arrow

पाँच दलीय गठबन्धनको बिहीबार अन्तिम रात हुन सक्ने, बालुवाटारमा नयाँ गठबन्धनको गृहकार्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
congress-uml-baluwatar-2078-11-12.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बेलुका बालुवाटारमा छलफल भएको छ । 

यो छलफललाई बिहीबार दिउँसो संसद भवनमा भएको छलफलको निरन्तरता भनिएको छ । यही निरन्तरको छलफल नयाँ गठबन्धनको गृहकार्य भएको बुझिएको छ । यदि नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सफल भयो भने बिहीबार पाँच दलीय गठबन्धन सरकारको अन्तिम रात हुन सक्ने विश्लेषण गरिएको छ । 

छलफलमा कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्ष विष्णु पौडेल रहेका छन् ।

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने र नगर्ने पक्षबीच कित्ताकाट भएपछि पाँच दलीय गठबन्धन धर्मराएको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्तामा रहेरै एमसीसीको विरोध गरेपछि प्रधानमन्त्री देउवाले विकल्प खोजेका छन् । 

त्यो विकल्प एमालेकै साथ हो । एमाले अध्यक्ष ओली सरकारमा भएका बेलामा एमसीसी संसदमा पेश गरेका थिए । उनले अहिलेसम्म एमसीसीको विरोध पनि गरेका छैनन् । जसका कारण कांग्रेसका लागि एमालेसँगको नयाँ गठबन्धन उत्तम विकल्प हुने देखिएको छ । 

दिउँसो संसद भवनमा देउवा र ओलीबीच छलफल भएपछि ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डबीच पनि कुराकानी भएको थियो । उनीहरुबीच एक वर्षपछि कुराकानी भएको हो । 

नेकपा फुटेपछि अब कम्तीमा पाँच–छ वर्ष एमालेसँग सहकार्य नहुने बताएका प्रचण्डले चिनियाँ दबाबपछि ओलीसँग कुराकानी गर्न पुगेका थिए । 

तर एकता भाँडिएपछि र एमसीसी पारित गर्न खोज्दा पार्टीभित्रबाटै विरोध हुँदा नेतृत्व गरेका प्रचण्डसँग फेरि मिल्ने सम्भावना असम्भव जस्तै थियो ।  र पनि ओलीले तीन वटा प्रस्ताव गरे । 

जसमा एमालेका १४ सांसद निष्काशनको सूचना सभामुखले टाँस्ने, सूचना नटाँस्ने हो भने सभामुखले राजीनामा दिने र नेकपा भएका बेलामा आफूविरुद्ध ल्याएको अभियोगपत्र फिर्ता लिने । 

तर प्रचण्ड राजी हुन सकेनन् । माधवकुमार नेपाललाई कारबाही भएको हेर्न प्रचण्डले सक्ने थिएनन् । र त्यो त्यत्तिकै असफल वार्ताका रुपमा परिणत भयो । 

अन्ततः चिनियाँ पक्ष मिलाउन लागिपरे पनि अब फेरि फुटेको शीशा जोडिने सम्भावना नभएको निष्कर्षमा एमाले र माओवादी पुगेका छन् । 

त्यसपछि ओली देउवासँग छलफल गर्न बालुवाटार गएका छन् । यो बालुवाटार बसाईलाई सत्ता गठबन्धन टुक्रिएको रुपमा बुझ्न थालिएको छ । 

शुक्रबारको संसद बैठक बस्नुअघि नै कसरी एमालेले समर्थन गर्ने र कसरी एमालेका माग सम्बोधन गर्नेबारेमा निचोड निस्कने छ । 

बालुवाटार स्रोतका अनुसार देउवाले माओवादी र नेकपा एसबाट सहभागी मन्त्रीहरुलाई हटाउन सक्नेछन् । 

यदि एमसीसी पास हुँदा एमालेले साथ दियो भने यो गठबन्धन चुनावसम्मै जान सक्ने पनि बताइन्छ । 

गठबन्धन टुट्दा नयाँ गठबन्धनमा जनता समाजवादी पार्टी भने यथावत् रहने पनि बताइन्छ । 

ओलीसँग भेट्नुअघि देउवा र जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल भएको थियो । 

जसपा एमसीसी पारित गर्ने पक्षमा छ । त्यसैगरी जसपाबाट टुक्रिएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि एमसीसीका पक्षमा मत हाल्ने निर्णय गरेको छ । 


 



नयाँ