arrow

संसद भवनमै देउवा र ओलीबीच छलफल, नयाँ कोर्सको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
deuba-oli-parliament-meet.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । दुवैबीच संसद भवनमा छलफल भएको हो ।

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयलाई लिएर सत्ताधारी दलहरुबीच असमझदारी बढ्दै गएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलका नेतासँग छलफल गरिरहेका हुन् । यो छलफल राजनीतिक नयाँ कोर्सको तयारीका लागि भइरहेको बुझिएको छ । 

छलफलमा कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी रहेका छन् । 

सरकारले एमसीसी संसदबाट पारित गर्न खोजे पनि सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विरोधमा सडक आन्दोलनमा जाने घोषणा गरेसँगै देशको प्रतिष्ठा जोगाउन पनि निकै अगाडि बढिसकेको एमसीसीलाई पारित गर्नुको विकल्प नभएको भन्दै नैतिक जिम्मेवारीसहित तात्तिएका देउवाले एमालेलाई साथ लिएर अगाडि बढ्न खोजेका हुन् । 

ओलीले पनि आफूहरुका माग पूरा भए एमसीसीमा स्पष्ट रहेको बताउँदै आएका छन् । यसअघि २०७६ सालमै ओलीले एमसीसी पारित गर्नका लागि संसदमा पेश गरेका थिए । त्यतिबेला पनि प्रचण्ड र माधवकुमार नेपाल पक्षले विरोध गर्दा एमसीसी अलपत्र परेको थियो । 

यसपटक पनि तिनै प्रचण्ड र माधवकुमार नेपाल (नेकपा एकीकृत समाजवादीका अध्यक्ष) ले नै विरोध गरिरहेका छन् । यद्यपि उनीहरुले सरकार भने छाडेका छैनन् । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले त मिडियालाई सडक तताउनेमात्र हैन आगो नै बाल्ने उद्घोष गरेका छन् । 

खनालले गठबन्धन भत्कनु ठूलो कुरा होइन भनिरहेका छन् । जबकि एमसीसीलाई अगाडि बढाउनु पर्छ भनेर आफू प्रधानमन्त्री भएका बेलामा झलनाथ पनि लागेका थिए । 

अहिले एमसीसीको पक्षमा बोल्दा नेकपा एसकै मन्त्री रामकुमारी झाँक्रीसमेत आलोचित हुनु परेको छ । हिजो चिनियाँ पक्षले अमेरिकाले उपहार दिँदा पनि जबरजस्ती गर्न मिल्छ ? भन्दै प्रश्न गरेपछि त प्रचण्ड र माधवकुमार नेपाल पक्ष उर्लिएको छ । 

यसरी बेथिति लम्बिँदै जाँदा कांग्रेसले एमालेको साथ खोजेको छ । सत्ता सहयात्री दल जनता समाजवादी पार्टी जसपाले भने एमसीसीको पक्षमा मत खसाल्ने बताइरहेको छ । 

यद्यपि पार्टीको बैठकले निर्णय गरिसकेको छैन । डा. बाबुराम भट्टराई पहिलेदेखि नै एमसीसीको पक्षमा छन् । उपेन्द्र यादव पनि सहमतिमा आउने बताइन्छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बुधबार नै पक्षमा मत हाल्ने निर्णय गरिसकेको छ । 

एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाहीको सूचना नटाँसेको आरोप एमालेको छ । एमालेले काम गर्न नसक्ने भए राजीनामा दिन सभामुख अग्निप्रसाद सापकोटालाई दबाब दिइरहेको छ । 

यो विषयमा कांग्रेससँग कुरा मिल्नासाथ एमाले नयाँ कोर्सका लागि तयार भएको बताइसकेको छ । 

प्रचण्ड र माधवकुमार नेपालले देउवासँगको सत्ता सहयात्राको सहमतिका घेराहरु तोड्दै गएपछि पछिल्ला केही दिनदेखि देउवाले ओलीसँगको सम्बन्ध बढाउँदै लगेका छन् । 

विज्ञहरुका अनुसार एमसीसीले नेपाललाई हानि नभइ फाइदा गर्ने बताइरहँदा प्रचण्ड र नेपालले चिनियाँ पक्षको दबाबमा परेर विरोध गरिरहेको आरोप पनि लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ