काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशनको लागि उम्मेदवारहरूले आ–आफनो उम्मेदवारीको तयारी र प्रचारप्रसार गर्ने क्रम जारी रहेको छ । त्यसका साथै महाधिवेशन स्थल भृकुटीमण्डप पनि बेहुली जस्तैगरी सिँगारिँदै छ ।
आफ्नो भातृ संस्था भएकोले नेविसंघको महाधिवेशनको लागि लाग्ने सबै खर्च माउ पार्टी नेपाली काँग्रेसले नै बेहोर्ने भन्दै जिम्मा समेत लिईसकेको छ । महाधिवेशनको उद्घाटनको दिन नजिकिँदै जाँदा अब प्रतिनिधिहरूको लागि समेत खानबस्नको लागि पार्टीले बेहोर्ने भनेको पैसा कुन शीर्षकमा कति खर्च हुँदैछ त भन्ने विषय पनि चासोको विषय बनेको छ । नेपाली काँग्रेसले मोटामोटी रूपमा नेविसंघको लागि कूल एक करोड ८५ लाख लाग्ने अनुमान गरेको नेविसंघ अध्यक्ष रञ्जित कर्णले जानकारी दिए । संभवत यति धेरै खर्च गरेर कुनै पनि माउ पार्टीले भात्तृ संघको अधिवेशन गर्न लागेको पहिलो पटक भएको कतिपयले भन्न थालेका छन् । आवास खर्च, हलभाडा, खाना खर्च र निर्वाचन समितिले गर्ने प्रचारप्रसारको खर्चको लागि भनेर पार्टीले यति रकम दिन लागेको हो । जस अन्तर्गत् देशभरबाट आउने कूल ३२ सय प्रतिनिधिको लागि खाना बापत ४ दिनको प्रतिव्यक्ति ५ सयको दरमा ६४ लाख रूपैयाँ तिर्नको लागि पार्टीले निर्देशन समितिलाई जिम्मा दिईसकेको छ।
त्यस्तैगरी, आवासको लागि सोही संख्यामा रहेका प्रतिनिधिहरूको लागि ९० लाख, निर्वाचन समितिले गर्ने प्रचारप्रसारको लागि ५ लाख र मञ्च व्यवस्थापनको लागि ५ लाख रूपैयाँ र हल बुकिङको लागि ८ लाख लाग्ने अनुमान गरिएको नेविसंघले जनाएको छ । मसलन्द खर्चको नाममा बाँकी १३ लाख रूपैयाँ खर्च गरिनेछ । यती रकम खर्च गरेर पार्टीले जिल्लागत प्रतिनिधिहरूको लागि भिन्दाभिन्दै गौशला, ठमेल, बागबजार लगायतका होटलहरूमा कोठा बुकिङ गर्ने तयारी गरेको भएपनि अहिलेसम्म कुन् होटलमा कोठा लिने भन्ने विषयमा अझै टुङ्गो लागेको छैन । यसरी तोकिएको रकममा शुक्रबारसम्म पार्टीले २२ लाख रूपैयाँ पेश्की दिईसकेको छ।
त्यसभन्दा अगाडि नै साढे दुई लाख रूपैयाँ हल बुकिङको लागि दिईसकेको छ । भने बाँकी रकम निकाशा भएको छैन । यसरी महाधिवेशनको अन्यौलता सिर्जना गर्ने गरी एक पक्ष फर्जी प्रतिनिधि हटाएर बिधि सम्बत अधिवेशन हुनु पर्ने भन्दै अनसनमा बसिरहेको भएपनि पार्टीले भने महाधिवेशनको लागि पैसा समेत खर्च गर्न थालिसकेको छ । अझ व्यक्तिगत उम्मेदवारहरूको प्रचारप्रसारको शैली र त्यसको रकमको कुरा गर्दा त झनै आत्तिनु पर्ने स्थिति रहेको छ । अहिले नै कतिपय नेताहरुले प्रचार प्रसार तिर्व्र पार्दै र कार्यकर्ताहरुलाई होटलमा राख्दै तडक भडक सुरु गरेका छन् । यिनिहरु सबैको खर्च जोड्ने हो १० करोड नाग्ने नेबि संघका जानकार एक प्रतिनिधिले बताए ।