काठमाडौं। विधिबत महाधिवेशनको माग गर्दै एक साता अघी देखि आमरण अनसनमा बसेका दुई विद्यार्थी नेता गणेश सापकोटा र रत्नहरि ढुङ्गेलको अवस्था गम्भीर भएर काठमाडौं मोडल अस्पतालको शैयामा पुग्दासम्म पनि प्रजातन्त्रको हिमायती मान्ने नेपाली काँग्रेसको नेतृत्व मौन प्राय छ। उनीहरूको माग न त असम्भव छ भनिएको छ न त यो माग पूरा गर्ने तदारुकता नै देखाइएको छ। सांगठनिक रूपमा पार्टी र नेपाल विद्यार्थी संघलाई घाटा नै लाग्ने माग छ तिमिहरुको भनेर उनीहरुलाई भनिएको छ। बरु सांगठनिक हित र संगठनलाई विधिसम्मत हिडाउने प्रयासको रुपमा उनीहरुले अगाँलेको सत्याग्रहलाई गुटगत राजनीतिमा फसेकाहरु बाहेक धेरैले स्वीकारेका छन्।
गिर्दैछ पार्टीको साख
विधिवत महाधिवेशनको माग गर्दै सांगठनिक सुशासनको माग गरेर आमरण अनशनमा बसेका आफ्ना कार्यकर्तामाथि यतिसम्मको गैरजिम्मेवारीपन देखाउने पार्टी र नेबिसंघको नेतृत्वको कारण दुई कार्यकर्ता जीवनमरणको दोसाँधमा छन्। उनीहरु अझै न्याय मरिसकेको छैन भन्ने झिनो आस पालेर मोडल अस्पतालको शैयामा छट्पटाइरहेका छन्। लोकतन्त्रमा विश्वास गर्ने पार्टी काँग्रेसले कुनै बेला सत्याग्रहलाई प्रजातन्त्र पूनर्स्थापना गर्ने हतियार पनि बनाएको थियो। राणाशासनका बिरुद्ध विपी कोइराला आफै जेलमा आमरण अनशन बसेका थिए। उनको माग सुनुवाई गराउन तत्कालिन राणा शासनलाई राष्ट्रिय अन्तराष्ट्रिय दवाव परेको थियो। राणा शासनले पनि कोइरालाको माग सुन्न वाध्य भएको थियो। तर तिनै वीपीले शुरुवात गरेको पार्टी काँग्रेस अहिले सत्याग्रहलाई कम आँकिरहेको छ। सत्याग्रह गरेर भोक हड्तालमा बसेका आफ्नै कार्यकर्ताको माग सुनुवाई गर्न तयार देखिएको छैन। किन विद्यार्थीहरुले राखेका ति मागहरु पुरा गर्न लागिपरेको छैन। काँग्रेसका आदर्श बोकेका दावी गर्ने नेताहरुले पनि यसको उत्तर दिन सकेका छैनन। उनीहरु पनि एक कानले सुनेर आमरण अनशनकारीको कुरा अर्को कानले उडाइरहेका छन्।
लोकतन्त्रमा विश्वास राख्नेहरुको पार्टी अनि लोकतन्त्रको हिमायती भन्ने काँग्रेस नेतृत्व आफ्ना कार्यकर्तालाई मृत्यु शैयामा राखेर कसरी आफ्नो गुटगत स्वार्थमा रमाउन सक्छ अहिले लोकतन्त्रप्रेमीहरुकले काँग्रेसकव रवैयालाई नियालिरहेका छन्। कतै काँग्रेसमा सत्याग्रहको भावना नै मर्न थालेको त हैन? कतै काँग्रेस सत्याग्रहको बाटोमा भन्दा अराजकता उन्मुख त भइरहेको छैन? धेरैले प्रश्न गर्न थालेका छन्। यो प्रश्नको जवाफ काँग्रेस नेतृत्वले दिनुपर्ने भएको छ। नेपाली काँग्रेसमा शान्तिपूर्ण रूपमा आफ्ना माग राख्नेहरूको हविगत यस्तै हुन्छ भनेर नकारात्मक सन्देश समेत बाहिर सम्प्रेशण हुन थालिसक्दा किन काँग्रेस नेतृत्वले हस्तक्षेप गर्न सकिरहेको छैन धेरै आश्चर्यमा परेका छन्। महाधिवेशनको उद्घाटनको एकदिन अघीसम्म अनशन नतोडिने अवस्था बन्दा काँग्रेसको साख पनि बजारमा लिलामी भइरहेको धेरैले दुखेको गरेका छन्।
अनशनकारी अस्पताल पुग्दापनि माग सुनेन नेतृत्वले
केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवा पार्टी कार्यालय सानेपामा पुगेर विधिवत महाधिवेशनको माग गर्ने अनसनकारीको माग पूरा गराउन आफू प्रतिवद्ध रहेको भन्दै आफ्ना तर्फबाट निर्देशन समितिलाई उनीहरुको मागमा लचिलो बन्न निर्देशन समेत दिएका थिए। पार्टी सभापतिको यस्तो आश्वासनले त्यहाँ बसिरहेका सबै शुभेच्क्षुक र अनसनकारीहरूमा समेत एक किसिमको खुशीको सञ्चार भयो। तर, पार्टी सभापतिको निर्देशनको परिणाम सतहमा आएन। बरु अनशनकारी स्थिति गम्भीर बन्दा विरामीको अवस्थामा अस्पतालको शैयासम्म पुगिसकेका छन्।
उनीहरूको अवस्था गम्भीर रहेको भनेर अस्पताल पुर्याएपछि पार्टीले बनाएको नेविसंघ महाधिवेशनको निर्देशन समितिले बैठक बोलायो। डा. प्रकाशशरण महतको नेतृत्वमा रहेको पाँच सदस्यीय निर्देशन समिति यो विषयमा गम्भीर बन्न सकेन। आरोप छ रामचन्द्र पौडेल निकट मानिएका सदस्यद्वय गुरूराज घिमिरे र गोविन्द भट्टराईले बीचैमा बैठक छाडेर हिँडेपछि आज पनि अनसनकारीको माग पूरा हुने सम्भावनाको अन्त्य भएको छ।
के भयो निर्देशन समितिको बैठकमा?
निर्देशन समितिका एक सदस्यले दिएको जानकारीअनुसार निर्देशन समितिको बैठकमा अनसनकारीको माग पूरा गर्ने सवालमा एउटा नयाँ प्रस्ताव आयो। अहिलेसम्मका ६४ जिल्लालाई जस्ताको त्यस्तै छाडेर बाँकी रहेका ११ जिल्लाको विषयमा पार्टी नेताहरुसँग नाम जोडिएका रामचन्द्र पौडेल पक्षका मानिने रञ्जित कर्णको पक्ष, देउवा पक्षका मानिने ऋषिकेष शाह र कृष्ण प्रसाद सिटौला पक्ष मानिने जीत शेरचनहरुको टीमलाई समान ३३ प्रतिशतको दरमा महाधिवेशन प्रतिनिधी भागवण्डा गर्ने प्रस्ताव आयो। यस क्रममा अहिलेसम्म फर्जी भनिएकाहरुलाई पनि हुवहु मान्ने र बाँकी ११ जिल्लाका प्रतिनिधी समान रुपमा बाँड्ने प्रस्तावलाई निर्देशन समितिमा रहेका पौडेल पक्षका मानिने दुई सदस्यहरू घिमिरे र भट्टराईले ठाडै अस्वीकार गरेर बैठकबाट नै बाहिरिएपछि भने अनसनकारीहरूले पनि निर्देशन समितिले आफूहरुको माग पुरा गर्ने आशा नै मारेका छन्।
सदस्यद्वय घिमिरे र भट्टराईले अहिले समान ३३ प्रतिशत वाँड्ने सहमति गरेको जस्तो देखिएपनि मनोनयन दर्ता गर्ने बेलामा देउवा पक्ष र सिटौला पक्ष एक भएर आउनसक्ने आशंका राखेपछि यो प्रस्तावलाई उनीहरुले नमानेको स्रोतले बतायो। तर पार्टीमा जस्तै अध्यक्ष एउटा खेमाको र महामन्त्री एउटा खेमाको जिताउने गरि भित्रभित्रै चलखेल गरिएको हुनसक्ने भन्दै देउवा पक्ष, पौडेल पक्ष र सिटौला पक्षका आकाँक्षीहरु शसंकित भएका छन्। नेताहरुले विभिन्न सुत्रमा मिलाउन खोज्दा पनि मिल्न नदिने वातावरण बनाउन पनि केहि लागिपरेको कतिपय विद्यार्थीहरुको आरोप छ।
भागवण्डाको राजनीति भइरहँदा नेतृत्व पक्षले भने अनशनकारीको मागप्रति निरपेक्ष बनेका छन्। यद्यपी शनिवारको वैठकमा निर्देशन समितिका सदस्य घिमिरेले अर्का सदस्य भट्टराई उच्च रक्तचापको कारण उपस्थित हुन नसकेको र आफू महामन्त्री निवासमा बैठकमा गएकोले उपस्थित हुन नसकेको स्पष्ट पारे। उनले ३३ प्रतिशतको भागबण्डाको कुरा बैज्ञानिक नभएकोले आफूहरूले अस्वीकार गरेको स्वीकारे। अनुसनकारीको माग शतप्रतिशत सकारात्मक भएपनि उनीहरूको माग पूरा गर्न केही समय लाग्ने भएकोले अहिलेको समस्या सिर्जना भएको उनको भनाई छ।

यसैबीच, नेपाली काँग्रेसका पूर्व महामन्त्री समेत रहेका नेता कृष्णप्रसाद सिटौलाले शनिबार अनसनकारीसँग भेटघाट गरे। शनिवार अस्पतालमा अनशनकारी भेट्न गएका नेता कृष्ण प्रसाद सिटौलाले संवाददाताहरुको प्रश्नमा भने काँग्रेसमा सत्याग्रह गर्नेहरु हार्नु भनेको सत्याग्रहको मर्मलाई काँग्रेसले नअपनाउनु हो। यसले काँग्रेसले सत्याग्रह मरेको आरोप लामो समयसम्म खेप्नुपर्ने हुन्छ। यसकारण पार्टीले यसमा तत्काल ध्यान दिनु जरुरी छ। उनले अनशनकारीलाई भेट गर्दै पार्टी नेतृत्वलाई अनसनकारीको माग पूरा गर्न नेतृत्वलाई दबाब दिने प्रतिवद्धता जाहेर गरेर फर्किए। उनको प्रतिवद्धताले केही हदसम्म आशा जगाएको भएपनि अझै पूर्ण रुपमा विश्वस्त हुन भने असन्तुष्ट पक्ष सकिरहेको छैन।