arrow

क्रिकेट टोलीलाई प्रधानमन्त्रीको विदाई

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
prachandacricketteam.jpg.jpeg
काठमाडौँ। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको नेदरल्यान्ड्सविरुद्वको खेल खेल्न जाने नेपाली क्रिकेट टोलीलाई आज प्रधानमन्त्री पुष्पकमल दाहालले विदाई गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले टोलीलाई सफलताको शुभकामना दिँदै क्रिकेट विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।
 
दाहालले खेल क्षेत्रले नै राष्ट्रिय एकतालाई मजबुत गर्ने भन्दै बालुवाटार प्रवेशको पहिलो दिनमा नै क्रिकेट खेलाडीलाई विदाई गर्नु आफ्ना लागि सुखद सुरुवात भएको विचार व्यक्त गरे । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले टोलीको जित नै आम नेपालीको जित हुने भन्दै खेलकुद क्षेत्रमा भएको विभिन्न समस्याको पहिचान गरी त्यसको समाधान गर्ने प्रतिबद्वता व्यक्त गरे ।
 
नेपाली टोलीका कप्तान पारस खड्काले टिम ब्यालेन्समा भएकाले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने विश्वास व्यक्त गरे । नेपालले नेदरल्याण्ड्ससँग दुई खेल खेल्नेछ । यही साउन साउन २९ गते पहिलो तथा ३१ गते दोस्रो खेल खेल्नेछ । यसअघि तीन चरणमा ६ खेल खेलेको नेपालले ४ अङ्क जोडेको छ ।
 
विश्व क्रिकेट लिगको अङ्क तालिकामा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँग १० अङ्क छ । उसले अहिलेसम्म खेलेका छ मध्ये चारमा जित हात पारेको छ भने दुई खेलमा अङ्क बाँडेको छ । त्यस्तै नौ अङ्क भएको हङकङ दोस्रो, सात अङ्क भएको स्कटल्यान्ड तेस्रो तथा छ अङ्क भएको केन्या चौथो स्थानमा छ । नेपालकै जति समान चार अङ्क भएको पपुवा न्युगिनी रनरेटको आधारमा पाँचौ स्थानमा छ । २-२ अङ्क भएका नामिबिया र युएई क्रमशः सातौं र आठौँ स्थानमा छन् । 
 
गत वैशाख ४ र ६ गते घरेलु मैदानमा नामिबियाविरुद्धका दुई खेल जित्दै नेपाल अङ्कतालिकाको पुछारबाट पाँचौ स्थानमा उक्लिएको हो । नेपालको अङ्कतालिकामा अहिले चार अङ्क छ । 
 
नेपाल यसअघि पहिलो र दोस्रो चरणमा स्कटल्यान्ड र पपुवान्युगिनीसँग लगातार चार खेलमा पराजित भएको थियो । 
सन् २०१५ देखि २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाललगायत ८ एसोसियट मुलुकका टोलीबीच होम एन्ड अवेको अवधारणामा प्रत्येकले १४ खेल खेल्नेछन् । त्यसमध्येका शीर्ष चार टोलीले सन् २०१९ मा इङल्यान्डमा हुने एकदिवशीय विश्वकपको छनौट चरण खेल्न पाउनेछन् । 
 



नयाँ