काठमाडौं । नेपाली सञ्चारमाध्यमहरूलाई व्यवस्थित गर्नको लागि खुलेको प्रेस काउन्सिल नेपाललाई एक अध्ययनले नयाँ पत्रकारलाई यो क्षेत्रमा प्रवेश गर्नको लागि अनिवार्य स्नातक उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्न सुझाव दिएको छ । शुक्रबार काठमाण्डौमा भएको एक कार्यक्रमकाबीच आचारसंहिता योग्यता परीक्षण कार्यदल–२०७२ ले यस विषयमा अध्ययन गरी बुझाएको प्रतिवेदनमा पत्रकार बन्नको लागि योग्यता परीक्षण गर्नुपर्ने सुझाव दिएको हो ।
कार्यदलले पत्रकारिता व्यवसायको लागि योग्यता परीक्षणको व्यवस्था नहुँदा दिनप्रतिदिन मिडियाको गुणस्तर खस्किँदै गएको भन्दै योग्यता परीक्षणको व्यवस्थागर्न सुझाव दिएको हो । सुझावमा एसएलसी पास भएर नियम बन्नुभन्दा अगाडि पत्रकारिता गर्दै आएका र पत्रकारिता या त अन्य विषयमा स्नातक उत्तीर्ण गरेकाहरू पत्रकार बन्नको लागि योग्यता परीक्षणमा सहभागी हुन पाउने व्यवस्था गर्नु पर्ने पनि उल्लेख छ । यसरी परीक्षण लिनको लागि एउटा छुट्टै समिति बनाउने र परीक्षणबाट उत्तीर्ण भएका पत्रकारलाई प्रमाणपत्र दिनुपर्ने व्यवस्था गर्न पनि सुझाव दिएको छ ।
२०७२ साल फाल्गुन १९ गते गठन भएको उक्त समितिमा सर्वाेच्च अदालतका पूर्व रजिस्ट्राड डा. रामकृष्ण तिमल्सिनाको संयोजकत्वमा पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल, नागरिक दैनिकका सम्पादक गुणराज लुईँटेल सदस्य रहेका थिए भने काउन्सिलका तात्कालीन उपप्रशासकीय अधिकृत दीपक खनाल सचिव रहेका थिए ।