arrow

प्रशासनको आदेशले रोकिएनन् तीर्थालु, त्रिवेणीधाममा भीड

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ माघ १८ मंगलबार
IMG_20220201_083204-scaled (1).jpg

त्रिवेणीधाम । स्थानीय प्रशासनले माघे औंशीका अवसरमा  त्रिवेणीधाममा मेला नलगाउने र तीर्थालुलाई रोक लगाउने निर्णय गरे पनि नेपाल भारतका हजारौँ भक्तजन त्रिवेणीधाम आइपुगेका छन् । प्रहरीले त्रिवेणी प्रवेशमा रोक लगाए पनि विभिन्न बाटो हुँदै तीर्थालु त्रिवेणीमा स्नानका लागि आएका हुन् । माघे औंशीको अघिल्लो दिन सोमबारबाटै यहाँ मेला लागेको छ । 

सशस्त्र प्रहरी बलका निरीक्षक सन्तोष थापाले भीड कम गर्न र तीर्थालुलाई रोक्न आफूहरुले भरपुर प्रयास गरे पनि असफल भएको बताए । उनले अघिल्लो वर्ष भन्दा निकै कम भक्तजन आए पनि पूर्णरुपमा मेला रोक्न नसकिएको बताए । 

‘धार्मिक आस्थाको अघि हाम्रो पनि केही सीप लागेन’ उनले भने, ‘हामीले भीड कम गर्न प्रयास गरिरहेका छौं ।’ 

भारतको बिहार, उत्तरप्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजनहरु यहा स्नान गर्न र पूजापाठ गर्न आएका हुन् । कोरोना महामारीको बेवास्ता गर्दै भक्तजनहरु त्रिवेणीधाममा दर्जनौं मठमन्दिरमा रातभर भजनकिर्तन गरेर रात कटाएका छन् । 

यहाँका मठमन्दिरमा मंगलबार बिहानैदेखि पूजापाठ र भजन किर्तन गर्नेको घुँइचो लागेको छ । प्रशासनले मेला लाग्न नदिन उर्दी जारी गरे पनि भक्तजनहरु यहाँ ओइरिएका छन् । 

त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिब्यधामका स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार आज माघे औँशीमा त्रिवेणीधाममा स्नान गर्न देवताहरुसमेत आउने जनविश्वास रहेकाले यो औँशीमा यहाँ स्नान गर्नाले पून्य मिल्ने परापूर्वकालदेखिको विश्वास रहेको छ । त्रिवेणीधाम बजारबाट २ किलोमिटर उत्तरमा रहेको गजेन्द्र मोक्षदिब्यधाममा दर्शनार्थीको घुइँचो लागेको छ । यो यहाँको सबैभन्दा ठूलो र भब्य मन्दिर हो । 

स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाम भएकाले र महिनाहरुमा माघ श्रेष्ठ महिना भएका कारण औँशीका अवसरमा बाबुआमा नहुनेले यहाँ श्राद्ध गर्ने, र दान दिने चलन रहेको छ ।

गजेन्द्रमोक्षधामका स्वामी कृष्णप्रपन्नाचार्यका अनुसार त्रिवेणीधाम बाल्मिकी ऋषिको तपोभूमि, लबकूशको जन्मस्थल, सीतामाता धर्तीमा पाताल प्रवेश गरेको स्थल भएकाले यो स्थान प्राग ऐतिहासिक स्थल हो । रामायणको रचना गरेको स्थल पनि त्रिवेणीधाम हो । यसैले त्रिवेणीधामको ठूलो महत्व छ । 

भगवान मुक्तिनाथको चरणपादुका स्थल पनि भएकाले यस्को ठूलो धार्मिक महत्व रहेको छ । हाती र गोहीको लडाइमा भगवान नारायणले अबतार लिएको स्थान गजेन्द्रमोक्ष धाम हो । नारायणी नदीमा बिहानैदेखि भक्तजनहरुको घुइचो लागको छ । त्रिवेणीका भित्री सडकहरुमा मेला लागेको छ । 

औँशीमा नारायणी नदीमा स्नान गरेर गौदान, तिलदान ,गुणदान गर्नाले विशेष पूण्य मिल्ने विश्वासमा भक्तजनहरु आउने गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ