- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिद्धान्त विनाको राजनीतिले शक्तिलाई महत्व दिन्छ । राजनीतिका हरेक निर्णयहरु सत्ता, शक्ति र पैसालाई केन्द्रविन्दुमा राखेर गरिन्छ । अनि ‘प्रेम र युद्धमा सबै जाहेज’ भने जसरी सिद्धान्त, नैतिकता र इमान्दारीलाई बन्धक बनाएर राजनीतिको नाममा ‘छलनीति’ शुरु हुन्छ ।
केपी शर्मा ओलीको दुईतिहाईको दम्भबाट शुरु भएको सर्वसत्तावादी चरित्र र व्यवहारले शेरबहादुर देउवा, माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई एक ठाँउमा उभ्यायो । यो गठबन्धन ओलीको सर्वसत्तावादको लागिमात्र नभएर नेपाली राजनतीमा भविश्यमा समेत आउन सक्ने सबै प्रकारका सर्वसत्तावादको विरुद्धको लागि पनि जरुरी थियो ।
आज सत्तागठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा कम्युनिष्ट व्यवहार नभएका तर कम्युनिष्ट चिन्तनबाट प्रशिक्षित समूहहरु हुन् । ओली जस्तै सर्वसत्तावादका हिमायती यी घटकहरुले लोकतन्त्रलाई तत्काल गरिखाने भाँडो त बनाएका छन् तर लोकतन्त्रलाई आत्मसाथ गर्न सकेका छैनन् ।
यी तिनै घटकको राजनीतिक दस्तावेज हेर्ने हो भने प्रष्ट हुन्छ की नेपालमा विद्यमान लोकतन्त्रको रक्षा यिनले गर्ने छैनन् । यसर्थ नेपालमा लोकतन्त्रको रक्षाको लागि सधै अग्रणी भूमिकामा रहने पार्टी भनेको नेपाली कांग्रेस नै हो । यो अवस्थामा यिनै कम्युनिष्टहरुको सहयोगमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको भूमिकामा रहेका छन् ।
नेपालको राजनीतिमा प्रधानमन्त्री देउवा त्यस्ता पात्र हुन् जसले सिद्धान्त र नैतिकतालाई भन्दा सत्ता र शक्तिलाई महत्व दिन्छन् र त्यसकै आधारमा निर्णय गर्दै आएका छन् । त्यो सत्ता र शक्ति पनि आफू केन्द्रीत हुन्छ नकि पार्टी तथा गुट ।
अबको एक वर्ष यी तीन कम्युनिष्ट घटकहरुले घेरिएका प्रधानमन्त्री देउवाले लोकतान्त्रिक परिपाटीको विकासको पक्षमा निर्णयहरु गर्नेछन् कि त्यही सत्ता र शक्ति संचयतर्फ नै अगाडि बढ्ने छन् । यसले नै नेपालको लोकतान्त्रिक परिपाटीको विकासको मार्गचित्र कोर्ने देखिन्छ ।
नयाँ संविधान पछिको अबको बाटो राजनीतिक क्रान्ति नभएर आर्थिक क्रान्ति हो भनेर नथाक्ने नेताहरुले कहिल्यै पनि आर्थिक क्रान्तिको बाटो देखाउन सकेका छैनन् । लोकतान्त्रिक परिपाटीको विकास विना आर्थिक क्रान्तिको बाटोको जग बस्न सक्दैन पनि ।
लोकतन्त्रको नाममा सिद्धान्तहीन गठबन्धनदेखि अनैतिक आचरणमा रमाउने नेपालको राजनीतिक पाटीहरुले लोकतन्त्रलाई देशमा र विदेशमा पनि मागी खाने भाँडो शिवाय केही बनाएको देखिँदैन ।
एमाले ओलीले हिजो गरेको संसद विघटनदेखि सबै सर्वसत्तावादलाई सही थियो भनेर प्रमाणित गर्न लागिपरेको छ । उसलाई नत संसदीय मर्यादाको ख्याल छ न लोकतानित्रक परिपाटी । लगातार संसद नै चल्न नदिएर अल्पायुमा नै यो संसदलाई मार्नु उसको प्रमुख लक्ष्य देखिन्छ ।
एकीकृत समाजवादी चुनावको नामबाटै तर्सिन्छ । उसलाई जसरी नि चुनाव सार्नु छ । कुनै पनि चुनावमा आफ्नो सीमित वर्चश्व दिन नसक्ने आँकलनमा रहेका उनीहरु सकेसम्म अर्को एक वर्ष चुनाव नगरेर सत्तामा रमाउन चाहन्छन् । केही शक्ति निर्माण पनि गर्न सकिन्छ की भन्ने आशमा छन् ।
माओवादी केन्द्र त्यस्तो पार्टी हो जसले सके त यो संसद नि विघटन गर्ने अनि चुनाव पनि नगरी एक दुई वर्ष पछि सार्न पाए रमाउँथ्यो । अनि राजनीतिक संयन्त्रको नाममा सत्ता कब्जा गर्न पाइयोस् ।
आजसम्म जनयुद्धको ‘ह्याङओभर’ मै रहेको यो पार्टी आगामी चुनावबाट बाँकी रहेको सीमित अस्तित्व पनि गुम्ने डरमा राता फेटा गुथेका वाईसीयल ब्यूँताएर जनता तर्साउन लागेको देखिन्छ ।
यो परिस्थितीमा कांग्रेसमात्र त्यस्तो पार्टी हो जसले नेपालको संविधान, कानून, अन्तर्राष्ट्रिय संसदीय प्रणालीको रक्षा गर्न सक्ने र रक्षा गर्नको लागि नेतृत्व लिनु पर्ने देखिन्छ ।
विडम्बना आज प्रधानमन्त्री देउवा तीन कम्युनिष्ट पार्टीहरुको घेरामा छन् । यी कम्युनिष्ट पार्टीहरु लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न वाध्यताले राजी देखिए पनि सैद्धान्तिक रुपमा चाहँदैनन् पनि ।
आज चुनावको विषयमा जुन बहस शुरु भएको छ यो बहस नै गलत र लोकतान्त्रिक पद्धतिको संस्थागत गर्ने भन्दा तहसनहस गर्नको लागि गरिएकोछ । संविधानले स्पष्ट रुपमा व्यवस्था गरेको आवधिक चुनाव कुनै बहसको विषय नै होइन । चुनाव संविधानले तोकेको समयमा हुनुपर्छ ।
यहाँ बहस कोराना महामारीका कारण कसरी सुरक्षित रुपमा चुनाव गर्न सकिन्छ भन्ने हुन सक्छ । तर चुनाव सार्ने होइन । कम्युनिष्ट पार्टीहरुको अस्तित्व र सत्ता स्वार्थको आधारमा गरिएको विश्लेषण र चाहनाको आधारमा संविधान, कानून र संसदीय प्रणालीकै बर्खिलाप हुने विषयमा गरिएको बहस नै नेपालको लोकतान्त्रिक पद्धतिको विरुद्धमा देखिएको छ ।
यहाँ अर्को पाटो भनेको प्रधानमन्त्री देउवाको नियत र उनले हिजोका दिनमा गरेका राजनीतिक व्यवहार हो । कतै केही महिना बढी सत्ता लम्ब्याउने खेलमा तिनै कम्युनिष्टहरुले उनलाई जालमा पार्ने त होइनन् केही शंका गर्ने आधार छ ।
सत्ता र शक्तिलाई बढी महत्व दिने प्रधानमन्त्री देउवा सचेत हुनु पर्ने र कांग्रेसको हिजोको विरासतलाई अगाडि बढाउँदै नेपालको लोकतन्त्रको पहरेदारको रुपमा रहन दृढ हुन अति जरुरीछ ।
यसका लागि प्रधानमन्त्रीले सत्ता र शक्तिको मोह त त्याग्नु पर्छ नै पदकै लागि कम्युनिष्टहरुको स्वार्थको रक्षाकबज हुनु हुँदैन ।