काठमाडाै । नेपाली काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार बनाउने र ढाल्ने खेलले मुलुकमा स्थिरता नआउने बताएकी छन् । गोरखापत्र संस्थान कर्मचारी सङ्घको सातौँ केन्द्रीय महाधिवेशनको उद्घाटनमा कोइरालाले मुलुकलाई विकास र समृद्धिको बाटामा लैजानका लागि कुनै पनि सरकार स्थायी रुपमा चल्नुपर्ने बताइन् ।
उनने भनिन्, ‘नौ–नौ महिनामा सरकार बनाउँदा वा ढाल्दा कस्लाई फाइदा हुन्छ ? यसले मुलुक अस्थिरतातर्फ जाँदैन र ! ’ यो देश बचाउनका लागि पनि हामी एक जुट हुनु पर्छ । उनले थपिन्, ‘जुन सरकार आ छ उसले पूर्व अवधि काम गर्न पाउनु पर्छ । यो सरकारलाई पनि हामीले ६ महिनामै ढाल्ने कुरा गर्छौं । अब नेपाली कांग्रेस आउनु पर्यो नी हैन ! यो सरकार अबको तीन महिनापछि ढालिहाल्नु पर्छ भन्ने कुराहरु आइरहेका छन्–यस्तो पनि हुन्छ ? ।’ यस्तो अवस्थामा अस्थिरता ल्यायो भने यो मूलुक बाँच्छ, रहन्छ ?
कोइरालाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको समेत बताइन् । उनले मुलुकलाई विकासको बाटामा लैजानका लागि सहमति, सहकार्य र एकता आवश्यक छ–भनिन् ।
उनले व्यक्ति र पार्टीको हितभन्दा पनि राष्ट्रको हितका लागि राजनीतिक दल लाग्नुपर्ने बताइन् । कोइरालाले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटामा अगाडि लैजानुपर्नेमा जोड दिइन् ।
नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलनाथ दाहालले संविधानले श्रमिकको अधिकारलाई यथेष्ट मात्रामा समेट्न नसकेको गुनासो गर्दै नेपालका सम्पूर्ण श्रमिकको मागलाई समेट्न श्रमिक आयोग गठन गर्नुपर्ने माग गरे ।
गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले विभिन्न ट्रेड युनियन संस्थागत सुशासनलाई ख्यालमा राखेर अगाडि बढ्नुपर्ने बताउँदै सम्पूर्ण संघ संगठनलाई संस्थाको हितमा लाग्न आग्रह गरे ।
नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराईले पार्टी नेतृत्वमा ट्रेड युनियनलाई हेर्ने व्यवहार फरक भएको बताए ।
चार जना सम्मानित
सङ्घले ‘गोरखापत्र’का पूर्वपत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेसहित चार जनालाई सम्मान गरेको छ । गोरखापत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेबापत वाग्लेसहित चार जना सम्मानित भएका हुन् ।
सम्मानित हुुने अन्यमा गोरखापत्रका पूर्वसम्पादक श्रीकृष्ण श्रेष्ठ, आनन्दराम आचार्य र पूर्वकर्मचारी माधवसिंह सिलवाल छन् । सम्मानित हुनेलाई कांग्रेस केन्द्रीय सदस्य कोइरालाले दोसल्ला र प्रमाणपत्र प्रदान गरिन् ।