arrow

चिनियाँ कम्पनीद्वारा नदी दोहन, अवैध उत्खनन गर्ने ७ टिपर र स्काभेटर नियन्त्रणमा

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ फागुन ४ बुधबार
truck-skavetor.jpg

धनुषा । धनुषामा अवैध उत्खनन गर्दै गरेका चिनियाँ निर्माण कम्पनीका ७ वटा टिपर र एउटा स्काभेटर  प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ६ लेनको सडक बनाउने जिम्मेवारी पाएको चिनियाँ निर्माण कम्पनीले जथाभाबी खोलामा उत्खनन गरेपछि प्रहरीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।

धनुषा प्रहरीका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ना.८ ख. ६१२४, ना.८ ख. ८३७३, प्र.-२-०१-०० ३ ख. ००५८, प्र. २-०१-००१ख.००५९, प्र.२-०३-००१ ख ३२२७, प्र. २-०३-००१ ख. ५०८४, प्र.२-०१-००१ख. ०१११ नम्बरको टिपर र सिआरइजिसीई ३०७ नम्बरको स्काभेटर नियन्त्रणमा लिइएको छ। 

चिनियाँ निर्माण कम्पनीका कामदारले आफूखुसी बालुवा र गिट्टी उत्खनन गरेर सडक बनाउने काममा प्रयोग गरिरहेका हुन्। पछिल्लो पटक धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर  ५ स्थित कमला खोलामा बालुवा र गिट्टी उत्खनन गर्दै आएका थिए ।

चिनियाँ निर्माण कम्पनीले सम्बन्धित निकायबाट कुनै किसिमको अनुमति नलिई खोला उत्खनन गर्दै गरेको पाइएपछि नियन्त्रणमा लिइएको बस्नेतले जानकारी दिए । ती टिपरबाट बालुवा, गिट्टी उत्खनन गरेर सिराहामा राख्ने काम हुँदै आएको थियो ।

ठूलो आयोजनाका निर्माण कम्पनी भए पनि उत्खनन गर्दा स्थानीय तह या समन्वय समितिबाट अनुमति लिनुपर्नेमा चिनियाँ निर्माण कम्पनीले नलिएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । नियन्त्रणमा लिइएका सवारी साधन प्रहरी चौकी पोर्ताहमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ