काठमाडौं। आमरण अनसन बसेका दुई विद्यार्थी नेताहरु गणेश सापकोटा र रत्नहरि ढुंगेलले राखेका मागहरुलाई सम्वोधन गर्ने आश्वासन दिएर मात्र मातृ पार्टी नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेविसंघको महाधिवेशन उद्घाटन गरेका छन्। विधिवत महाधिवेशन गर्न माग गर्दै आमरण अनशनमा बसेका विद्यार्थीहरुलाई वेवास्ता गर्दै महाधिवेशन उद्घाटन गर्न जाँदा पार्टीको लोकतान्त्रिक आचरण र साख समेत खस्किने भएपछि देउवा उनीहरुलाई भेटेका हुन्।
महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका काठमाडौंमा उपलव्ध अधिकांश सबै नेता उपस्थित छन्। पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका नेताहरु पनि महाधिवेशनस्थलमा छन्। करिव एक दशकपछि हुन लागेको नेविसंघको महाधिवेशनमा नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका अतिरिक्त अन्य राजनीतिक दलका भातृ तथा शुभेच्छुक संस्थाहरुले पनि चासो दिएर हेरेका छन्।
उद्घाटन कार्यक्रमलाई काँग्रेस सभापति देउवाका अतिरिक्त अन्य नेताहरुले पनि सम्वोधन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशनमा सुरक्षा सतर्कता व्यापक बढाइएको छ।
उता एक साता अघि विधान अनुसार महाधिवेशन गर्न माग गर्दै विद्यार्थी नेता गणेश सापकोटा र रत्नहरी ढुंगेल अझै पनि आमरण अनशनमा छन्। उनीहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन सुरु गरेका थिए। शनिबार बिहान मात्रै अनसन बसेका दुवैको स्वास्थ्यवस्था निकै खस्किएपछि काठमाडौंको मोडल अस्पताल भर्ना गरिएको थियो। उनीहरु अस्पतालकै शैय्यामा छन्। विभिन्न जिल्लामा भएको धाधली र विवादको विषयनै नमिलाई पार्टी नेतृत्वले जबरजस्ती महाधिवेशन गर्न लागिरहेको उनीहरुको भनाई छ।
उद्घाटन कार्यक्रममा नेविसंघका नेताहरु दिपा शिवाकोटी, वलदेव तिमल्सिना र मनोज वैद्यले मन्त्व्य राख्दै अनशनमा विद्यार्थीहरुलाई राखेर महाधिवेशन सफल हुन नसक्ने बताए। उनीहरुले टिके प्रथाबाट नेतृत्व चयन हुन नसक्ने पनि बताए। महाधिवेशनलाई अखिलकी अध्यक्ष नविना लामाले शुभकामना दिएकी छन्।