arrow

एमसीसीको विरोधमा किन उत्रिन्छन् झलनाथ, के छ चिनियाँ कनेक्सन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
jhalanath-khanal-ncp-s.jpg
फाइल तस्बिर

काठमाडौँ। नेकपा एस पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको बैठकमा एमसीसी संसद्मा पेस गर्न नहुने मात्र प्रस्ताव गरेनन् एमसीसी संसद् टेबुल भए आगो बल्ने, दूनियाको टाउको फूटने, हात खुट्टा भाँचिने जस्ता उत्तेजक अभिव्यक्ति समेत दिए। उनले पार्टीको बैठकमा मात्रै यो विषय बोलेनन् सार्वजनिक अभिव्यक्तिसमेत दिए। यसले एमसीसीको विरोध गरिएका पक्षलाई थप मलजल गरिरहेको छ। पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले कति बेला कुन अभिव्यक्ति दिने भन्ने विषयलाई समेत हेक्का नराखी यस्तो अभिव्यक्ति दिनुका पछाडिका केही कारण रहेका छन्।

एमाले र नेकपा हुँदै एस पार्टीमा रहँदा उनले चीनलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन गरेका छैनन्। पूर्व प्रधानमन्त्री खनाल सुरु देखिनै चीनको पक्षमा लबिङ गर्थे। एमालेमा जनताको बहुदलीय जनवादको वकालत गरिरहँदा उनी सिपी मैनालीको नौलो जनवादतर्फ आकर्षित भएका थिए। लामो समयसम्म एमालेभित्र चिनियाँहरूको पक्षपोषण गर्ने नेताको रूपमा उनलाई लिइन्थ्यो।

बिआरआइको पक्षपोषण
नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) सम्झौता भएपछि खनाल त्यसको विपक्षमा उभिएका थिए। त्यसको केही पृष्ठभूमिलाई हेर्ने हो भने २०७६ भदौमा चीन पुगेका झलनाथ खनालको अभिव्यक्तिलाई पछ्याउनु पर्ने हुन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले २०७६ साल भदौमा चीन पुगेर बीआरआई असफल बनाउन खोजे त्यसको राजनीतिक रूपमै प्रतिरोध गर्ने अभिव्यक्ति दिएका थिए। 

चिनियाँ राष्ट्रपतिले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिक रूपमा तयार रहेको बताएर चीनलाई खुसी पारेका थिए। त्यति बेला चीनमा आयोजना गरिएको ‘गुआङ्ग्डोङ्ग २१औँ शताब्दी म्यारी टाइम सिल्करोड अन्तर्राष्ट्रिय एक्स्पो’ लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री खनालले दक्षिण एसियामा बिआरआईका विरुद्ध लक्षित गर्दै चलेका अभियानको कुनै अर्थ नभएको र त्यस्ता अफवाह विरुद्ध एक भएर लड्न नेपाल तयार रहेको बताएर चीनप्रतिको भक्त भावलाई उदाङ्गो बनाएका थिए।

नेता खनालले सन् २०१७ मा बिआरआईमा नेपाल र चीनबीच भएको समझदारीपछि नेपाल औपचारिक रूपमा बिआरआईमा सहभागी हुने मुलुक बनेको बताए। नेपाल र चीनबीच एक हजार ६०० वर्ष पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै नेता खनालले अब सांस्कृतिक र व्यापारिक आधारमा नेपाल र चीनबीचको सम्बन्ध विकास गरिनुपर्नेमा जोड दिए। बिआरआईको प्रभावकारी कार्यान्वयनका लागि नेपाल–चीन आर्थिक कोरिडोरको विकास गर्न उनको प्रस्ताव थियो। त्यसै गरी, ‘ट्रान्स हिमालय इकोनोमी कोरिडोर’को स्थापना र नेपाल चीनबीचको रेल सञ्जालको सम्बन्धले सिल्क रोडको ल्हासा–काठमाडौँ–भारत खण्डलाई पुनः जीवित पार्ने र जसको लाभ नेपालले लिन सक्ने उनको भनाइ थियो। त्यति बेला उनी चार दिन चीन बसेर फर्केका थिए।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छोराको संलग्नता
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको ठेक्का प्रक्रियामा झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनाल जोडिएका थिए। नेपालले सन् २००० देखि नै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सोच बनायो र जाइकाले सन् २००० मा दुई चरणमा गरेर जम्मा ८५ मिलियन अमेरिकी डलरको लागत स्टिमेट गरेर नेपाल सरकारलाई अध्ययन बुझायो। त्यसपछि नेपालले आफैँले गरेको अध्ययनले जुन २०१३ मा त्यस परियोजनाको लागत २२८ मिलियन डलर र त्यस विमानस्थलका केही सुविधाहरूमा कटौती गरे जम्मा १६७ मिलियन हुने देखियो भने चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले अगस्त २०१३ मै त्यसमा १६ प्रतिशत बढोत्तरी गर्दै २६४ मिलियन डलर भन्यो।

पछि चिनियाँ कम्पनी सिएएमसीले ३०५ मिलियन डलरको लागत देखाएको थियो। तत्कालीन अर्थमन्त्री डा.रामशरण महतले यो अस्वाभाविक लागत वृद्धिमा आपत्ति जनाएपछि चीनले लागतबारे फेरि अध्ययन गरेर २२० देखि ३०० मिलियन डलर लाग्ने बतायो र अन्तमा चीन एक्जिम बैङ्कको २१६ मिलियन सहुलियत ऋण (२५ प्रतिशत ऋण निर्ब्याजी र ७५ प्रतिशत ऋण २ प्रतिशत ब्याजमा) सहित सन् २०१६ मा सीएएमसी इन्जिनियरिङले २१७ मिलियन डलरमा निर्माण गर्ने ठेक्का पायो।

अचम्मको कुरो चाहिँ जसले लागत इस्टिमेट गर्‍यो, त्यही कम्पनी यहाँ ठेकेदार पनि बन् । यसमा झलनाथ खनालका छोरा निर्भीक खनालको कम्पनीले विवाद निकालेको थियो। विमानस्थल निर्माण कार्यको ठेक्का लिएको कम्पनी र उसको नियुक्ति गरेको सप्लायर्स (सब–कन्ट्रयाक्टर) कम्पनीबीचको आन्तरिक विवादका कारण पनि निर्माण कार्य ढिलाइ भएको तत्कालीन समयमा लेखा समितिको समेत ठहर थियो।

२०७४ सालमा ८६ प्रतिशत काम सम्पन्न हुनुपर्नेमा २६ प्रतिशत मात्रै हुनुमा खनालकै छोराको कम्पनीले पैसा लिने तर सामान नदिएका कारण ढिलाइ भएको निष्कर्ष निकालिएको थियो। त्यति बेला विमानस्थलको निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीच रकम लेनदेनको विवादका कारण विमानस्थलको निर्माण कार्य ठप्प भएको थियो।

नर्थ वेस्ट इन्फ्रा नेपाल कम्पनी खनालको छोरा निर्भीक खनाल र नेकपा एमाले सम्बद्ध युवा सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष राजु गुरुङको  । गुरुङ नेकपा एस पार्टीका हाल रुपन्देही जिल्ला अध्यक्ष छन्।

त्यति बेला नेपाली र चिनियाँ कम्पनिबीच आरोप–प्रत्यारोप चलेपछि छोरोको हरहिसाब मिलाउन खनाल आफै चीन गएका थिए। ‘छोरोका कारोबार बिग्रेपछि पूर्व प्रधानमन्त्रीको हैसियतमा उनी आफै चीन गएर समस्या समाधान गरी आएका थिए’, स्रोतले  भन्यो। चिनियाँ कम्पनीले आफूले काम अनुसारको रकम नेपाली कम्पनीलाई उपलब्ध गराएको तर नेपाली कम्पनीले भने आफूलाई चिनियाँ कम्पनीले काम अनुसारको रकम उपलब्ध नगराएको आरोप प्रत्यारोप चलेकै बेला पूर्व प्रधानमन्त्री खनाल आफै चीन पुगेर चिनियाँ सरकारसँगको समन्वयमा कुरा मिलाएका थिए।

छोराहरूमार्फत चिनियाँको प्रयोग 
तत्कालीन नेकपाको विवाद बढ्दै जाँदा नेकपाका प्रभावशाली नेताहरूका छोराहरू पार्टीको विवाद मिलाउन निकै सक्रिय भएका थिए। उनीहरू सबै चिनियाँ राजदूतावास र चिनियाँ व्यापारीहरूबाट प्रभावित भएका थिए। त्यतिबेला उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, तत्कालीन गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाका छोरा प्रतीक थापा, गृहमन्त्रीका सल्लाहकार इन्द्रजीत राईका छोरा नीरज राई, वामदेव गौतमका छोरा हरिस गौतम, पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा र झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनाल नेकपा बचाउ अभियानमा लागे पनि उनीहरू असफल भएका थिए। अहिले पनि उनीहरू एमसीसी विरोधी अभियानमा सक्रिय भएका छन्। माओवादी र एस पार्टीका उच्च नेताहरूलाई भेटेर एमसीसी विरोधी अभियानमा लागेका छन्।

चिनियाँ पत्रकारको पुस्तकमा खनालको चिनियाँ भक्ति गान
पूर्व प्रधानमन्त्री खनाल जोडिएका विभिन्न कम्पनीहरू रहेका छन्। ती कम्पनीमा छोरा र श्रीमती सक्रिय रहेका बेला चिनियाँ लगानी भित्राउन पनि पूर्व प्रधानमन्त्री खनाल सक्रिय रहेको स्रोतको दाबी छ। चिनियाँहरूले पूर्व प्रधानमन्त्रीको ‘मर्यादा’ लाई उच्च महत्त्व दिने भएकाले खनालको पारिवारिक कम्पनीहरूलाई लगानी ल्याउन कठिन नहुने अवस्थामा चीनको विरोध नगरेको र एमसीसीको विरोध गरेको आङ्कलन गरेको छ। त्यसका लागि खनालले विभिन्न चरणमा चिनियाँहरूको भक्ति गान गाउँदै आएका छन्।

त्यसको पछिल्लो उदाहरण ‘चिनियाँ पत्रकारको नजरमा नेपाल, सुधार वा समाप्त होऊ’ भन्ने पुस्तकमा लामो भूमिका लेखेका छन्। चिनियाँ पत्रकारले लेखेको सो पुस्तकमा उनको भूमिका लेखन आवश्यक हो होइन भन्ने अर्को बहस भए पनि उनले त्यहाँ जे लेखे त्यसमा भने बहस आवश्यक छ। उनले त्यहाँ चीनलाई मैत्रीपूर्ण सुझावमा सो पुस्तक नेपालका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्दै चिनियाँहरूको सन्दर्भमा लामो व्याख्या गरेका छन्। जुन पूर्वप्रधानमन्त्रीले गर्नुपर्ने भन्दा बढी व्याख्या छ।

सो पुस्तक मोदनाथ प्रश्रितका छोरा डा.विजय पौडेलले सञ्चालन गरेको जनता प्रकाशन प्रालिले प्रकाशन गरेको छ। पौडेल आफै चिनियाँ राष्ट्रपति सी जीनफिङको जीवनी सम्बन्धी पुस्तकलाई नेपाल ल्याएर बिक्री वितरणमा लागेका व्यक्ति हुन्। जगन्नाथ खतिवडाले सञ्चालन गरेको पुष्पलाल मित्रता केन्द्रले चिनियाँ पुस्तकहरू नेपालमा ल्याएर चीनको पक्षपोषण गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ