arrow

नेविसङ्घको ११औँ महाधिवेशन : दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन, अस्पतालमा अनसनकारी

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
aamaranansanprachar1.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ नेविसंघको ११ औं महाधिवेशन नौ वर्षपछि आइतबारदेखि सुरु हुँदैछ । सङ्घको १० औं महाधिवेशन २०६४ जेठ ६, ७ र ८ गते चितवनमा भएको थियो । 
 
तीनदिने ११औँ महाधिवेशनको नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीस्थित भृकुटीमण्डमा भव्य समारोहबीच दिउँसो १ बजे दीप प्रज्ज्वलन गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 
 
उद्घाटनसत्रलाई पार्टी सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत शीर्ष नेताले सम्बोधन गर्नु कार्यक्रम छ । यसैगरी अन्य क्रियाशील विद्यार्थी सङ्गठनका नेताहरुले महाधिवेशनको सफलताको शुभकामना दिने कार्यक्रम छ । 
 
महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी करिब तीन हजार ४०० प्रतिनिधिले भाग लिँदैछन् । महाधिवेशनमा भाग लिन अधिकांश प्रतिनिधि राजधानी आइसकेको नेवि सङ्घका नेता जीत शेरचनले जानकारी दिए ।
 
नेकाँ पार्टीको आन्तरिक जीवनलाई समेत महाधिवेशनले नयाँ गति दिने हुँदा यसलाई पार्टी नेतृत्व एवम् आम सर्वसाधारणले उत्सुकतापूर्वक नियालिरहेका छन् । 
 
महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा सीमित रहनेछ । साउन २४ गते बन्दसत्र र साउन २५ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ । 
 
बन्दसत्रमा सङ्घका अध्यक्ष रञ्जित कर्णले राजनीतिक तथा साङ्गठनिक, शैक्षिक तथा आर्थिक प्रतिवेदन गरी तीनवटा प्रतिवेदन पेस गर्नेछन् । साउन २५ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ । 
 
एक व्यक्ति एक पद 
 
सङ्घमा अब एक व्यक्ति एक पदको अवधारणा अनिवार्यरूपमा लागू भएको छ । कुनै एक पदमा बहाल रहेको व्यक्तिले अर्को पदमा उम्मेदवारी दर्ता गरे उसको तल्लो तहको पद स्वतः खारेज हुनेछ । अब सङ्घको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक÷एकजना गरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहने छन् । 
 
त्यस्तै दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एक÷एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् । 
 
सङ्घको दुई वर्षभित्र अधिवेशन नगरे तीन महिनामा स्वतः केन्द्रीय समिति भङ्ग हुने गरी पार्टीको निर्देशक समितिले विधानको टुङ्गो लगाएको छ । एघारौँ महाधिवेशनमा उम्मेदवारी दर्ता गरेपछि हाल रहेको केन्द्रीय समितिको पद पनि स्वतः खारेज हुनेछ । 
 
पदाधिकारीमा आकाङ्क्षी धेरै 
 
सङ्घको अध्यक्षमा हालसम्म नैनसिंह महर, जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य केही नेताहरू घोषणा गर्ने क्रममा रहेको बताइएको छ । 
 
त्यस्तै महामन्त्री पदमा नेवि सङ्घ नेताहरू युवराज पाण्डे, डिल्लीराज सुवेदी, मनोज वैद्य, उर्मिला थपलिया, मोतीलाल भण्डारी, विनयराम भट्ट, रमेश रिजाल, प्रचण्डविक्रम न्यौपाने, हिमालदत्त श्रेष्ठ, मित्र भट्टराईलगायतले उम्मेदवारी दिने घोषणा गरेका छन् । दुवै काँग्रेस एकीकरणपछि हुन लागेको महाधिवेशनमा पदाधिकारी र सदस्यमा करिब ५०० उम्मेदवारी पर्ने देखिन्छ । 
 
नेताका घर धाउने क्रमसमेत बढ्यो 
 
सातपटक स्थगित भएको महाधिवेशन हुन्छ कि हुँदैन भन्ने अन्योलका बीच महाधिवेशन हुने भएपछि नेवि सङ्घमा राजनीति गर्दै आएका नेता तथा कार्यकर्तामा नयाँ उत्साह थपिएको छ । रातो पृष्ठभूमिमा सेतो गोलाकारभित्र मसाल र कलम अङ्कित सङ्घको झन्डा, ब्यानर, तुलले महाधिवेशनस्थल भृकुटीमण्डप क्षेत्र दुलही झैंं सिँगारिएको छ । 
 
महाधिवेशनमा भाग लिन मुलुकभरबाट अधिकांश विद्यार्थी नेता कार्यकर्ता काठमाडौँ आइसकेका छन् । अर्कोतिर महाधिवेशनमा आ–आफ्नो स्थान सुनिश्चित गर्न नेता कार्यकर्ता आफू निकट पार्टीका नेताका घर धाउनेक्रमसमेत बढेको छ । अर्कातिर अहिलेको महाधिवेशन विवादरहित रहने छैन । ६४ जिल्लाकोमात्र अधिवेशन भएको छ । ११ जिल्ला नहुनु, उपत्यकाकाका क्याम्पसहरुमा स्ववियु चुनाव नहुँदा अधिवेशन नुहुनु, विश्वविद्यालयकै प्रतिनिधि चयन हुन नसक्नु, विदेशमा रहेका प्रतिनिधि चयन नहुनुले यो चुनाव निष्पक्ष हुने देखिदैन ।
 
त्यसैगरी निष्पक्ष एवं विधिगत् महाधिवेशनको माग गर्दै आमरण अनसन बसेका युवालाई वास्ता गरेर माउ पार्टी काँग्रेसले विचारको राजनीतिलाई बाइपास गर्न खोजेको देखिएको छ । सानेपामै पार्टी कार्यालयमा आमरण अनसनकारी बस्ने अनि अर्कातिर भृकुटीमण्डपलाई सजाइनु पनि अर्थहिनजस्तै भएको छ । सानेपाका अनशनकारी यतिखेर महाधिवेशनस्थल नजिकैको मोडल अस्पतालमा बसेरै अनशनलाई निरन्तरता दिइरहेका छन्। 
 
२०२७ वैशाख ६ गते स्थापना भएको नेवि सङ्घमा हालसम्म विपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, नारायणप्रकाश साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ र रञ्जीत कर्ण अध्यक्ष भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ