काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघको विधिवत महाधिवेशनको माग गर्दै आएका आन्दोलनरत विद्यार्थी नेतालाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसलाई मिलाउने जिम्मा आफ्नो नभएको बताएका छन् ।
नेपाली काँग्रेसका नेताहरु भ्रातृ संगठन नेविसंघको आइतबारदेखि हुँदै गरेको महाधिवेशनका लागि गम्भीर नभएपछि पीडित नेताहरु अन्ततः नेताहरु भेट्न उनीहरुकै निवासमा पुगेको सन्दर्भमा पौडेलले आमरण अनसनरत विद्यार्थीको मागबारे बेवास्ता गरेका हुन् ।
पूर्व कोषाध्यक्ष कुन्दन काफ्लेको नेतृत्वमा गएको नेविसंघको टोलीलाई पौडेलले खासै वास्ता नदिइ पार्टीले निर्देशक समिति बनाएकाले त्यो समितिले नै काम गर्ने भन्दै पन्छिएका हुन् ।
आन्दोलित विद्यार्थीहरुले तपाई पनि जिम्मेवार नेता हो भन्दै कुरा गर्न खोजेपछि पौडेलसंग रहेका नेविसंघका नेताहरुले भने अभद्र व्यवहार गर्दै धेकेल्ने काम गरेको सहभागी नेता बलदेव तिमल्सिनाले जनाएका छन् ।
उनले भने ‘हामीले रामचन्द्र दाइको घरमा गएर यस्तो हुन्छ भन्ने सोचेकै थिएनौं । हामी त दुब्र्यवहारमा पो प¥यौं ।
पार्टी मुख्यालय सानेपामा पहिले रिले अनसन अनि पछि आमरण अनसन नै बसे पनि अहिलेसम्म पार्टीले माग सम्वोधन गर्ने कुनै लक्षण नदेखाएपछि विद्यार्थी नेताहरु पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमै पुगेका हुन् ।
हजारबढी नेविसंघका कार्यकर्ता काफ्लेको नेतृत्वमा नेताहरुको घरमा गएका हुन् ।
नयाँ सरकारमा कसलाई पठाउने भन्ने रस्साकस्सी चलिरहेका बेलामा नेविसंघका मागबारे उनीहरुलाई सोच्ने फुर्सद नभइरहँदा पीडित नेताहरु भने मुख्य नेताका ढोका ढक्ढक्याउन पुगेका हुन् ।
तर सरकारमै जानका लागि पदाधिकारी बैठक बसेका बेलामा नेविसंघका नेताहरु पुगेपछि उनीहरुका मागले मूर्तरुप लिने छाँट देखिदैन । गत शनिबारदेखि दुई विद्यार्थी नेताहरु आमरण अनसनमा बसिरहेका छन् । उनीहरुको अवस्था चिन्ताजनक छ ।
विधिवत महाधिवेशनको माग गर्दै आमरण अनसनमा बसेका नेताहरुको माग सम्वोधन हुने सम्भावना त कमजोर बनेको छ नै अब महाधिवेशन हुनेमै शंका छ ।
महाधिवेशन हुन दुई दिन बाँकी रहँदा अझै ११ जिल्लाको अधिवेशन नै गर्न बाँकी छ ।
अधिवेशन भएको भनिएका अन्य ११ जिल्लामासमेत विवाद छ । नेविसंघमा टिके प्रथा जारी रहेकाले विगत ९ वर्षदेखि महाधिवेशन हुन सकेको छैन ।