भक्तपुर । विपक्षीमा बस्दा सबैले सत्ता पक्षलाई खबरदारी गर्छन् । तैले गरेको भएन, मैले मात्रै गरेको ठिक भन्ने परिपाटी पछिल्लो समय नेपाली राजनीतिमा निकै हावी हुँदै गएको छ ।
शनिबार भक्तपुरमा एमाले उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि त्यस्तै भावमा बोले । उनले आफुहरुले संविधान कार्यान्वयन सुरु गरेकै बेला सत्ताबाट लखेटेको बताउँदै अहिले संविधान कार्यान्वयन र निर्वाचन हुन नदिन षड्यन्त्र भइरहेको जिकिर गरे ।
एमाले अनन्तलिङ्ेश्वर नगरपालिका– १४ कमिटीले गुन्डुको किवाचोमा आयोजना गरेको प्रशिक्षण एवं पार्टी प्रवेश कार्यक्रममा उनले त्यस्तो षड्यन्त्रलाई एमाले चिर्नेछ–भने ।
उनले भने, ‘संविधान कार्यान्वयनका लागि २०७४ माघभित्र सबै निर्वाचन सम्पन्न गरिसक्नुपर्छ तर अझै पनि संविधान कार्यान्वयन हुन नदिने र निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको छ, त्यसविरुद्ध एमाले चुप लागेर बस्दैन ।’
नेता पौडेलले ओली नेतृत्व सरकारले प्रभावकारी काम गर्दा कतिपय पार्टीलाई राम्रो नलागेका कारण एमालेलाई सरकारबाट हटाउने षड्यन्त्र र दाउपेच गरिएको ठोकुवा गरे ।
कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री ओलीले सरकार छाड्ने बेलासम्म पनि नेपालको राष्ट्रियतालाई विदेशीसामु झुक्न नदिएको सुनाए ।