- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आइतबार बसेको कोभिड- १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले फागुन १ गतेदेखि विद्यालय खोल्न सकिने गरी सिफारिस गरेको थियो । सोही अनुसार फागुन १ गतेदेखि विद्यालयहरू सञ्चालनमा आउने भएका छन् ।
यद्यपि, कोरोना भाइरसको संक्रमण दर आइतबार (हिजो) १५.० देखिएको छ । संक्रमण न्यून भयो भन्नका लागि संक्रमण दर ५ प्रतिशत भन्दा तल झरेको हुनु पर्ने विज्ञहरूको भनाइ छ ।
संक्रमण दर उच्च नै रहेको बेला विद्यालय खोल्दा कोभिड१९ सङ्क्रमणको जोखिम झनै बढ्न सक्ने चिन्ता एकथरी अभिभावकहरूले गरेका छन् ।
सीसीएमसीसीले १२ वर्षमाथिका सबैजसो विद्यार्थीहरूले खोप लगाइसकेका कारण उनीहरूको पढाइ नियमित सञ्चालन गर्न सकिने गरी सिफारिस गरेको थियो ।
१२ वर्ष तलका बालबालिकाको हकमा कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्न सीसीएमसीसीले आग्रह गरेको छ ।
कति जोखिमपूर्ण ?
विद्यालय खोल्नाले जोखिम बढाउँछ भन्दा पनि अहिलेको अवस्था कस्तो छ भनेर बुझ्न जरुरी रहेको डा शेरबहादुर पुनको भनाइ छ ।
अहिलेको अवस्थामा संक्रमण घटेका कारण स्थिति केही सामान्य भएको डा पुनको भनाइ छ । उनले भने, 'धेरै भन्दा धेरै (मानिस) संक्रमित भइसकेका छन्, हिजो अस्ति संक्रमित भएपछि बाहिर हिन्दैमा फेरि संक्रमित भइहाल्ने भन्ने पनि हैन ।'
'अलि चिन्ता भनेको संक्रमित भई त सके धेरै भन्दा धेरै जो अलि घरमा बसेका छन्, जो अलि जेष्ठ नागरिक, दीर्घ रोगी छन्, अथवा खोप नलगाएकाहरूलाई समस्या हुन्छ भन्ने अहिलेको मुख्य चिन्ता हो । उनीहरूको स्वास्थ्य अवस्था के कस्तो छ भनेर हेर्नुपर्ने कुरा म सधैँ भन्दै आएको छु', डा पुनले भने ।
उनले विद्यालयहरू खोल्नै नहुने भन्ने नभएको बताएका छन् । 'अब, (विद्यालय) खोल्नै नमिल्ने, सधैँ यस्तै अवस्था हुनुपर्छ भन्ने जरुरी छैन, हरेक कुरालाई सावधानीपूर्वक सतर्कका साथ गरेर दैनिकीमा त फर्किनै पर्छ । फ्याक्ट पनि के छ भने धेरै भन्दा धेरैले एक डोज खोप लगाइसकेका छन्, बालबालिकालाई पनि तीव्र गतिमा खोप लगाउने काम भइरहेकै छ', उनले भने ।
'यी सबै कारणले गर्दा खेरी खोल्ने बित्तिकै फेरि अहिलेको अहिले जुन उत्कर्षमा १२ हजारको हाराहारीमा पुगेर खस्केको अवस्था देखिन्छ, युटर्न भएर त्यतातिर उछल्ने सम्भावना अब देख्दिन, कम्तीमा ओमिक्रोनकै कारणले', डा. पुनले भनेका छन् ।
उनले अघि भने, 'त्यसकारण (स्कुल) खोल्दा खेरी अहिलेको अवस्थामा धेरै फरक पर्छ जस्तो मैले देख्दिन।'
के भन्छन् प्याब्सन, एनप्याब्सनका अधिकारी ?
कोभिड १९ बाट बच्न हामीले पारिवारिक अवस्थाभित्रबाटै गर्न सकिने मापदण्ड अपनाएर जोगिनु पर्ने राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) का अध्यक्ष रितुराज सापकोटाको भनाइ छ ।
एउटै किचेन, एउटै ट्वाइलेट बाथरुम प्रयोग गर्ने हुँदा आमाबुबा संक्रमित हुँदा छोराछोरीलाई जोगाउन सकिने अवस्था हाम्रो पारिवारिक अवस्थाकै कारणले नरहेको उनको भनाइ छ ।
'घरघरमा त यो स्थिति छ भने, स्कुलमा पनि हामीले हाम्रा क्रियाकलाप चाहिँ कोभिड रेस्पन्सिभ नै बनाउनु पर्छ, स्वास्थ्य मापदण्ड अपनाउनै पर्छ, हनहनी ज्वरो आएको बालबालिकालाई विद्यालय आउन दिनु भएन । स्यानिटाइजरका कुराहरू, एकै कक्षामा धेरै विद्यार्थी छन् भने टेम्प्रोरी रूपमा दुइटा सेक्सन गरेर पनि गर्ने', एनप्याब्सनका अध्यक्ष सापकोटाले भने ।
'कोभिड रेन्सपन्सिब हाम्रो गतिविधि हुनुपर्ने जरुरी छ, समाजका अन्य अव्यबहरु हाम्रो समाज, हाम्रो बजार सबै खुल्या छ, त्यो स्थितिमा विद्यालयले मात्रै सार्छ भन्ने चाहिँ अलिकति उपयुक्त ठान्दिन', उनले भने ।
बजार खुला छ, कार्यस्थल खुला छ, घरका ठुला व्यक्ति (आमाबुबा)हरू बाहिर गएर आउँछन्, उनीहरूबाट बालबालिकामा संक्रमण फैलिने अवस्था पनि रहेको उनको बुझाइ छ ।
त्यसकारण विद्यालयको शिक्षकले दुवै डोजको खोप लाए नलाएको निश्चित गर्नुपर्ने, र त्यहाँ आउने भिजिटरको हकमा पनि खोप लाए, नलाएको हेरेर मात्रै प्रवेश गर्न दिनेजस्ता गतिविधि अपनाउनु पर्ने उनको भनाइ छ ।
१२ देखि १७ उमेर समूहको ८८ प्रतिशतले खोप लगाइसकेका कारणले त्यो समूहका बालबालिकाहरू सुरक्षित रहेको उनको भनाइ छ । 'शिक्षकहरूले पनि दुई डोज खोप लगाइसकेको छ, दुई डोज खोप लगाएकोले फुटबल हेर्न जान पाउने, रेस्टुरेन्टमा जान पाउने, तर दुई डोज लगाएको शिक्षकले विद्यालय पढाउन नपाउने भन्ने पनि हुन्छ र ?' उनले प्रश्न गरे ।
विद्यालय खोल्दैमा संक्रमण जोखिम निक्कै बढ्छ भन्ने आफूलाई नलागेको निजी तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) का अध्यक्ष टिकाराम पुरीको भनाइ छ ।
पहिलो लहरका बेला त्यो बेलामा ३५ सयको हाराहारीमा दैनिक नयाँ थपिने संक्रमित हुँदा विद्यालय खोलेका र त्यति बेला कसैले खोप नलगाएको उनको भनाइ छ । दोस्रो भेरियन्ट आउँदा २५ सयको हाराहारीमा संक्रमित सङ्ख्या रहँदा विद्यालय खोलेको उनको भनाइ छ ।
'अहिले त १७ सयको हाराहारीमा रहँदा विद्यालय खोल्ने निर्णय भएको हो । यो नेपालमा मात्रै नभएर इन्डियामा यो भन्दा बढी संक्रमित हुँदा पनि त्यहाँ विद्यालय सञ्चालन भएका छन्', प्याब्सनका अध्यक्ष पुरीले भने ।
'अहिले चाही हामीले त्यस्तो जोखिम देखेका छैनौँ, तथापि स्वास्थ्य सम्बन्धी मास्क, स्यानिटाइजर, बढी भिडभाड नगर्ने विद्यालयका बसमा पनि आलोपालो गर्ने थोरै सङ्ख्यामा विद्यार्थी राख्ने गरेर विद्यालय खोल्नुको विकल्प छैन, हामी स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर र पुरानो अनुभव र सिकाइ समेत रहेका कारण सोही अनुसार विद्यालय सञ्चालन गर्दा कुनै जोखिम छैन', उनले भने ।
के भन्छ सीसीएमसीसी ?
अहिले संक्रमण घट्दै गएका कारण स्वास्थ्य मापदण्डको पालना गरेर विद्यालय खोल्न सकिने गरी सिफारिस गरिएको सीसीएमसीसीकी प्रवक्ता एवं सहसचिव सुनिता नेपालले बताएकी छिन् ।
संक्रमण बढ्दै गएमा फेरि सीसीएमसीसीले अवस्था हेरेर विद्यालय बन्द गर्नका लागि सिफारिस गर्न सक्ने उनको भनाइ छ ।
माघ ८ गते ५०.८ प्रतिशत देखिएको कोरोना भाइरसको संक्रमण दर हिजो अर्थात् माघ २३ गते घटेर १५.० प्रतिशत देखिएको छ ।
संक्रमण घट्दै गएपछि काठमाडौं उपत्यकामा सवारी साधनका हकमा लागु भएको जोरबिजोर प्रणालीसमेत हटिसकेको छ ।