arrow

सप्तरीमा भाइरल ज्वरोको प्रकोप बढ्दै

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
saptari-map.jpg.jpeg
राजविराज । सप्तरी जिल्लाका विभिन्न अस्पतालमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । सरुवा रोगका रुपमा रहेको भाइरल ज्वरोको प्रकोप बढेपछि जिल्लाका दुईवटा अस्पताल र ११४ स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढेको छ । 
 
खास गरी बालबालिकादेखि वृद्धवृद्धामा भाइरल ज्वरोको प्रकोप बढेको अस्पतालबाट थाहा भएको छ । सप्तरी जिल्लाको एकमात्र सरकारी अस्पतालका रुपमा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा समेत बिरामीको चाप बढेको अस्पताल स्रोतले जनाएको छ । 
 
अञ्चल अस्पतालका दर्ता शाखाका कर्मचारी तारानन्द झाले भाइरल ज्वरोको प्रकोप बढेपछि अस्पतालमा बिरामीको चाप बढेको र अहिले अस्पतालमा शैयाको समेत अभाव भएको बताए । 
 
उनले भने , “अस्पतालमा दैनिक ६० देखि ८० जना बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेकामध्ये धेरैजसो भाइरल ज्वरो र अन्य बिरामी पाइएका छन् ।” त्यस्तै जिल्लाको भारदह अस्पतालमा पनि दैनिक १० देखि १५ जना भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । 
 
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाका अनुसार केही दिनयता बढेको अत्यधिक गर्मी र लगातार परेको वर्षाका कारण अञ्चल अस्पताललगायत जिल्लाका सबै स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी देखापरेका छन् । 
 
साथै, जिल्लाभरिमा रहेका चार प्राथमिक स्वास्थ्य केन्द्र र ११० स्वास्थ्य चौकी तथा भारदह अस्पतालमा समेत दैनिक पाँचदेखि १० जना भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेको उनले जानकारी दिए  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ