्थी नेताहरु आमरण अनसनमा बसिरहेका छन् । उनीहरुको अवस्था चिन्ताजनक छ ।
विधिवत महाधिवेशनको माग गर्दै आमरण अनसनमा बसेका नेताहरुको माग सम्वोधन हुने सम्भावना त कमजोर बनेको छ नै अब महाधिवेशन हुनेमै शंका छ ।
महाधिवेशन हुन दुई दिन बाँकी रहँदा अझै ११ जिल्लाको अधिवेशन नै गर्न बाँकी छ ।
अधिवेशन भएको भनिएका अन्य ११ जिल्लामासमेत विवाद छ । नेविसंघमा टिके प्रथा जारी रहेकाले विगत ९ वर्षदेखि महाधिवेशन हुन सकेको छैन ।