काठमाडौं । फुटबल इतिहासमा ब्राजिलको विश्वकै पावर हाउस मानिन्छ । ब्राजिल पाँच पटकको विश्वकप विजेता हो । हरेक प्रतियोगितामा ब्राजिललाई मुख्य दाबेदारका रूपमा हेरिन्छ । अर्को अर्थमा फुटबल पण्डितहरु ब्राजिललाई फुटबलको बादशाह भन्दछन् ।
पछिल्लो समय ब्राजिलको फुटबल स्तर केही खस्किएको छ । २०१४ को विश्वकप र केही महिनाअघि मात्र सम्पन्न कोपा अमेरिका फुटबलमा ब्राजिल गर्जिन सकेन भनौं वा ब्राजिलका लागि यी दुई प्रतियोगिता सुखद् रहेनन् ।
यतिखेर ब्राजिल पुनः महत्वपूर्ण प्रतियोगिता खेल्न होमिएको छ । उसलाई अवसर बनेको छ । रियो ओलम्पिक २०१६ । आफ्नै होम टाउनमा भइरहेको रियो ओलम्पिकको फुटबलमा उसले स्वर्ण जित्ने सपना बुनेको छ । पुरूष होस् वा महिला ।
रियो ओलम्पिक २०१६ अन्तर्गत फुटबल पुरुष इभेन्टका खेल विहिबारबाट सुरू हुँदै छन् । विश्व फुटबलको ध्यान यतिखेर ब्राजिलको रियो दि जेनेरियोतर्फ मोडिएको छ । यो प्रतियोगिताको स्वर्ण पदकको दावेदार धेरैले ब्राजिललाई देखेका छन् । यसको आकर्षण ब्रजिलियन चर्चित स्टार नेमार ।
ब्राजिलले अहिलेसम्म ओलम्पिकको पुरूष फुटबलमा स्वर्ण जितेको छैन । त्यसैले पनि यो ओलम्पिकको स्वर्ण ब्राजिलका लागि खास हुनेछ । ब्राजिलको स्वर्ण सम्भावना भने बार्सिलोना स्ट्राइकर नेमारको काँधमा छ ।
नेमार नै किन ?
२०१४ को विश्वकप सेमिफाइनल खेलमा जर्मनीसँगको ७–० को पराजय ब्राजिलका लागि इतिहासको विर्सन योग्य प्रदर्शन रहयो । ब्राजिलको सो पराजयलाई धेरैले नेमारको अभावसँग जोडे । सो खेल नेमारले चोटग्रस्त भएकै कारण खेल्न पाएनन् ।
२४ वर्षीय बार्सिलोना स्ट्राइकर नेमार आफ्नो घरेलु टोली ब्राजिलबाट रियो ओलम्पिक खेल्ने तयारीमा छन् । नेयमार यतिखेर उत्कृष्ठ फर्ममा छन् । उनी सकेसम्म ब्राजिललाई स्वर्ण दिलाउने कसरतमा हुने छन् । धेरैले आशा गरेको पनि त्यही हो ।
टिमको लिडरसिप पनि नेमारले नै समाल्ने छन् । नेमारलाई खेलको वेल फिनिसरको रूपमा पनि हेर्न सकिन्छ । पाएको मौकाहरूलाई गोलमा परिणत गर्ने खुवि उनमा छ । स्पेनिश क्लब बार्सिलोनासँग आवद्ध नेमारसँग खेलको गहिरो अनुभव पनि छ । ओलम्पिककै लागि भनेर ब्राजिलले नेमारलाई कोपा अमेरिका कपमा समेत खेलाएको थिएनन् ।
अर्को कुरा भनेको घरेलु मैदान र घरेलु दर्शक । यि दुबैको फाइदा ब्राजिलले उठाउन सक्नु पर्छ । ब्राजिलले यो अवसरलाई सदुपयोग गर्ला ? त्यसको प्रारम्भिक संकेत भने राति पौने १ बजे दक्षिण अफ्रिकाविरूद्ध हुने खेलको नतिजाले दिनेछ ।