arrow

शहीद सप्ताह जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार

काठमाडौं । शहीद सप्ताह शुरु भएको छ । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउने चार सहिदको सम्झनामा सोमबार माघ १० गतेदेखि शहीद सप्ताह शुरु हुने गर्छ । सप्ताहको पहिलो दिन सोमबार शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौंको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका थिए ।  

शुक्रराजको जन्म विसं १९५० मा बनारसमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गरेका थिए । 

त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा सङ्गठन गर्न थालेका थिए । 

त्यसपछि नेपाल फर्किएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले विसं १९९४ मा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए । 

धार्मिक गतिविधिबाट जहानियाँ शासन विरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा विसं १९९४ मङ्सिर १३ गते इन्द्रचोकमा मानिसलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरेका थिए । 

राणाको विरोध गरेको यही आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । विसं १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । 

यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासन विरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरिबोटमा झुण्डयाएर प्राणदण्ड दिइएको थियो । 

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार सहिदको पूर्ण कदको शालिक उनीहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरिसकेको छ । 

यस वर्ष सहिद सप्ताहका अन्य कार्यक्रम माघ १३ गते सिफलमा शहीद धर्मभक्त माथेमाको शालिकमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरी मनाइने कार्यक्रम रहेको छ ।  

कोरोना महामारीका कारण यसपटक मन्तव्य कार्यक्रम भने राखिएको छैन । सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै सीमित पदाधिकारी उपस्थित भएर शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिने कार्यक्रम भने निरन्तर हुनेछ । 

१०४ वर्षे जहानिँया राणा शासनविरुद्ध आवाज उठाउँदा १३ माघ  १९९७ मा धर्मभक्त माथेमालाई तत्कालीन राणा शासकले सिफलमा फाँसी दिएको थियो । ९ असोज  १९६६ काठमाडौँको ओमबहालमा जन्मिएका माथेमा जेठ १९९३ मा नेपाल प्रजा परिषद् स्थापना गरी प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील थिए ।

प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका शहीदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदानको चर्चासहित शहीद सप्ताह मनाउने गरिएको छ । 

२०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीद सप्ताह मनाउन थालिएको हो । 

प्रजातन्त्र र स्वतन्त्रताको माग राखेका शुक्रराज शास्त्रीलाई १० माघ १९९७ मा काठमाडौंको टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । शहीद शास्त्रीलाई मृत्युदण्ड दिइएको दिन १० माघदेखि १६ माघसम्म शहीद सप्ताह मनाउने गरिएको छ । 

१३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा तत्कालीन राणाशासकले मृत्युदण्ड दिएको थियो । १६ माघलाई शहीद दिवसको रुपमा मनाउने गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ