arrow

कम्युनिष्ट घटककै साथ लिएर एमसीसी पारित गर्ने यस्तो छ देउवाको गृहकार्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
deuba-prachanda-oli-nepal.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउनुअघि अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवासमक्ष एउटा प्रस्ताव ल्याए । 

देउवालाई एमसीसी पारित गर्ने दबाब थियो । प्रधानमन्त्री त्यो अप्ठेरोमा छन् भन्ने भएपछि दुवैले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने, कानूनी प्रक्रियामा अदालत आउन नदिने र त्यसको बदलामा एमसीसी पारित गर्ने शर्त राखे । कांग्रेसले शर्तअनुसारको व्यवहार गर्यो । महाभियोग दर्ता भयो । 

तर त्यसको एक दिन नबित्दै प्रचण्ड र माधवले कुरा फेर्दै गए । महाभियोग लगाउँदा एमसीसीमा संसदमा अनुपस्थिति जनाएरै भए पनि पास गर्न सहयोग गर्ने सहमति प्रचण्ड र नेपालले गरेका थिए । 

एमाले संसद अवरुद्ध गर्दै प्रक्रियामा सामेल नहुने भएकाले गणना नहुने अनि कांग्रेस र जसपाको मत मिलेर बहुमतले एमसीसी पास गर्ने भन्ने थियो । प्रचण्ड र नेपालले अडान फेर्दै गए । निरन्तर माओवादी र एस एमसीसीबाट टाढिँदै जाँदा देउवाले बाध्य भएर संसदमा एमसीसी पेश गरे । 

प्रचण्ड र माधवले फेरि पनि विरोध गरे । त्यसपछि बल्ल तल्ल सहमति बन्यो संसदमा छलफलसम्म गर्न दिने भनेर । बिहीबारको दिनसम्म आउँदा त एमसीसीलाई संसदबाट तुहाउने खेलको योजना बुनियो । 

संसदमा बिहीबार हरेक सांसदलाई बढीमा पाँच मिनेट बोल्न दिने सहमति कार्यव्यवस्था परामर्श समितिको बैठकले गर्यो । तर खेल प्रचण्ड र माधवले अर्कै खेल्न थाले । 

संसदमा छलफलका लागि मत विभाजनको माग गर्ने र त्यस क्रममा विपक्षमा मत पुर्याउने खेलमा प्रचण्ड र माधव लाग्ने भए । यो गम्भीर षड्यन्त्रको सुइँको पाएसँगै प्रधानमन्त्री देउवाले बाध्य भएर बिहीबारको बैठक स्थगित गर्न लगाए । 

यदि छलफलका लागि मत विभाजन गराएर एमसीसी फेल गराउने खेल रचिएको भए संसदीय इतिहासमा यो पहिलो घटना हुने थियो । 

प्रचण्ड र माधवको यो धोकाधडी योजना थाहा पाएर आक्रोशित भएका देउवाले उनीहरुलाई राम्रो राजनीतिक सबक दिने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल चलाए । 

बिहीबार दिउँसो दिउँसो संसद भवन र साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरी दुई पटक भएको छलफलले दुई दलबीचको असहजता चिर्ने काम गर्यो ।

यसअघि ५० को दशकमा एमाले र कांग्रेसको असहज परिस्थितिको फाइदा साना दलले उठाएका थिए । कतिसम्म भने पहिला एमालेले राप्रपा नेता लोकेन्द्रबहादुर चन्दलाई बोक्यो । आफूलाई साइडमा राखेको बुझाइमा कांग्रेसले पछि सूर्यबहादुर थापालाई बोक्यो । अनि कांग्रेस र एमाले ठूला दल भइकन पनि साना दलले फाइदा उठाए । यसको दृष्टान्त सुनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले मिल्दा पनि आफूहरु मिल्ने र प्रतिस्पर्धा पनि आफूहरु बीच गर्ने तर अवसरवादीहरुलाई साइजमा राख्ने गरी प्रस्ताव ल्याए । 

त्योसँगै माओवादी र नेकपा एसलाई सरकारबाट हटाउनु पर्ने, चुनावसम्म कांग्रेस एक्लैले सरकार चलाउने, मंसिरभित्र चुनाव गराउनु पर्ने गरी एमालेको प्रस्ताव आयो । 

एमालेको यो प्रस्तावलाई कांग्रेसले ‘गुड फेथ’ को रुपमा लिएको छ । यसमा सहमति जनाएसँगै यो क्रममा ओलीले नबोले पनि बिहीबारको वार्तामा बसेका कतिपय नेताहरुले यसमा अतिरिक्त सर्तहरु पनि राखेका छन् । 

जस्तो दुई प्रदेशका सरकार एमालेको नेतृत्वमा हुनुपर्ने, एक्लाएक्लै चुनावमा जाने लगायतका सर्तहरु जोडेका छन् । त्यति हुँदा पनि एमालेको सबै कुरा त स्वीकार्ने तर गठबन्धनबाट दुई वटा कम्युनिष्ट घटक बाहिर निकालेपछि परमादेशको सरकार भन्दै जाने अवस्था भयो भने के गर्ने भनी कांग्रेसले शंका गरेको छ । 

यो विषयमा कांग्रेसले एमाले नेतृत्व र राष्ट्रपतिसँग कहिँ न कहिँ साक्षी राखेर जान खोजेको देखिन्छ । राष्ट्रपति साक्षी बसे कांग्रेस र एमाले मिल्ने कुरा अगाडि बढ्छ । 

त्यसो त कांग्रेस र एमालेको दुई चरणको छलफलपछिको रणनीति बुझेपछि माओवादी र नेकपा एसका शीर्ष नेताहरु शुक्रबार बिहानदेखि अर्को रणनीतिमा लागेको पाइएको छ । 

उनीहरुले यसअघि कांग्रेस महामन्त्री गगनकुमार थापाले उठाउँदै आएको (एमसीसीको व्याख्यात्मक टिप्पणीको चर्चा) विषयलाई संसदबाट अनुमोदन गर्ने र त्यसलाई एमसीसीको एउटा भाग बनाउनेबारे अमेरिकालाई जानकारी गराएर अगाडि जान खोजेको पाइएको छ । 

यो सोधिने प्रक्रिया अगाडि बढ्यो भने अहिले एमसीसी पारित नहुन पनि सक्छ । व्याख्यात्मक टिप्पणी यसअघि माओवादी र नेकपा एसले अस्वीकार गरेको अवस्था थियो । 

अर्कातर्फ सोमबारसम्म एमसीसी पारित हुने अवस्था बन्न सक्छ । सत्ताधारी घटक वा विपक्षी घटकसँग मिलेर एमसीसी पारित गराउनेतर्फ कांग्रेसको गृहकार्य अगाडि बढिरहेको देखिन्छ । जसरी हुन्छ एमसीसीको पक्षमा संसदमा उभिएर वा एमालेको समर्थनमा एमसीसी पारित हुने अवस्था  छ । 

यसको अन्तिम गृहकार्यका लागि थप दुई दिन अल्मलिने देखिन्छ । त्यसैले संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आइतबार प्रक्रियागत छलफल गरेर सोमबार एमसीसी जसरी पनि पारित गर्ने दिशातर्फ देउवा अग्रसर भएको बुझिन्छ । 

अब एमालेसँग मिलेर जाने कि सत्ताघटकहरु साइजमा आए भने उनीहरुसँगै मिलेर जाने भन्ने निर्णय भएको छैन । त्यसअघि नै सत्ताबाट हट्नु पर्यो भने पार्टीको स्थिति दयनीय हुन सक्छ भन्ने बुझेका प्रचण्ड र माधव नेपालले जस्तोसुकै दोष खेप्न परे पनि एमसीसी पास गर्न दिने र यही सरकारलाई चुनावसम्म लैजाने रणनीति बुनेको पनि पाइएको छ । 

उनीहरुलाई राम्रोसँग थाहा छ कि कांग्रेस र एमाले मिल्नासाथ उनीहरुको हैसियत कहाँ पुग्छ । आखिर एमसीसी चाहिन्छ भनेर पहल गर्नेहरु नै अहिले तगारो बनेका छन् भने कार्यकर्तासँग जस्तोसुकै झुट बोले पनि नपत्याउने कुरै भएन । 

जेहोस् सोमबार संसदबाट एमसीसी पारित हुने सम्भावना बढेर गएको छ । फागुन १६ गतेसम्म एमसीसी पारित गर्न अमेरिकाले नेपाल सरकारलाई भनेको थियो । सोही दिन एमसीसी पारित गरेर ढुक्क भएर बस्ने योजना देउवाको छ । त्यो योजनामा उनी सफल हुने विश्वास कांग्रेसजनको छ । 

प्रचण्ड र माधव नेपाल पनि सत्ता छाड्नु भन्दा संसदीय प्रक्रियामा गइसकेपछि मत दिने समयमा संसद बहिस्कार गरी बाहिरिँदा पनि उपस्थितको सामान्य बहुमतले एमसीसी पारित हुनेतर्फ केन्द्रीत भएका छन् । यसो गर्दा आफ्ना कार्यकर्ता नभड्किने उनीहरुको विश्वास छ । 

तर यो योजनालाई माओवादीकै नेताहरुले मान्दैनन् । उनीहरु एमसीसीको विरोध गर्ने भनेपछि सडकदेखि सदनसम्मै गर्ने बताइरहेका छन् । यदि प्रचण्डको यो कार्डले काम गरेन भने उनलाई त नोक्सान हुने नै छ कांग्रेस र एमालेको पछिल्लो छलफलले सार्थकता पाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ