देउवालाई धोका दिएर अताल्लिएका प्रचण्ड सभामुखलाई भेट्न पुगे, गल्ती छोप्न बिहीबार सडकदेखि संसदसम्म विरोध
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
1k
Shares
तस्बिर– फाइल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा वा महाभियोगको मागलाई मुखर बनाएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख सापकोटासँग बुधबार साँझ संवाद गरेका छन् ।
नारायणकाजी श्रेष्ठलाई लिएर लैनचौर पुगेका प्रचण्डले एमालेको संभावित रणनीतिबारे कुराकानी गरेको स्रोतले जनाएको छ । बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीको थप प्रक्रिया अगाडि बढ्ने तयारी भइरहेका बेला प्रचण्डले सभामुखसँग संवाद गर्दै कांग्रेसलाई महाभियोगको प्रस्ताव ल्याउन एमालेले दबाब दिएको विषयमा छलफल गरेका थिए ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्रले बिहीबारको बैठकबाट नै सरकारले एमसीसीको टुंगो लगाउने तयारी गरेपछि सभामुखसँग छलफल गरेको हो ।
फागुन ८ गते माओवादी केन्द्रको निर्देशनमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी संसदमा टेबल गर्न पछि हटेपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहान प्रचण्डसँगको भेटघाटमा एमसीसीमा सहयोग गर्न आग्रह गरेका भए पनि सकारात्मक जवाफ पाउन सकेका थिएनन् ।
देउवाले प्रचण्डसँग सकारात्मक जवाफ नपाएपछि गृहमन्त्री बालकृष्ण खाँण एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । बालकोटमा ओलीले सभामुखले सहज बर्हिगमनको बाटो नअपनाए महाभियोग लगाउन कांग्रेस तयार हो ? भनेर प्रश्न गरेका थिए ।
गृहमन्त्री खाँणले एमसीसी पास गराउने विषयमा सभामुख अवरोधक नबन्ने बनेमा महाभियोग ल्याउन कांग्रेसमा बाधा छैन भन्ने जवाफ दिएका थिए । सो जवाफपछि ओलीले सभामुखलाई महाभियोग लगाउने विषयमा एमालेको समर्थन रहने र संसदको अवरोध पनि खुल्ने संकेत गरेका थिए ।
एमालेका एक उच्च नेताका अनुसार कांग्रेसले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको विश्वास दिलाउनु पर्ने शर्तलाई अघि सारेको छ । ‘एमसीसीको विषयमा पछि धारणा बनाउँला तर एमालेलाई संसदमा राखेर छलफल गर्ने वातावरण बनाउनुस्, एमालेबारे एमसीसीको धारणा स्पष्ट रहेको पार्टी अध्यक्ष ओलीले बताउनु भएको छ’, ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
तर यो विषय बाहिर मुखर भएर आएको छैन । एमालेले सभामुखको बर्हिगमन वा माधवकुमार नेपालसहितका १४ सांसदलाई कारवाही गर्नुपर्ने माग राखेर संसद अवरोध गर्दै आएको छ ।
बुधबार बिहान पार्टी अध्यक्षसँगको छलफलमा गृहमन्त्री खाँणले एमालेको माग सम्बोधन गर्न सकिने संकेत गरेपछि बुधबार साँझ प्रचण्डले सभामुखसँग छलफल गरेको स्रोतको दाबी छ ।
बुधबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफल फलदायी नभएपछि गृहमन्त्री खाँणले एमालेसँग सम्झौता गरेको हुनसक्ने प्रचण्ड–माधवले शंका गरेका छन् । सत्ता गठबन्धन भत्काउन नचाहेका बेला एमसीसी संसदमा पेश भएपछि दुवै नेताहरु निकै समस्यामा परेका छन् ।
बुधबार नै माओवादी केन्द्रको बागमती प्रदेशको कार्यक्रममा अध्यक्ष प्रचण्डले बाध्यताले एमसीसी संसदमा टेबल गर्न दिएको बताएका थिए । उनले कांग्रेसले नै सभामुखको राजीनामा माग्ने अवस्था आएको र वेल घेराउ गर्ने अवस्था आएकाले संसदमा एमसीसी टेबल गर्नु परेको स्पष्टीकरण दिएका थिए ।
तर कार्यकर्ताहरुले प्रचण्डलाई एमसीसी पास नगर्न दबाब दिएका थिए । बागमती प्रदेशको कार्यक्रम सकिएपछि माओवादीका जनवर्गीय संगठनहरुको बैठकले बिहीबार आन्दोलन गर्ने निर्णयसमेत गरेका छन् ।
पार्टीका युवा संगठन वाईसीएल, मजदूर र विद्यार्थी संगठनले संयुक्तरुपमा संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने भएका छन् । प्रदर्शनको मूल नेतृत्व वाईसीएलले गर्ने भएको छ । वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाको नेतृत्वमा जगत सिंखडा, सुमन देवकोटा र पञ्चा सिंहसहित जबस मोर्चाका नेताहरुले प्रदर्शनको अगुवाइ गर्ने भएका छन् ।
बिहीबार बिहान ११ बजे माइतीघरको सुमार्गी कम्प्लेक्स अगाडि जम्मा भएर नयाँ बानेश्वर एभरेष्ट होटल अगाडि पुगेर विरोधसभा गर्ने भएका छन् ।