राणा र थापाले पार्टी एकीकरणको सहमति पत्रमा दस्तखत गरे

प्रकाशित मिति : २०७३ श्रावण २२ शनिबार
फाइल : तस्वीर
काठमाडौँ । राप्रपा र राप्रपा नेपालको एकीकरणको घोषणा यही साउन २५ गते हुने भएको छ । 
 
दुवै पार्टीका शीर्षस्थ नेतृत्व एकता गर्न सहमत भएका छन् । राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार सहमतिपत्रमा दस्तखत गरी साउन २५ गते घोषणासभा गर्न सहमति भएको हो । 
 
व्यवस्थापिका–संसद्मा राप्रपा नेपाल चौथो ठूलो दल हो पार्टीकातर्फबाट २५ सांसद रहेका छन् भने राप्रपा सातौँ ठूलो दल हो र पार्टीका तर्फबाट १२ सांसद छन् । 
 
राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले दुवै पार्टीको एकीकरण घोषणा सभापछि १५ दिनभित्र दुवै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर सरकारमा जाने वा नजाने निर्णय लिने जानकारी दिए । 
 
उनका अनुसार मुलुकमा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो रहेकाले एकताको प्रक्रिया अगाडि बढाइएको हो । 
 
यसअघि, राप्रपाले सरकारमा सहभागी हुने तथा राप्रपा नेपालले भने सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने निर्णय गरेका थिए । एक शक्ति सरकारमा जाने अर्को नजाने भन्दै अन्योल भएपछि १६ गते भित्र हुने भनेको एकता अनिश्चत बनेको थियो । 
नयाँ