काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा आमरण अनसन बसेका दुई विद्यार्थी नेतालाई भेटेर मात्रै महाधिवेशन उद्घाटन समारोह स्थल पुगेका छन् ।
सभापति देउवाले काठमाडौं मोडल अस्पतालमा रहेका अनसनकर्ता गणेश सापकोटा र रत्नहरि ढुंगेललाई भेटेर मात्रै महाधिवेशन उद्घाटन स्थलतर्फ लागेका हुन् ।
भेटका क्रममा देउवाले साँझ सम्म सबै विषय मिलाउने आश्वासन दिएको अनसनरत सापकोटाले हाम्राकुरालाई जानकारी दिए ।
उनले भने, ‘सभापति आउनु भयो । भेटेर जानु भयो । हामीलाई तपाईहरु नआँत्तिनुस् । म साँझ सम्म सबै मिलाउँछु भन्नु भा छ । विवाद नमिलाई महाधिवेशन गर्दिन समेत भन्नु भएको छ ।’
सापकोटाले थपे, ‘सभापतिले जसरी पनि महाधिवेशन गराउने बताउनु भएको छ । तर, पेलेर अहिलेकै स्थितिमा महाधिवेशन गराए हामी छुट्टै महाधिवेशन गर्छौं । उहाँले साँझ सम्म मिलाउने भनेकाले पर्खिन्छौं । माग पुरा नभए सम्म अनसन तोड्दैनौं ।’ उहाँले आश्वासन दिएपछि हाम्रो तर्फबाट पनि साथीहरु महाधिवेशनमा गएका छन् ।
यद्यपि, उनीहरु आफुहरुको अनसनबारे बुलन्द रुपमा आवाज उठाउन गएको सापकोटाले सुनाए । उनले भने, ‘साथीहरुले हाम्रो समर्थनमा नारा जुलुस समेत गर्ने छन् ।’ आफुहरुको अनसन भङ्ग भएको भन्नेबारे भएको प्रचारवाजी यसअघि बन्द कोठामा निर्णय गरे जस्तै भएको उनको भनाई छ ।
विधिवत महाधिवेशन गर्न माग गर्दै आमरण अनशनमा बसेका विद्यार्थीहरुलाई वेवास्ता गर्दै महाधिवेशन उद्घाटन गर्न जाँदा पार्टीको लोकतान्त्रिक आचरण र साख समेत खस्किने भएपछि सभापति देउवाले अनसनकर्तालाई भेटेका हुन् ।
एक साता अघि विधान अनुसार महाधिवेशन गर्न माग गर्दै विद्यार्थी नेता सापकोटा र ढुंगेलले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन सुरु गरेका थिए । शनिबार बिहान मात्रै अनसन बसेका दुवैको स्वास्थ्यवस्था निकै खस्किएपछि काठमाडौंको मोडल अस्पताल भर्ना गरिएको थियो । उनीहरु अस्पतालकै शैय्यामा छन् ।