काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको १०औंँ बैठक जारी रहेको छ । नयाँ बानेश्वरमा जारी बैठकमा समसामयिक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा पनि छलफल हुने बताइएको छ ।
एमसीसीका विषयमा सत्ता साझेदार रहेर पनि नेकपा माओवादी केन्द्र र नेकपा एसले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धननै जोखिममा रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
यो परिस्थितिमा नेकपा एसले कस्तो निर्णय गर्ला भन्ने चासो महत्वपूर्ण रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नै एमसीसी पारित गर्नुपर्छ भन्दै लबिङ गरिरहेका अवस्थामा यदि नेकपा एसले त्यसको विरोध गर्ने हो भने सरकारमा रहिरहने नैतिकता गुमाउने बताइन्छ ।
आइतबार सत्तागठबन्धनको छलफल हुनुअघि नेकपा एसले आफ्नो धारणा बनाउन लागेको हो ।