काठमाडौं । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा दाहालले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ दिएका हुन् ।
उनले देश र जनताका नाममा सपथ लिए । पूर्वाग्रह नराख्ने र इमान्दारीपूर्वक देश र जनताको हितमा काम काम गर्ने सपथ खाए । दाहालले कोट पाइन्टमा सपथ लिए ।
दाहालले आजै पदभार सम्हाल्ने छन् । दाहालसंगै दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई समेत राष्ट्रपतिले सपथ ग्रहण गराइन् । यस्तै, मन्त्रीहरु रमेश लेखक, दलजीत श्रीपाली र गौरीशंकर थारुले समेत राष्ट्रपति समक्ष सपथ लिएका छन् ।
माओवादी केन्द्रबाट कृष्णबहादुर महरा उपप्रधान तथा अर्थ, गौरीशंकर थारु कृषि मन्त्री र दलजीत श्रीपाली युवा तथा खेलकुद मन्त्री छन् । कांग्रेसबाट विमलेन्द्र निधि गृहमन्त्री र रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् ।