arrow

नागरिकका हरेक समस्या समाधानका लागि प्रहरीको साथ र सहयोग हर्नुपर्छ : प्रहरी महानिरीक्षक क्षेत्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
IGP.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको परिसर भित्र प्रहरी आवास गृह, भान्सा घर र हिरासत कक्ष शुभारम्भ भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त संरचना शुभारम्भ गरेका हुन् ।

नव निर्मित भौतिक संरचनाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीलाई उपयुक्त कार्य वातावरण प्रदान गरेको र जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी कर्मचारीहरूको अव्यक्त पीडाहरू अन्त्य हुने र कास्की प्रहरीको कार्यसम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ । 

कास्की प्रहरीका लागि उच्च प्राथमिकतामा रहेका लागूऔषध दुर्व्यसनी तथा ओसारपसार, नियन्त्रण र आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रहरीले सरोकारवाला निकायको सहकार्यमा गाउँ-गाउँ र घर-घरमा पुगेर निरोधात्मक र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरी आएको बताइन्छ । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक क्षेत्रीले समाज सेवामा आबद्ध नेपाल प्रहरी सङ्गठनमा नागरिकका हरेक समस्या समाधानका लागि साथ र सहयोग हर्नुपर्ने बताए । 

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले बोलेका थिए । 

प्राविधिक प्रहरी नायव उपरीक्षक ई. केबिनजङ्ग थापाका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको आफ्नै साढे १० रोपनी जग्गामा हिरासत भवन, ब्यारेक भवन र सिनियर प्रहरी अधिकृत आवास निर्माण भएको हो । उनका अनुसार सबै संरचना निर्माण गर्दा ८ करोड २० लाख ४१ हजार ८४३ रुपैयाँ ४८ पैसा खर्च भएको छ । 

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्तिपूर्ण वातावरण निर्माण गर्ने कार्यमा नेपाल प्रहरीसँग सहकार्य गर्ने समाजसेवी तथा भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने सहयोगी व्यक्तित्वहरूलाई सम्मानार्थ कदर पत्र र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई प्रशंसा पत्र प्रदान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ