arrow

यसरी कटायो राजाको नाक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
king4.jpg

काठमाडौं । उहिलेको कुरा कुनै एक राज्यमा चोरको ठुलो आतङ्क थियो । चोरको क्रियाकलापबाट राजा आजित भएका थिए । तब राजाले चोरलाई दण्ड दिने बिचार गरे ।

उनले भने, 'हे सैनिक हो त्यो चोरलाई खोजेर ल्याओ त्यसले धेरै आतङ्क फैलायो । पटक-पटक चोरी नगर्न सम्झाउँदा पनि मानेन । यसलाई यस्तो दण्ड दिनुपर्छ कि सबैले यही चोर हो भनेर जानुन् ।'

सैनिकहरूले राजाको आदेश पछि चोरलाई खोजेर राजाको अगाडि उपस्थित गराए । राजाले भने, 'तैँले मेरो राज्यका नागरिकलाई धेरै सताइस् । म तँलाई सजाय दिँदै छु ।'राजाले चोरको नाक काट्न आदेश दिए। नाक काटिएको चोरलाई राज्य भन्दा धेरै टाढा गाउँमा लगेर सैनिकले छोडिदिए ।

नाक काटिएपछि उसलाई गाउँलेले चोर भनेर चिन्न थाले । उसको उपहास गर्न थाले, ' हेर त यसको नाक काटिएको छ । राज्यले यसलाई दण्ड दियो । यो ठुलो चोर हो ।'

उसले राजासँगको बदला र आफ्नो अभिश्रापलाई वरदानमा कसरी बदल्न सकिन्छ भनेर सोच्न थाल्यो । एक दिन उ मन्दिरमा पुग्यो । मन्दिरबाट निस्किएसँगै उसले भन्न थाल्यो, 'राजाको जय होस। मैले पाए । भगवान्को दर्शन पाए ।  हाम्रा राजा महान् छन् । जसले मलाई यति ठुलो सौभाग्य दिए । '

मन्दिर पुगेका मानिसहरूले भने, तिम्रो नाक काट्ने राजालाई कसरी जय होस भन्दै छौ ? तिमिलाई कसरी भगवान्को दर्शन ?'

उसले भन्यो, 'भगवान्को दर्शन गर्नलाई यो नाकले छेक्ने रहेछ । जसै राजाले यो नाक काटिदिए योसँगै भगवान्को दर्शन मैले पाए । राजाको जय होस।'  

मानिसहरूले भने, 'हामीलाई पनि गराइ देऊ न।' उसले भन्यो, 'भगवान्को दर्शन त्यसले पाउनेछ जसले भगवान्को अघि नाकको बलि दिनेछ  (नाकको बलिको वास्तविक अर्थ अहङ्कारको बलि दिनु हो )।'        

मानिसहरूले भन्न थाले हेर यो मानिस बढो आनन्दमा रमेको छ । निकै ओजले बोलेको छ ।  निकै प्रभावशाली कुरा गरिरहेको छ । नाक काटौँ भगवान्को दर्शन त अवश्य हुनेछ ।

त्यसपछि एक व्यक्तिले नाक कटाए र भगवान्‌को दर्शन गर्न खोजे तब देखेनन् । उसले सोधे, 'खै त केही देखिँदैन।' चोरले भन्यो, 'नकाट्नु नाक काटी हालिस् अब देखिन भनिस् भने तेरो बेइज्जत हुन्छ, देखे भन ।'

उसले पनि त्यसै भन्यो, 'ओहो भगवान्को दर्शन पाइयो कति आनन्द कति मज्जा । धन्य होस यो जुनीमा भगवान् देख्न पाइयो ।'

सो सुनेर दोस्रो, तेस्रो व्यक्तिले पनि नाक काटे तर दर्शन पाएनन् । उनीहरूले सोधे, 'भाइ हामीले त नाकको बलि दिइसक्यौ नाक काटिसक्यौ  तर हामीले त दर्शन पाएनौ ।'

चोरले भन्यो, 'न हुन्छ न हुनेछ ? अरे नाक काट्नाले भगवान्को दर्शन कहाँ मिल्छ ।' उनीहरूले भने, 'अब के हुन्छ ?'

उसले भन्यो, 'अब यही भन कि भगवान्को दर्शन पाइयो । किनभने यदि तिमिहरूले नाक काटेर पनि भगवान्को दर्शन भएन भन्यौ भने मानिसहरूले तिमिहरूको उपहास गर्नेछन् । त्यसैले यही भन कि नाक काट्नाले साँचै भगवान्को दर्शन हुन्छ ।'     

यसै प्रकार विस्तारै-विस्तारै गाउँका सबैले नाक काटेर बसे । त्यसको प्रचार सर्वत्र फैलियो । सो कुरा राजाकोमा पनि पुग्यो । राजालाई खबरले सुनाए, 'महाराज तपाईँको राज्यका सबै प्रजाहरूले नाक काटेर बसेका छन् । उनीहरू नाक काटेर भगवान्को दर्शन गरेर आनन्दित भइरहेका छन् ।'

खबर सुनेर राजाले भने, 'तिनीहरूको यत्रो हिम्मत ! म राज्यको राजा हुँदा हुँदै तिनीहरूले म भन्दा पहिले भगवान्को दर्शन गर्ने ।' राजा मन्त्री सहितको दलबल लिएर त्यहाँ पुगे । उनले देखे साँच्चै प्रजाहरू नाक काटेर बसिरहेका छन् । राजा पनि नाक काट्नलाई तयार भए । मन्त्रिले पनि नाक कटाए । किनकि उनीहरूलाई अरूले समर्थन दिए, स्वीकृति दिए । आखिर चोरले राजा समेतको नाक कटाइदियो ।

यसै प्रकार हामी पनि भ्रम र पाखण्डबाट जोगिन आवश्यक छ । साथै समयको महापुरुषलाई खोज्न आवश्यक छ । त्यसबाट मात्र हाम्रो कल्याण हुनेछ । जो सच्चा गुरु हुन्छ उसले हामीलाई ज्ञान दिएर आफू समान बनाउँछ । यदि  गुरु नक्कली भए, स्वयम ज्ञानहीन, कर्महीन भए हामीलाई पनि ज्ञानहीन र कर्महीन बनाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ