arrow

डिआइजी रंजितकारलाई कुन जिल्लाबाट कति पुग्छ नजराना, मासिक डेढ करोड उठाउन को को खटिएका छन् घुमुवा ?

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०७८ माघ २९ शनिबार
dig-police-umesh=province-2.jpg

वीरगन्ज। मधेश प्रदेशमा सीमा तथा भन्सार सुरक्षाको जिम्मा लिएका जिम्मेवारहरू नै सङ्गठित रूपमा तस्करीमा संलग्न रहनु विडम्बना बन्दै गएको छ। केही समय अघि सशस्त्रका मधेश प्रमुख डिआइजी गणेश ठाडामगरले दिएको तस्करीको लाइनबारे हाम्राकुराले समाचार प्रकाशित गरेको थियो। तस्करीको लाइन खुलाउन सशस्त्रसँगै नेपाल प्रहरीको मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उमेश रंजितकार पनि उत्तिकै संलग्न रहेको पाइएको छ। स्रोतहरूको दाबी अनुसार तस्करीको 'लाइन'बाट रंजितकारले मासिक लगभग डेढ करोड रुपैयाँ बुझिरहेका छन्। 

पर्साबाट ३५, बाराबाट २५, रौतहटबाट २५, सर्लाहीबाट २०, महोत्तरीबाट २५, धनुषाबाट ३०, सिराहाबाट २० र सप्तरी जिल्लाबाट २० लाख गरी कुल १ करोड ४५ लाख केवल तस्करीको पैसा डिआइजी उमेश रंजितकारले उठाइरहेको डिआइजी निकट स्रोतले दाबी गरेको छ। घरेलु मदिरा उद्योग र जुवाको खालबाट उठाइने रकम यसमा समावेश गरिएको छैन। वीरगन्ज स्थायी घर भएका डिआइजी रंजितकारले नेपाल प्रहरीका बदनाम घुमुवाहरूको टिम बनाइ प्रत्येक महिना १ देखि ५ गते भित्र रकम बुझाउन आदेश जारी गरेका छन्।

पर्सा जिल्लामा काठमाडौँ दरबन्दी भएका प्रहरी हवलदार राजु गुप्ता, बारामा महोत्तरी दरबन्दी भएका प्रहरी जवान सञ्जय जयसवाल, रौतहट जिल्लामा बारा दरबन्दी भएका प्रहरी हवलदार राजमंगल सिंह, सर्लाही जिल्लामा असई लालजी यादवलाई खटाइएको छ उनको दरबन्दी रौतहटमा रहेको छ । सिंहको सहयोगको लागी प्रहरी हवलदार विनोद राम र प्रहरी जवान मंजीत यादवलाई खटाइएको छ। उनीहरूको दरबन्दी क्रमशः नुवाकोट र सिन्धुली जिल्लामा रहेको छ।

महोत्तरी जिल्लामा सञ्जय पासवान असई दरबन्दी काभ्रे, प्रहरी हवलदार बैजु यादव दरबन्दी काठमाडौँ र प्रहरी जवान राजेश यादव खटेका छन्। धनुषा जिल्लामा सई रामरेख यादवको कमान्डमा प्रहरी हवलदार महेन्द्र महतो खटेका छन् । उनको दरबन्दी सिन्धुपाल्चोक भएता पनि डिआइजी रंजितकारको आशीर्वादले धनुषामै काजमा बसेका छन्। असुलीमा इमानदार देखिएको कारण यस पटक भएको बृहत् सरुवामा धनुषा मैँ दरबन्दी कायम गराउन उनी सफल भएका छन्। सिराहा जिल्लामा हवलदार सन्तोष झा र सप्तरी जिल्लामा असई उदय सिंहलाई असुलीको जिम्मेवारी दिइएको छ। 

डिआइजी उमेश रंजितकार वर्तमान नेपाल प्रहरीको महानिरीक्षक आईजी शैलेश थापासँगै वैशाख १९ गते घर जाने भएकाले तस्करी रोक्ने मुख्य काम सशस्त्र प्रहरीको हो भन्दै आफ्नो जिम्मेवारीबाट विमुख भएर कार्यकालको अन्तिम समयमा आफैलाई बदनाम बनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ